पूर्वआइजीपी चन्द र ठेकेदार भारती अझै ‘फरार’ ! देखेर पनि नदेखे झैं गर्दै प्रहरी !

Leaderboard Banner

काठमाडौं, । नेपाल प्रहरीको सुडान मिसनका लागि एपीसी (आर्म पर्सनल क्यारियर) खरिदका क्रममा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका ३ पूर्वआइजीपीमध्ये ओमविक्रम राणा र हेमबहादुर गुरुङले सर्वोच्च अदालतको फैसला अनुसार कैद र जरिवाना तिरी मुक्त भइसकेका छन् । तर अर्का पूर्वआइजीपी रमेश चन्द ठकुरी भने अझै कानुनतः फरार नै छन् । साँघु साप्ताहिकमा समाचार छ ।

अदालतको फैसलापछि चन्द २०७५ को दशैंतिहारदेखि बीचमा छोरीको विवाहमा काठमाडौंमै आए पनि प्रहरीले देखेको नदेख्यै गरेको थियो । उनी कन्चनपुर नजिक भारतको नैनीतालमा बस्ने र बेलाबेलामा कन्चनपुरमा आतेजाते गर्दैआएका छन् । उनका धेरै नातेदार कन्चनपुरमा बस्ने भएकाले उनी आउने जाने गरिरहन्छन् । स्रोतका अनुसार कहिलेकाहीँ पर्यटकका रुपमा उनी थाइल्याण्डमा गएर पनि दिन बिताउने गरेका छन् ।

पूर्वआइजीपी राणा र गुरुङ बेलैमा अदालतमा हाजिर भएर कैद भुक्तान गरेर रिहा भइसकेपछि उनी पनि ढिला गरेकोमा पछुतो मान्न थालेका छन् । राणा र गुरुङसँगै अदालतमा हाजिर भएको भए चन्द २० प्रतिशत कैद मिनाहा हुँदा ९ महिनामै २०७४ फागुनमै रिहा हुने थिए । पक्राउ पर्नुभन्दा अदालतमै गएर कैद भुक्तान गर्नुपर्ने रहेछ भन्दै उनी पश्चातापमा छन् । सुडान घोटालामा सर्वोच्च अदालतको फैसला आएको २३ महिना पूरा भएको छ । २३ महिनादेखि पूर्वआइजीपी चन्द फरार छन् ।

२०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठले राणालाई २ बर्ष कैद र ५० हजार जरिवाना तिर्नुपर्ने आदेश दिएका थिए । गुरुङ र चन्दलाई अदालतले १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । राणा र गुरुङ आफैं सर्वोच्च अदालतमा आत्मसमर्पण गर्न गएकाले उनीहरुको २० प्रतिशत कैद मिनाहा भई छुटिसकेका छन् । राणालाई २ बर्ष कैद तोकिएकोमा उनी २०७४ असार ७ मा हिरासतमा गई २०७५ माघमा निस्किएका थिए । उनी करिब १९ महिना हिरासतमा बसेर रिहा भएका थिए ।

सुडानकाण्डमा संलग्न ३६ जनाबिरुद्ध अख्तियारले मुद्दा दायर गरेको भए पनि सर्वोच्च अदालतले तीन पूर्व आइजीपी, दुई एआइजीपी, एक डीआइजी, एक एसएसपी र ठेकेदार शम्भु भारतीलाई कैद र जरिवाना तोकी अरुलाई सफाइ दिएको थियो । अख्तियारले सुडान घोटालामा करिब २९ करोड रुपैयाँ बिगो दाबी गरेको थियो ।

सर्वोच्चले पूर्वएआइजीद्वय श्यामसिंह थापा र दीपकसिंह थाङ्देङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । तत्कालीन डिआइजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई पनि ६ महिना कैद र ३० हजार जरिवाना फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतले सुडानमा सामान पठाउन प्रहरीसँग सम्झौता गरेका एस्योर्ड रिक्सका माइकल राइडरलाई दुई बर्ष कैद र २८ करोड ४० लाख जरिवाना तथा उनका नेपाल प्रतिनिधि शम्भु भारतीलाई १४ करोड २० लाख विगो र त्यति नै जरिवाना तथा एक बर्ष कैदको फैसला गरेको थियो । राइडरले पनि नेपालको अदालतको आदेश अनुसार कैद र जरिवाना तिरेका छैनन् । उनी विदेशी नागरिक हुन् । नेपाली एजेन्ट शम्भु भारती पनि फरार नै छन् । कानुनी दृष्टिमा फरार भए पनि उनी थाइल्याण्डमा बस्ने र त्यहीँबाट नेपालमा आफन्तका नाममा फर्म खोलेर सेना र प्रहरीमा ठेक्का लिने गरेको स्रोतको दाबी छ । फरार भनिए पनि उनी बेलाबेलामा नेपालमा आउने र ठेक्काको सेटिङ मिलाउने गरिरहेका छन् ।

प्रकाशित : सोमबार, चैत ११, २०७५०९:३०
अर्को समाचार:

रोल्पामा विप्लव गतिविधि : प्रहरी नै विप्लव कार्यकर्तासँग खेल्छन् व्याडमिन्टन !