‘भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै सक्दैन, कब्जा गरिएका सरकारी जग्गा फिर्ता’- प्रधानमन्त्री

Leaderboard Banner

काठमाडाैँ ,  नयाँ वर्षकाे नयाँ बिहानीसँगै प्रधानमन्त्री निवास बालुवाटारबाट जनताकाे नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रति आफू कठाेर रहेकाे बताउनुभएकाे छ ।

उहाँले भ्रष्टाचारीकाे मुखै नहेर्ने बताउँदै भन्नुभयाे, ‘भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम÷कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन ।’

उहाँले गत साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेकाे दाबी गर्नुभयाे । ‘एकपटक सोचौं त– सुशासनकै संयन्त्रभित्र रहेर अवाञ्छित कार्यमा निर्लिप्त कुनै ओहोदावाल यसभन्दा अघि यस तह र व्यापकतामा कहिल्यै छानविनको दायरामा आएका थिए ?’ प्रश्न गर्दै उहाँले भन्नुभयाे, ‘एक वर्ष अघिसम्म पनि पहिलो रोजाइमा पर्ने स्थानहरु आज किन रोजाईमा परिरहेका छैनन् ? शंकाको घेरामा परेका र विगतमा अवाञ्छित कार्यमा संलग्न भनि गन्हाएकाहरु अहिले किन छट्पटिएका छन् ? अनपेक्षित ढंगमा तिनीहरु बुरुक-बुरुक उफ्रिंदै किन क्रिया/प्रतिक्रिया दिइरहेका छन् ?’

आफ्नाे नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा यस वर्ष दिने दाबीका साथ उहाँले अनुचित कामकाे छानबिन हुने बताउनुभयाे । ‘घरजग्गा कारोवारहोस् वा संगठित तस्करी, भन्सार/अध्यागमनको विषय होस् वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित-अनुचित कामको छानबिन जारी छ,’ उहाँले भन्नुभयाे, ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ ।’

प्रकाशित : आइतबार, बैशाख ०१, २०७६०९:३३
अर्को समाचार:

नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ, नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा