गोल नखाई फाइनल पुग्ने नेपालको लक्ष्य

Leaderboard Banner

विराटनगर – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार श्रीलंकाको सामना गर्दैछ । खेल विहान ११ बजे शहिद रंगशालामा हुनेछ ।

खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका प्रशिक्षक हरि खड्काले सेमिफाइनलको लागि टोली पूर्ण रुपमा तयार रहेको बताए । ‘हामी प्रतियोगिताको सेमिफाइनल खेल्दैछौं । टोली शारीरिक र मानसिक रुपमा तयार छ । श्रीलंकाभन्दा हामी बलियो नै छौं तर प्रशिक्षणमा तयार गरेको रणनीतिलाई प्रयोग गर्दै फाइनल यात्रा तय गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

प्रशिक्षक खड्काले नेपाल बलियो भएपनि श्रीलंकालाई सहज रुपमा भने नलिएको बताए । ‘श्रीलंकाभन्दा हामी राम्रो टोली हौं । भारतले ५ गोल खाएको छ तर हामीले आफूलाई उपाधि दावेदारको रुपमा प्रस्तुत गरिरहँदा श्रीलंकाले केहि रक्षात्मक रणनीति अपनाउने अपेक्षा गरेको छु । त्यसको लागि पनि हामी तयार नै छौं,’ उनले भने, ‘ टोलीमा केहि परिवर्तन हुने वा नहुने अहिले भन्न सक्ने अवस्था छैन ।’

प्रशिक्षक खड्काले फाइनल पुग्दा राम्रो प्रदर्शन गर्दै कुनै गोल नखाने लक्ष्य राखेको बताए । ‘ स्कोर यति गर्ने तोक्नु भन्दापनि कुनै गोल नखाने हाम्रो लक्ष्य छ । राम्रो फुटबल खेल्ने र जित हासिल गर्दै फाइनलमा स्थान पक्का गर्ने सोच रहेको छ,’ उनले थपे, ‘ फाइनल पुग्नेभन्दा सेमिफाइनलमा नै ध्यान दिएका छौं । फुटबल हो, कहिलेकहीं नतिजा उल्टिन पनि सक्छ । हामीले होसियार भएर, आफ्नो रणनीति अनुसार खेल्नेछौं । शारीरिक रुपमा श्रीलंका बलियो रहेकाले हामीले एकल प्रयासभन्दा टोलीको योजनाअनुसार खेल्नेछौं ।’

नेपाल र श्रीलंकाली हालसम्म ५ पटक एकआपसमा खेलेका छन् । सबै खेलमा नेपालले नै जित दर्ता गरको छ । पछिल्लोपटक नेपाल र श्रीलंकाको भेट भारतको सिलिगुडीमा भएको चौथो साफ च्याम्पियनसिपको समूह चरणको खेलमा भएको थियो जसमा नेपाल १-० ले विजयी रहेको थियो ।

प्रकाशित : मङ्गलबार, चैत ०५, २०७५११:०४
अर्को समाचार:

फरार रहेका पूर्वएसपी डिल्लीराज विष्टद्वारा आत्मसमर्पण ! मंगलबार अदालत हाजिर !