भक्तपुरबाट कारमा जबर्जस्ती कोचेर २५ वर्षीय युवकको अपहरण, ४ जना पक्राउ !

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडौँ : महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चाबहिलका २९ वर्षीय रमेश लामा, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबारे–३ घर भई हाल कामपा–१५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो । उनीहरुलाई चाँगुनारायण नगरपालिका–९ ताथली हलाल गाउँमा डेरा गरी बस्ने झापा दमक नगरपालिका–९ दुधेका २५ वर्षीय सन्तोष तुम्बापुलाई अपहरण गरेको आरोप लागेको छ ।

तुम्बापुलाई बा९च १८०१ नं को कारमा जबर्जस्ती राखेर लगिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–९ ब्रह्मायणीबाट नियन्त्रणमा लिई तुम्बापुको उद्धार गरिएको शर्माले जानकारी दिनुभयो । अपहरणमा प्रयोग भएको गाडीसहित पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान थालिएको उहाँले बताउनुभयो । (रासस)

प्रकाशित : मङ्गलबार, चैत २६, २०७५१६:२९
अर्को समाचार:

नव प्रवेशी कार्यकर्तालाई प्रचण्डले भने “विप्लव पनि आउनुपर्छ , ढुक्क हुनुस्” [भिडियो]