जो गाडीको आवाजले तर्सिन्थे, आज उनि बने बोलेरोका मालिक | दिनेश चेपाङको पढ्नै पर्ने कथा

Leaderboard Banner

मकवानपुर सिलिगेका दिनेश चेपाङले महको व्यवसाय शुरू गर्दा मोटरधनी भइएला भनेर कल्पना समेत गरेका थिएनन्।अहिले उनले वार्षिक ५० देखि ५५ टन प्रशोधित मह विक्री गर्दै आएका छन्। पाँच मुठा कूचो बोकेर दुई रुपैयाँमा बेच्न आउँदा गाडीलाई आँखाले देख्दासम्म एकटकले हेरेको वा गाडी नजिकै आउँदा आत्तिएको हिजोझैँ लाग्छ उनलाई।

अहिले दिनेश चेपाङसँग बोलेरो जीप, ट्र्याक्टर र मोटरसाइकल छ।
शुरूवात

२०६४ सालबाट एक हजार रुपैयाँको लगानीमा उनले मह सङ्कलन गर्ने व्यवसाय शुरू गरेका थिए। गाउँमा पालिने परम्परागत सेरेना जातको मौरीको मह सङ्कलन गरी व्यवसाय शुरू गरेका उनले अहिले वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेको बताउँछन्।

शुरूमा उनले मह सङ्कलन गर्दा चाका मह सङ्कलन गर्ने गरेका थिए तर व्यवसायी भने तरल मह चाहन्थे।
मौरी पालन

उनी सुनाउँछन्, “१ हजार किलो मह विक्रीका लागि व्यापारीसँग सम्झौता गरे पनि किसानहरूबाट ३ हजार किलो मह सङ्कलन भयो। मैले उनीहरूलाई पैसा कसरी तिर्ने भन्ने दिमाग लगाउनै सकिनँ। आत्तिएर कोठा छोडेर भाग्नुपर्‍यो।”

त्यसले किसानहरूमा झन् गलत सन्देश गएछ। त्यसपछि अन्य व्यापारीले गाउँको चेपाङले के व्यवसाय गर्न सक्छ र? भनेर खिस्याउन थालेछन्। पहिले नुनसँग मह साट्ने उनीहरूले पछि त्यसो गर्न समेत रोकेछन्।

आफ्नै प्रशोधन केन्द्र

पहिले घरमै डेक्चीमै तताएर मह प्रशोधन गर्दै आएका दिनेशको अहिले आफ्नै प्रशोधन केन्द्र छ।उनी सुनाउँछन्, “पहिले दु:ख पनि थियो- ५ क्विन्टल मह प्रशोधन गर्न पाँच दिन नै लाग्थ्यो, अहिले ३० मिनेटमा सकिन्छ।”

पछिल्लो समय उनले गुणस्तरका लागि प्याकेजिङ र लेबलिङ गरेर एक हप्तामा बजार पुर्‍याउन सकेका छन्।
मौरी पालन
यसले परम्परागत रूपमा खेतीपाती गर्ने र कमजोर जीवनस्तर भएका चेपाङ समुदायमा मौरीपालनले थोरै भए पनि परिवर्तन ल्याउन सकेकोमा उनी खुशी व्यक्त गर्छन्। शुरूमा मह सङ्कलन गर्न जाँदा केही किसानले मात्र सेरेना जातको मौरी पालन गर्ने गरेकोमा अहिले गाउँबाट नै मह सङ्कलन हुन थालेको छ।

चेपाङ समुदायकै ८४ जना किसानले मेलिफेरा जातको मौरीपालन गर्दै आएका छन्। उनी भन्छन्, “अहिले गाउँका किसान मौरीमा नै चढेर उडेझैँ दङ्ग छन्।”
चेपाङ
नसोचेको परिवर्तन

उनलाई आफ्नो जीवनमा आएको कायापलट अझै पनि सपनाझैँ लाग्छ। यही व्यवसायले ३ छोरीलाई स्थानीय निजी विद्यालयमा पढाएका मात्र छैनन्, एकजना छोरी भारतमा पनि पढाएका छन्।
मौरी पालन

गाउँको भीरपाखा डुलेर घाँस दाउरा गर्नुभन्दा बाहेक अन्य काम गर्न सकिने रहेछ भन्ने आँट आफूहरूलाई मौरी व्यवसायले दिएको दिनेशकी श्रीमती पार्वती गुरुङ बताउँछिन्।

सिमार गाउँका कमल चेपाङको अनुभव छ, “गाउँबाटै मह विक्री हुन थालेपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दो छ।”

आफ्नो गाउँठाउँ नछाडिकनै राम्रो कमाइ गर्न सकिनेमा चेपाङ समुदाय विश्वस्त बन्दै गइरहेको उनी बताउँछन्।
को हुन् चेपाङ?

अर्धघुमन्ते स्वभावका चेपाङ जातिका थुप्रै पुस्ता गुफा वा अन्य अस्थायी बासस्थलमा बस्नेगर्थे। पछिल्ला केही पुस्ता बिस्तारै स्थायी प्रकृतिका घर बनाएर बस्न थालेका हुन्।

शिकार वा त्यत्तिकै उब्जाउ हुने वनस्पतिजन्य फलहरू सङ्कलन गर्ने जाति भएकाले पनि उनीहरूको कृषिजन्य व्यवसायमा रैथाने सीप र दक्षताको अभाव देखिन्छ।

साक्षरता, भूमिमा स्वामित्व र आर्थिक स्रोतजस्ता कुरामा रहेको कमजोर उपस्थितिका कारण उनीहरू सीमान्तकृत समूदायका रूपमा छन्।

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार झण्डै ६८ हजारको सङ्ख्यामा रहेका उनीहरू अधिकांशजसो चितवन, मकवानपुर, धादिङ् र गोरखा जिल्लामा बसोबास गर्छन्।

उनीहरूको तीन चौथाइभन्दा बढी जनसङ्ख्या निरक्षर रहेको विभिन्न गणना एवम् अध्ययनहरूले देखाएका छन्। –  बिबिसीबाट

प्रकाशित : आइतबार, बैशाख ०१, २०७६०८:२०
अर्को समाचार:

प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’ संकल्प सपना सिमित | पात्रो फेरियो, अवस्था फेरिएन