‘भारतलाई हराउने टोलीको लक्ष्य पूरा’ – प्रशिक्षक हरि खड्का

Leaderboard Banner

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार हिरो गोल्डकपको दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ ।

सावित्रा भण्डारीले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालको जित सम्भव भएको थियो । प्रशिक्षक हरि खड्काले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै खेलको सुरुवाती समयमा आक्रमण गर्ने योजना सफल हुँदा जित दर्ता गर्न सहज भएको बताए । ‘खेलको १० मिनेटभित्र हामीले गोल निकाल्ने लक्ष्य राखेका थियौं । हामीले तय गरेको योजना अनुसार खेलाडीले खेले । कुनै गल्ति नगर्दा खेलको नतिजा हाम्रो पक्षमा परेको हो,’ उनले भने ।

खड्काले टोलीले लामो समयदेखि तयारीमा भारतलाई हराउने लक्ष्य लिएको र त्यसै मिहिनेतको नतिजा भारतलाई हराउन सफल रहेको बताए । ‘हाम्रो कमजोर पक्ष भनेको भारतविरुद्ध दबाबमा खेल्ने थियो, र हिजोको खेलमा दबाब लिएनौं,’ उनले भने, ‘हाम्रो टोलीको मुख्य लक्ष्य भनेको भारतलाई हराउने थियो । हामी यस प्रतियोगिताको सबैभन्दा कमजोर टोली भएपनि मिहिनेत र डटेर लड्ने क्षमता भने अन्य टोली जस्तै छ । यो सबै टोलीको मिहिनेतको कारण भएको हो ।’

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार इरानको सामना गर्दैछ । खड्काले इरानविरुद्ध पनि जितको लागि खेल्ने बताए । ‘अब अन्तिम खेलमा हामी इरानसँग जित दर्ता गरेर फाइनल पुग्ने लक्ष्य राख्ने छौं,’ उनले भने ।

नेपाल अंक तालिकामा ३ अंकसहित दोस्रो स्थानमा छ । म्यानमार ६ अंक बोकेर शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको भारत तेस्रोमा छ । दुवै खेलमा पराजित इरान अंकविहिन रहँदै पुछारमा छ ।

प्रकाशित : मङ्गलबार, माघ २९, २०७५१०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रोनाल्डो गएपछि बिस्तारै ओरालो लागेको रियल बिस्तारै लयमा फर्कंदै ! कसरी भयो सम्भव?