‘भारतलाई उसकै मैदानमा दबाबमा राख्यौं’ – फरवार्ड सावित्रा भण्डारी

Leaderboard Banner

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा आयोजक भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित रच्यो । उक्त जितमा नेपालका लागि दुवै गोल गरेकी सावित्रा भण्डारीले भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

सावित्राले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालले इतिहासमै पहिलो पटक भारतको सिनियर टोलीविरुद्ध जित दर्ता गरेको हो । खेलपछि बोल्दै सावित्राले भारतलाई पराजित गर्न सक्नु सम्पूर्ण टोलीको मिहिनेतको फल रहेको बताइन ।

‘ हामीले यो दिनको लागि निकै मिहिनेत गरेका थियौं । प्रशिक्षक हरि खड्काले १० मिनेटभित्र गोल निकालेर जसरी पनि जित्नुपर्छ भन्नुभएको थियो । खेलमा सुरुवातदेखि दबाब राख्ने हाम्रो रणनीति सफल भयो,’ उनले भनिन् ।

‘हामीलाई एक-अर्कामा पुरै विश्वास थियो । हामीले भारतलाई हराउन पर्छ भन्ने विश्वासका साथ मैदान प्रवेश गरेका थियौं । नतिजा हाम्रो पक्षमा आउँदा निकै खुसी लागेको छ,’ उनले थपिन ।

फरवार्ड सावित्राले भारतको घरेलु मैदानको जितले टोलीलाई साफ च्याम्पियनसिपका लागि पनि आत्मबल बढ्ने बताइन । ‘हामीले उनीहरुको मैदानमा दबाब राखेर जित दर्ता गर्न सफल भयौं । अब हाम्रो मैदानमा जित दर्ता गर्न सहज हुने देखेको छु । हामीले साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ,’ उनले भनिन् ।

नेपालले हिरो गोल्डकपको समूह चरणको अन्तिम खेलमा इरानको सामना गर्दैछ । इरानविरुद्ध पनि टोली जितको लागि नै उत्रने उनले बताइन् । ‘हामीले भोली इरानविरुद्ध पनि कडा मिहिनेत गर्नेछौं । फाइनल पुग्ने लक्ष्य पूरा गर्नका लागि तत्पर छौं’, उनले टुंग्याइन ।

प्रकाशित : मङ्गलबार, माघ २९, २०७५१९:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

युनाइटेडको मैदानमा पीएसजीको जित !