काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदमा बस्न मन नभएको भन्दै आगामी निर्वाचनपछि धैर्य गर्न आग्रह गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म सरकार परिवर्तन हुने सपना नदेख्न चुनौती दिएका हुन् ।
‘प्रधानमन्त्री लगलग कामिरख्या छन्, पद जाने भो भनेर, पद नगएको मैले दुनियाँमा कोही देखेको छैन अहिलेसम्म, राजा–महाराजा, सम्राट वादशाह , जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ,आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन , निर्वाचन सम्म धैर्य गर्न आग्रह गर्छु’, प्रधानमन्त्री ओलीले भने ।
आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउने सपना नदेख्न चुनौती दिँदै प्रधानमन्त्री ओलीले केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले निर्वाचन गरी सुम्पिएको जिम्मेवारीबाट सरकार नभाग्ने धराणा व्यक्त गरेका हुन् ।