निर्मला हत्या प्रकरण : सालो छुटाउन भण्डारीले प्रहरीलाई दबाब दिएको खुल्यो ! [एसएमएस सहित]

Leaderboard Banner

काठमाडौँ- निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेका बेला शुरुमा पक्राउ परेका दीलिपसिंह विष्ट बारे नयाँ खुलासा भएको छ।

निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका दीलिपसिंह विष्टको बचाऊको लागि पत्रकार खेम भण्डारीले प्रहरी अधिकारीलाई दबाब दिएको खुल्न आएको हो।

विष्टलाई छाड्न पत्रकार भण्डारीले प्रहरी अधिकारीलाई दबाब दिने गरेको भन्दै विभिन्न मिडियाहरुले खुलासा गरेका छन्। कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई भण्डारीले आफ्नो साला भएकाले छुटाउन भन्दै एसएमएस पठाएको मिडियाहरुले खुलासा गरेका हुन्।

नेपालबाट प्रकाशित हुँदै आएको एक डिजिटल पत्रिकाले एसएमएसका तस्विरहरु सहित यस बारे खुलासा गरेको हो। उक्त एसएमएसमा भण्डारीले ‘फर योर काइन्ड इन्फर्मेसन दिलीप इज माइ साला’ भनेर उल्लेख गरेको देख्न सकिन्छ।

तत्कालीन एसपी विष्टको भनाइ लाई हवाला दिँदै उक्त अनलाइन लेख्छ –

“पत्रकार भण्डारीले आफूलाई तपाईंले नगरे म वकिल कार्यालयबाट भए पनि दिलीपसिंहलाई छुटाउँछु भनेर दबाब दिएको तत्कालीन एसपी विस्टले बताए। ‘यो म्यासेज लगायत अन्य म्यासेज अनुसन्धान गरेका पुलिससँग पनि सुरक्षित छ,’ उनले भने।”

केहि दिन अगाडी मात्र निर्मलाकी आमा दुर्गादेवी पन्तले आफ्नो बयान फेरेकी थिइन्। दिलिपसिंहले प्रहरीमा दिएको बयानको भिडियो हेरेपछि बयान फेर्दै दिलिपसिंह विष्ट नै निर्मलाको हत्यामा संलग्न रहेको हुन सक्ने बताएकी थिइन्।

यस्तै निर्मलाका साथी रोशनी र अनिता बमले पनि पत्रकार भण्डारी विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा गाली बेइजज्जती तथा अपमानको मुद्दा दर्ता गराएका थिए। बम दिदी बहिनीले पत्रकार भण्डारीसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको बुझिएको छ।

प्रकाशित : शनिबार, चैत ०२, २०७५१९:२९
अर्को समाचार:

सामाजिक संजालमा रवी लामिछाने माथि मनलाग्दी गालि- पागल, बौलाहा देखि पेटिकोट लम्पट सम्म