४ महिनाको योगनिन्द्रापछि आज ब्युँझनेछन् विष्णुजी, पूजाका विशेष लाभ !

काठमाडौँ : कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई हरिबोधनी एकादशीको नामले चिनिन्छ। यस एकादशीलाई देवउठनी एकादशी या देवोत्थान या प्रबोधिनी एकादशी र ठूलो एकादशी पनि भनिन्छ। यो एकादशी वर्षमा पर्ने २४ वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी अथवा देवशयनी एकादशीको दिनदेखि क्षीर सागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल पक्षको हरिबोधनी एकादशीका दिन ब्युँझनु हुनेछन्। यो वर्ष हरिबोधनी एकादशी कार्तिक २२ परेको छ। कात्तिक महिनाको शुक्लपक्षको हरिबोधनी एकादशीको दिन श्रीविष्णुको पूरा विधि-विधान पुर्याएर पूजा गरिन्छ।

कसरी सुरु भयो यो एकादशी  ?

धर्मग्रन्थ अनुसार, भाद्रपद मासको शुक्ल एकादशीको दिन भागवान विष्णुले दैत्य शंखासुरलाई मारेका थिए। भगवान विष्णु र दैत्य शंखासुर बीच लामो समयसम्म युद्द चलेको थियो। युद्ध समाप्त भएपछि भगवान विष्णु अत्यन्तै थाके। तब उनी क्षीरसागरमा गएर सुते र कार्तिक शुक्ल पक्षको एकादशीको दिन उठे। क्षीर सागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझिएपछि सबै ३३ कोटी देवी-देवताहरुले भगवान विष्णुको पूजा गरे। यसै कारण कार्तिक महिनाको शुक्ल पक्षको यस एकादशीलाई देवप्रबोधिनी एकादशी पनि भनिन्छ।

तुलसी विवाहको परम्परा 

हरिबोधनी एकादशीसँगै कात्तिक २२ गते तुलसी विवाह पनि गरिन्छ। भगवान शालिग्रामसँग तुलसीको विवाह हुन्छ। यसको पछाडी एक पौराणिक कथा छ, जसमा जालन्धरलाई पराजय गर्नको लागि भगवान विष्णुले जालन्धरकी पत्नी वृन्दासँग छल गरेका थिए, जो विष्णुको परम भक्त थिईन् । पछि वृन्दाले विष्णुजीलाई श्राप दिएर पत्थर बनाइन। तर लक्ष्मी माताको बिन्ती पछि वृन्दाले विष्णुजीलाई पहिलाकै रुपमा ल्याइन् र आफू पतिको टाउकोसँगै सती गइन्। त्यसपश्चात उनको खरानीबाट तुलसीको बिरुवा उत्पन्न भयो र तुलसीसँग शालिग्रामको विवाह गर्ने चलन सुरु भयो।

हरिशयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महीनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कार्तिक महीनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महीनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

पूजाका विशेष लाभ

विष्णु क्षीरसागरमा सुतेकाले हरिशयनी एकादशीपछिका चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । जुन हरिबोधनी एकादशीको दिन देखि फेरि सुरु हुन्छ। हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशी बीचको ४ महिनामा नै तिहार मनाइन्छ, जसमा भगवान विष्णु बिना नै लक्ष्मी माताको पूजा गरिन्छ। हरिबोधनी एकादशीमा भगवान विष्णुको पूजा गरेमा परिवारमाथि भगवान विष्णुको विशेष कृपा रहनेछ। यसको साथै माता लक्ष्मीले घरमा सदैव धन, सम्पत्ति र वैभवको वर्षा गर्छिन्।

ठूलो एकादशी पनि भनिने यस एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महीनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

यस दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । त्यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यस एकादशीको दिन देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

अर्को समाचार:

भोलि कार्तिक १९ गते तपाईको दिन कस्तो रहला ?