काठमाडौँ : नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन् ।
आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद रिजालले वर्तमान सरकार असफल भएको र यसबाट जनता अजित भइसकेको बताउदै अर्को चुनावमा कांग्रेस पहिलो पार्टी भएर आउने ठोकुवा गरेका हुन् ।
‘चुनाव नभएसम्म यही सरकार रहन्छ भनेर प्रधानमन्त्री ज्यूले ठीक भन्नुभयो,’ उनले भने, ‘यस्तै चलिरहने हो भने अर्को वर्ष कांग्रेसको सरकार नभए कसको हुन्छ ?’
सांसद रिजालले वर्तमान सरकारले चुनावमा जनतासमक्ष गरेको बाचा पूरा गर्न नसकेको आरोप लगाउदै सत्तारुढ दल असफल भएको धारणा व्यक्त गरेका थिए । ‘प्रधानमन्त्री प्रति कटाक्ष गर्दै उनले भने गत चुनावमा जनतासमक्ष गरेको कार्यसम्पादन सम्झौता खै पूरा भएको ? यहाँ परीक्षामा असफल भइसक्नु भएको छ ।’
प्रतिनिधि सभाको आजैको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउदै आगामी निर्वाचन सम्म धैर्य गर्न आग्रह गरेपछि कांग्रेस सांसद रिजालले सो जवाफ दिएका हुन् ।