अमितको अर्धशतकसँगै काठमाडौंलाई १ सय ३३ रनको लक्ष्य

Leaderboard Banner

धनगढी – ब्याट्सम्यान अमित श्रेष्ठले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई जितको लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । दुवै ओपनरलाई सस्तैमा गुमाएको धनगढीका लागि अमितले ५० रनको योगदान दिए । उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे । अमितलाई नन्दन यादवले बोल्ड आउट गरे । त्यस्तै अन्तिममा आक्रमक रुपमा ब्याटिङ गर्दै सौरभ खनालले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रनमा नटआउट रहे ।

धनगढीले पहिलो ओभरको तेस्रो बलमै सुनिल धमलासँग रनमा तालमेल गर्न रोहन मुस्तफालाई शुन्यमा गुमाएको थियो । लगतै दोस्रो ओभरको दोस्रो बलमा सुनिल धमला ३ रनमा आउट भए । सुनिललाई नन्दन यादवले गौरभ तोमरबाट क्याच गराए ।

तेस्रो विकेटका लागि सन्दीप रजाली र अमित श्रेष्ठले ५२ रनको साझेदारी गर्दै धनगढीको इनिङ्स उकासेका थिए । १२ औं ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीले आफैं क्याच लिंदै रजालीलाई २८ रनमा आउट गर्दै साझेदारी तोडे। रजालीले ३५ बलमा ४ चौका प्रहार गरे । पवन सरार्फले १८ बलमा १९ रन जोडे ।

काठमाडौंका लागि नन्दन यादवले धातक बलिङ गरे । नन्दनले मात्र ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । त्यस्तै अकिंत दवास र ललित नरायण राजवंशीको नाममा पनि समान एक एक विकट रह्यो ।

प्रकाशित : सोमबार, माघ २८, २०७५११:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आईसीसी वरियतामा छलाङ मार्दै सोमपालको २२ स्थान सुधार ! पारस विश्वका शीर्ष ४० अलराउन्डर !