हिंसाबाट बच्न जेल गएकी युवतीको अविश्वसनीय मार्मिक कथा

Leaderboard Banner

आम मानिसहरूका लागि जेल सजाय अभिशाप हुन्छ, जिन्दगीकै सबैभन्दा बिर्सनलायक क्षण बन्ने गर्छ जेल । तर, घरेलु हिंसा पीडित महिलाहरूले यसलाई अलि फरक रूपमा हेर्न सक्छन् । न्यायाधीशको जेल पठाउने निर्णयको प्रतीक्षा गरिरहँदा लिली लेबिसले हाँसो रोक्न सकिनन् । उनको अनुहार हाँसोसँगै निकै खुसी देखिन्थ्यो । जेल जानुपरेको कारण कुनै दुःख वा पश्चताप थिएन् ।

जेल सजाय कुरी रहेको मान्छे त्यो अवस्थामा हाँसो उठ्दो कुरा केही थिएन । देख्नेलाई पनि अनौठो लाग्थ्यो उनको अनुहारको खुसीले । लिलीको वकिलले उनलाई आठ वर्षको जेल सजाय हुन सक्ने बताएकी थिइन् । लिलीसँगै सजाएको फैसला कुरेर बसेकी अर्की महिला आँसु झार्दै आफूलाई डर लागिरहेको भन्दै थिइन् । लिलीले उनलाई सान्त्वना दिने प्रयास गरिन् तर उनलाई थाहा थिएन उनी के कुरासँग डराइरहेकी थिइन् ।

अदालतबाहिर रहँदा लिली गाली र पिटाइसँग अभ्यस्त थिइन् । उनी जेलमा भएका ५७ प्रतिशत महिला झैँ घरेलु हिंसा पीडित थिइन् । उनले दुव्र्यसनबाट निस्केर थुप्रै पटक आत्महत्याको प्रयाससमेत गरेकी थिइन् जेल बाहिरको दुनियाँमा । तर, जेलमा भने उनी आफूलाई पिट्ने र बलात्कार गर्ने पुरुषबाट सुरक्षित थिइन् । त्यसैमा उनी खुसी थिइन् ।

उनका चारजना बालबच्चा उनीभन्दा टाढा लगिएका थिए । त्यसैले, उनले जेल सजायबाट गुमाउने कुरा केही थिएन । ‘मलाई जेल लैजाऊ, म तैयार छु’ उनी भन्दै थिइन् ।

‘सात वर्ष’ न्यायाधीशले उनलाई सजाय सुनाउँदै भने । ‘उनीविरुद्ध धोखाधडीको षड्यन्त्र रचेको आरोप थियो । उनले अदालतमा आफू दोषी भएको स्वीकार गरेकाले सजाय केही कम भएको थियो । न्यायाधीशको फैसला सुनेर पनि लिलीको मुखबाट मुस्कान हराएन । राम्रो व्यवहार देखाए उनी साढे तीन वर्षमा मुक्त हुन सक्थिन् र उनलाई लाग्यो त्यति वर्ष त उनी जेलमा बस्न सक्छिन् ।

लिली सन् १९७१ मा मेर्सेसाइडमा तीन जनामा कान्छी छोरीका रूपमा जन्मिएकी थिइन् । उनको बुवा घानाबाट आएका थिए र उनी प्राथमिक विद्यालयमा पढ्दा एक मात्र मिश्रित अनुहारकी थिइन् । त्यसैले, बाल्यकालभर उनलाई आफू अरूभन्दा फरक भएको अनुभूति भइरह्यो ।
सात वर्षको हुँदा उनलाई आफू घर्मपुत्री भएको थाहा भयो । उनले धर्मआमासँग आफूलाई जन्म दिने आमाको बारेमा सोध्दा उनकी आमाले उनलाई नचाहेको मात्रै थाहा पाइन् । कतै धर्मबुवा र धर्मआमाले पनि आफूलाई छोडलान् भन्ने डरले उनी आतंकित थिइन् ।

१५ वर्षको किशोर अवस्थामा नै उनले रक्सी पिउन सुरु गरिन् । पिउन थालेपछि रोक्न सकिनन् । त्यही समयमा उनका थुप्रै प्रेमी बने । उनलाई माया चाहिएको भान हुन्थ्यो र जसले माया देखाउँथ्यो ऊ उनको प्रेमी बन्थ्यो । प्रेमीहरूको पिटाइलाई पनि उनले मायाकै रूपमा ग्रहण गरिन् । उनले वास्तविक जीवनमा माया के हो ? प्रेम के हो ? राम्रो के नराम्रो के बुझ्नै सकेकी थिइनन् ।

जेलमा उनलाई नयाँ कैदीको स्वागत गर्ने काम दिइयो । उनी छिट्टै जेलजीवनमा अभ्यस्त भइन् । उनी रक्सी र लागुपदार्थबाट टाढा थिइन् । जेल आउँदा उनको तौल ज्यादा थियो तर प्रत्येक दिन व्यायामशाला जान र नियमित खान थालेपछि उनी ठिक्ककी भइन् । जेलमा उनले किताबहरू पढिन् र परीक्षाहरू पास गरिन् ।

जेल परेको ६ महिनापछि लिलीले आफूलाई सजाय तोक्ने न्यायाधीशलाई पत्र लेखिन् र ‘उपहारको रूपमा आफूलाई समय’ दिएकोमा धन्यवाद भनिन् । उनले पत्रमा लेखिन्, ‘मेरो अनुभवमा जेल अनुभव धेरैका लागि काम गर्दैन तर मेरा लागि राम्रो गरिरहेको छ ।’

दुव्र्यवहार लिलीको किशोरावस्थादेखिकै सम्बन्धहरूमा एक अंश थियो । उनको सम्बन्ध भएकाहरू मध्ये एक जना माइकल थिए । एक दिन लिली गर्भवती भएका वेला उसले उनलाई भर्याङबाट खसालीदिए । त्यसको केही घण्टापछि उनी सुत्केरी भइन् ।

त्यसको ६ हप्तापछि फेरि पिटाइ सुरु भयो । एकपटक छिमेकीहरूले प्रहरी बोलाए । प्रहरी आउँदा प्राथमिक विद्यालय पढिरहेकी उनकी अर्की छोरीले भनेकी थिइन, ‘कृपया सहयोग गर्नुहोस्, मेरी आमालाई मार्न लागियो ।’ पिट्ने मात्रै होइन, माइकलले लिलीलाई नियमित बलात्कारसमेत गर्थे ।

माइकल उनलाई पिटेको आरोपमा जेल गएपछि उनले नयाँ साथी खोजिन् । उसले पिट्दैन थियो । तर, बन्दुक देखाएर थर्काइरहन्थ्यो । त्यो र त्यसपछिका सम्बन्धहरूका बीच लिलीले नियमित रक्सी मात्रै होइन, लागू औषधी पनि लिन थालिन ।

२० महिना जेलमा बिताएपछि लिलीलाई पुनर्वास योजनाअन्तर्गत जेलबाट एकदिन सहर लगियो । उनी सडकपेटीमा हिँडिरहँदा उनलाई सबै वस्तु उज्यालो भान भयो । पेटीमा त्यसै हिँडिरहँदा भेटिने प्रत्येक मानिसलाई उनले मलाई माफ गर्नुहोस् भनिरहिन् । तर, त्यो भनाइको कारण थियो उनी भित्रको उत्साह र खुसी ।

उनले छाता किनिन्, अंगुर किनिन् र कफी खाँदै एउटा पसलमा बसिन् । एकजनाले उनलाई तिमी राम्री छ्यौ भने, उनले धन्यवाद भनिन् । उनलाई कसैले देखेकोमै खुसी लाग्यो । त्यो दिन बेलुकी जेल फर्केपछि उनले मन्त्र बनाइन्, ‘आई लभ लाइफ । आई लभ लाइफ । आई लभ लाइफ । (म जीवनलाई माया गर्छु ।)’ त्यसपछि उनलाई काम गर्न जेलबाहिर पनि जान दिइयो । क्रिसमसको दिन साथीहरूले निमन्त्रणा गर्दा उनी खुब रोइन् ।

लिलीले घरेलु हिंसाको असरबाट मुक्त हुनका लागि मनोपरामर्शको सहयोग लिन सुरु गरेकी छिन् । छोरीसँगको सम्बन्ध राम्रो बनाएकी छिन् र उनले आफूलाई जन्मदिने आमाबुवा पत्ता लगाउन एकजना सामाजिक कार्यकर्ताको सहयोग लिइरहेकी छिन् ।

अन्ततः उनले बाल्यकालदेखि उत्तर पाउन नसकेको आमाबुवाको बारेको प्रश्नको जवाफ पाउने क्रममा छिन् । उनको जन्मदिने आमाको केही वर्ष अगाडि मृत्यु भए पनि उनका बुवा जिउँदै छन् भन्ने जानकारी पाएकी थिइन् । उनले बुवाको ठेगाना पाएपछि चिठी लेखेर आफूले नराम्रो नसोचेको तर भेट्न चाहेको बताएकी थिइन् । त्यसको तीन महिनापछि उनले फोन गरे र मीठो बोलीमा कुरा गरे ।

बुवाले लिलीलाई उनकी आमा पनि हिंसात्मक सम्बन्धमा रहेको बताए र आफूले उनकी पति जेलमा हुँदा छोटो समयका लागि सम्बन्ध राखेको बताए । पति पनि स्वेत वर्णकै भएकाले मिश्रित बच्चा पाल्न सक्ने अवस्थामा नभएर लिलीलाई छोडिदिएको उनका बुवाले बताए ।
‘मेरी आमा मजस्तै भएकी रहिछिन, लिलीले भनिन्, ‘उनी आफ्नो पतिलाई खुसी राख्न चाहन्थिइन, जुन म बुझ्छु किनभने मैले जतिसुकै हिंसा सहेर भए पनि त्यही प्रयास गरेका थिए ।’

पहिलोपटक भेट्दा बुवाको हात समातेर उनले आफ्नो जीवनको सबै कहानी भनिन् । उनी रोए र लिलीसँग माफ मागे । उनले लिलीलाई माया गर्छु भने जुन त्यही शब्द थियो जसलाई बाल्यकालदेखि उनले महसुस गर्न चाहेकी थिइन् ।

एक अपरान्ह, लिली हातमा कफी लिएर आफ्नो कार्यालयबाहिर उभिरहेकी थिइन् । उनलाई देख्ने कसैले पनि यतिको राम्रोसँग लुगा लगाएकी हेर्दा भद्र महिला रातमा जेलमा फर्किन्छिन् भनेर सोच्न पनि सक्दैन थिए ।

स्वतन्त्रताका लागि अझै लामो समय छ तर उनले अपराध गरेका किशोर किशोरीहरूका लागि काम गर्न थालेकी छिन् । त्यसले उनको जीवनलाई अर्थपूर्ण बनाइरहेको छ । उनको छोरीसँगको सम्बन्ध मीठो छ । तर, उनले जेल जीवनमा प्राप्त गरेको सबैभन्दा महत्तवपूर्ण कुरा त्यो हो जुन उनले अहिलेसम्मको जीवनमा खोजिरहे पनि थाहा पाउन सकेकी थिइनन्, त्यो हो आत्मसम्मान ।

‘मैले कहिले आफूलाई मन पराइनँ, उनी भन्छिन् र मुस्कुराउँछिन्, ‘अहिले म आफूलाई असाध्यै मन पराउँछु ।’ (बिबिसीको सहयोगमा)

यो लेख सौर्य दैनिकमा प्रकाशित छ !

प्रकाशित : सोमबार, माघ २८, २०७५०९:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सभापति देउवाले फेरी धोका दिएपछि पार्टीमा खैलाबैला !