नेपाली कांग्रेस र हिन्दू धर्मको सम्बन्ध के छ ?

Leaderboard Banner
निनाम कुलुङ ‘मंगले’

१३औँ महाधिवेशन भएको निकै लामो समयपछि नेपाली कांग्रेसको महासमिति बैठक गएको २९ मंसिरदेखि ८ पुससम्म काठमाडौंमा सम्पन्न भएको थियो । पुस ३ गतेसम्म तोकिए पनि ८ गतेसम्म लम्बिएको थियो । बैठक लम्बिए पनि उपस्थित भएका नेता तथा कार्यकर्ताहरूले कसरी वर्तमान सरकारको गलत कामकारबाहीको भण्डाफोर गर्ने, आफ्नो दलको तत्कालीन राजनीतिक कार्यक्रम, नीति र कार्ययोजना के बनाउने, जनस्तरमा कसरी जाने, नेतृत्व तहमा कसरी समानुपातिक समावेशीकरणको मुद्धा स्थापित गर्ने ? भन्ने विषयमा बहस गरेको देखिएन । नेपालकै पुरानो राजनीतिक दलमध्येमा पर्ने नेपाली कांग्रेसलाई कसरी गाउँ–गाउँ, वडा–वडा र टोल–टोलसम्म स्थापित गर्ने ? भन्ने बारेमा खासै छलफल भएन । यो नेपाली कांग्रेसका नेता, कार्यकर्ता शुभेच्छुक लगायतका लागि दुःख लाग्दो कुरो हो ।

वास्तवमा नेपाली कांग्रेसभित्र औपचारिक रूपमा हिन्दू धर्मको राजनीति भित्र्याउन खोज्ने व्यक्ति खुमबहादुर खड्का थिए । जो नेपाली कांग्रेस सत्तामा जाँदा पटक–पटक मालदार वा भनौँ कमाउ मन्त्रालयको मन्त्री भएका थिए । त्यसपछि नेपाली कांग्रेसमा हिन्दू धर्मको कुरो उठाउने वर्तमान महामन्त्री शशांक कोइराला देखिएका छन् । हुन त उनले हालै सकिएको नेपाली कांग्रेसको महासमितिको औपचारिक भेलामा उठाएनन् ।

तापनि, महासमितिमा भाग लिन आएका केही केन्द्रीय तहका नेता, महासमिति सदस्यसहित थोरै कार्यकर्ता भने नेपाली कांग्रेसमा हिन्दू धर्मको ‘भूत’ भित्र्याएर ‘हिन्दू धर्मको ’ राजनीति गर्नतर्पm लागेका थिए । तर, उनीहरू सफल भएनन् । किनभने, नेपाली कांग्रेस पार्टीले नै यो एजेन्डालाई प्रवेश हुन दिएन । तर, नेपाली कांग्रेसले पनि कमल थापाले जस्तै हिन्दू धर्मको गन्धे राजनीति गर्नुपर्ने भनी महासमितिमा भाग लिन आएका नेपाली कांग्रेसका केन्द्रीय तहका केही नेता कार्यकर्ताहरू भने कन्धनी कसेर लागेका थिए । हुन पनि महासमितिमा भाग लिन आएका कार्यकर्ता (महासमिति सदस्य) पनि कस्ता ? बैठकस्थलको गेटमै बसेर नाम र हस्ताक्षर संकलन गरेर बस्नेहरूले आफ्नो नाम र हस्ताक्षर के प्रयोजनका लागि संकलन गरेका हुन् ? बुझ्दै नबुझी आफ्नो नाम र हस्ताक्षर बुझाए ?

फलतः महासमितिमा भाग लिन आएका र हिन्दू धर्म नमान्ने वा भनौँ धर्मप्रति चासो नै नरहेका केही प्रतिनिधिहरू (मुस्लिम, आदिवासी जनजाति, दलित लगायत) सुरुमा आफ्नो नाम र हस्ताक्षर बुझाए । त्यसपछि त के चाहियो र ? नेपाली कांग्रेसमा रहेका आर्य र खस समूह मात्रै होइन, मुस्लिम, आदिवासी जनजाति, दलितलगायत पनि हिन्दू धर्मको पक्षमा छन्, भनी प्रचारप्रसार गर्न भ्याइहाले ।

हुन त नेपालमा धर्मको सम्बन्धमा कुरो गर्नुपर्दा धार्मिक रूपमा ‘हिन्दू, बौद्ध र किराँतहरू एकै हुन् ।’ भन्नेहरूको ठूलो जमात छ । उनीहरूको तर्क के छ भने, नेपालका हिन्दू, बौद्ध र किराँतहरू ‘ॐ परिवार’ भित्रका हुन् । उनीहरूले दिने अर्को उदाहरण भनेको ०६८ सालको राष्ट्रिय जनगणनाको परिणाम पनि हो ।

हुन पनि उक्त जनगणनाले नेपालमा ८१ दशमलव ३ प्रतिशत हिन्दू धर्म मान्ने जनसंख्या रहेको देखाएको छ । तर, अचम्म के छ भने, नेपालका आदिवासी जनजातिको जनसंख्यालाई केबल ३५ प्रतिशत र मुस्लिम धर्म मान्ने ४ दशमलव ४ प्रतिशत मान्ने हो भने पनि नेपालमा हिन्दू धर्म मान्नेहरूको जनसंख्या लगभग ६० प्रतिशत मात्रै हुनुपर्ने हो । यसरी हिन्दू धर्म मान्नेहरूको जनसंख्या बढेको देखिनुमा नेपालको भौगोलिक एकीकरणपछिको २ सय ४० वर्षे शासनकालमा विभिन्न जातजातिका अगुवालाई स्थानीयस्तरको छोटेराजा÷शासक नियुक्त गर्दै उनीहरूमार्फत स्थानीयस्तरमा ढाक्रे÷रैती (हालको भाषामा भन्नुपर्दा जनता) सम्म हिन्दू धर्म, गोर्खा भाषा, हिन्दू चाडबाड, हिन्दू संस्कार, हिन्दू संस्कृति, हिन्दू चाडबाड लादिएकोले गर्दा हो ।

उता हिन्दू धर्म मान्ने भनिएका नेपालका दलित, मधेसी, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी लगायतका जाति समूहका मान्छेहरूको पनि ठूलो संख्या क्रिस्चियन धर्मतर्पm लागेको प्रस्टैसँग देखिन्छ । अझ नेपालका ठुल्ठूला चर्चका प्रमुखहरूसमेत पाण्डे, शर्मा, तिमल्सेना÷तिम्सिना, बाहुनहरू, थापा, रोकायालगायत क्षेत्रीहरू, श्रेष्ठ, मर्हजनलगायत नेवारहरू (जो तुलनात्मक रूपमा गैरहिन्दू मानिन्छ), गजमेर, बिक, नेपालीलगायत दलितहरू छन् । कुनै बेला नेपालको सम्पूर्ण चर्चहरूको संगठनको प्रमुख नै डाक्टर केबी रोकाया क्षेत्री थिए भन्ने त नेपाली कांग्रेस, राप्रपा नेपाल, पूर्व एमाले लगायतका दलमा रहेका र हिन्दू धर्मको राजनीति गर्न चाहनेहरूले बिर्सिएका छैनन् होला ।

०६८ सालको राष्ट्रिय जनगणनामा नेपालमा हिन्दूको जनसंख्या बढेको देखाउनु भनेको शंकास्पद नै हो । यस्तो नहोस् भनेरै विगत लामो समयदेखि आदिवासी जनजाति, दलित, मधेसी आदि समुदायले केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना गर्ने कार्य गर्दा खपत हुने गणक (जनशक्ति) आफ्नै समुदायका अगुवालाई तालिम दिएर खटाओस् भन्ने माग राख्दै आएको थियो-छ । तर, यस विषयमा सम्बन्धित पक्षले (खासगरी नीति निर्माण गर्ने तहमा रहेका सरकारी कर्मचारी, राजनीतिक दल र तिनका नेता र हिन्दू धर्मका अनुयायीहरू) कहिल्यै पनि गम्भीर रूपमा सोचेनन् । माथि नै भनेभैmँ नेपालका हिन्दू, बौद्ध र किराँतहरू एउटै ‘ॐ परिवारभित्र’ का हुन् भन्नेहरू नेपालका हिन्दू, बौद्ध र किराँतहरू धार्मिक रूपमा कसरी एउटै÷एकै हुन् ? भनेर दरिलो र यथार्थ प्रमाणसहित उदाहरण भने दिने गरेको देखिँदैन । यदि, साँच्चै बौद्ध र किराँतहरू पनि हिन्दू नै हुन् भने किन बौद्ध र किराँतहरूले गौ–भक्ष गर्छन् ? किन हिन्दू धर्मावलम्बीहरूले जसरी बौद्ध र किराँतहरूले गाईलाई माता मान्दैनन् ? किन गाईलाई हिन्दूले जसरी धनको देवी÷लक्ष्मी मान्दैनन् ? भन्नेतिर पनि उनीहरूको ध्यान गएको देखिँदैन ।

खासमा ०७० मंसिर ४ मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा राजनीतिक रूपमा खुलेरै धर्म निरपेक्षताको विरोध गर्ने राजनीतिक दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल’ ले प्रत्यक्षमा एकसिट नजिते पनि समानुपातिकमा जसरी २४ सिट जित्यो, त्यसले गर्दा पनि नेपाली कांग्रेस, राप्रपा नेपाल, पूर्व एमाले लगायतका दलमा रहेकाहरूले हिन्दू धर्मको गन्धे राजनीति गर्न चाहेका हुन् कि ? भन्ने देखिन्छ ।

०६४ सालको पहिलो संविधान सभामा देशभरि प्रत्यक्ष निर्वाचनमा जम्मा २ सय चारजना उम्मेदवार उठाएकोमा एक सिट जित्ने त के कुरा, एक ठाउँ पनि दोस्रो र तेस्रो स्थान ल्याएन, राप्रपा नेपालले । तथ्यांक स्रोतः ‘माननीय सभासद–२०६४’ नामक किताब । तर, दोस्रोपटक भएको संविधान सभाको निर्वाचनमा भने समानुपातिकमा २५ सिट जित्यो । राप्रपा नेपालले आफ्नै बलबुताले २५ सिट जितेको थिएन । ०७४ सालको तीनवटै निर्वाचनमा आइपुग्दा नेपालका किरात, क्रिश्चियन र मुस्लिमहरूले राप्रपा नेपालको इज्जत बचाइ दिएको थियो ।

साथै, हालै भारतमा सकिएको केही प्रदेशको विधानसभाको निर्वाचन परिणामलाई आधार मानेर पनि नेपालमा धर्मको राजनीति गर्न चाहने राजनीतिक दल र तिनका नेताहरूले पाठ सिक्नुपर्ने हो । किनभने, भारतमा पनि अति कट्टरपन्थी हिन्दूहरूको जमातलाई अघि लाएर राजनीति गर्दै आएका नरेन्द्र मोदीको दल भाजपाले कस्तो परिणाम भोग्नुप¥यो ? र, अहिले नै नेपाली कांग्रेस, राप्रपा नेपाल, पूर्वएमाले लगायतका दलमा रहेका नेता कार्यकर्ताहरू जो नेपालमा हिन्दू धर्मको राजनीतिको फसल लाग्ला कि ? भनी कन्धनी कसेर लाग्न खोजेका छन्, उनीहरूमध्ये कति जनाले दिसा बस्न जाँदा आचमनी गर्छन् ?, कति जनाले निधारमा रक्तचन्दन धस्छन् ? कति जनाले छातीमा श्रीखण्ड धस्छन् ?, कति जनाले टुप्पीमा शिखा पार्छन् ? (सन्दर्भ स्रोतः सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’) लगायतका प्रश्न नगरौँ होला ।

यो लेख सौर्य दैनिकको लागि निनाम कुलुङ ‘मंगले’ले लेख्नु भएको हो !

प्रकाशित : बुधबार, पुष २५, २०७५१०:४५
अर्को समाचार:

ट्राफिक प्रहरी निरिक्षक आफै मापसेमा परेपछि लगाए यस्तो जुक्ति ! भयो खुलासा