विप्लव नेतृत्वको नेकपाका चार नेता र अन्य बम विस्फोटमा संलग्न चार पक्राउ

Leaderboard Banner

जितपुर, : सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताउनुभयो । यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहनुभएको छ ।

यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ पर्नुभएको छ । यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका बाहिर चिनिएका सबै नेता खुला रुपमा देखिन छाडेका छन् ।

बम विस्फोटमा संलग्न चार जना पक्राउ

काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो । उनीहरुले एक जनााको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिनुभयो ।

विक र राईलाई काठमाडौँबाट तथा धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको हो । काभ्रेमा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा मङ्गलबार सोही गाउँपालिका–२ काफलडाँडाबाट धिमाल र तामाङलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड गोली फायर गरेको ढकालले बताउनुुभयो । घटनास्थलबाट विभिन्न कम्पनीको ६ थान मोबाइल, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरिएको छ । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित : बुधबार, चैत ०६, २०७५२०:३६
अर्को समाचार:

पढाइलाई उमेरले छेक्दैन: ४८ वर्षीय शान्ति चौधरी ८ कक्षामा