होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारबाहीमा, अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ

Leaderboard Banner

काठमाडौँ, ६ चैत (रासस) : ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो ।

महाशाखाले तीनजना राखेर चलाउने ७६, हेल्मेट नलगाई चलाउने ४३, कागजपत्र नलिई चलाउने ३३०, मादक पदार्थ सेवन गरी चलाउने १३५, जथाभावी लापरवाही तरिकाले चलाउने ३६, सरकारी २५ र अन्य कसुरमा ३० चालकलाई कारवाही गरेको छ । जसमध्ये २४३ सवारी साधनलाई कारवाही गरेर छाडेको र बाँकी ६७५ सवारी साधनलाई महाशाखामा ल्याएर राखिएको छ । महाशाखाले होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाएको थियो ।

बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखाले ७७ स्थानबाट ट्राफिक जाँच गरेको थियो भने १९ वटा मोबाइल चेकजाँच र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरेकोे महाशाखाले जनाएको छ । महाशाखाले होली पर्वमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरेको छ ।

अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ

होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो । यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने ५१९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । भक्तपुरबाट १७ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन् ।

प्रकाशित : बुधबार, चैत ०६, २०७५२१:०५
अर्को समाचार:

होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु, ३ गम्भीर घाइते !