नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडी मनोनयनमा !

Leaderboard Banner

काठमाडौं  – नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर रोहित चन्द इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई खेलाडी रहेका छन् ।

रोहितको उत्कृष्ट प्रदर्शनका कारण नै पर्सिजा हाल अंक तालिकाको शीर्ष स्थानमा छ । पर्सिजाले लिगको अन्तिम खेल जितेको अवस्थामा लिग उपाधि जित्नेछ । लिगको ३० खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरेका छन् । रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन नगरेपनि उनले मैदानमा भने निकै राम्रो प्रदर्शन गरेका थिए ।

रोहितले पर्सिजाको मिडफिल्ड सम्हाल्दै ८ सय ५० पास खेले । जसमध्य ६ सय ६८ पास सफल भएको थियो । रक्षात्मक मिडफिल्डमा खेलेर ७९ प्रतिशत पास सफल पार्नु राम्रो प्रदर्शन हो । यसबाहेक रोहितले विपक्षीको बल खोस्ने जिम्मेवारी पनि वहन गर्दै आएका छन् । उनी डिफेन्सको अगाडी बलियो प्रदर्शन गर्दै आएका खेलाडी हुन् ।

रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका फरवार्ड डेविड डे सिल्भा र पीएसएम मकासरका विलेम जान प्लम रहेका छन् । प्राविधिक समितिका सदस्य सुदिरमानले उत्कृष्ट खेलाडीको छनोटमा खेलाडीको विभिन्न पक्षलाई हेरिएको थियो । निरन्तर राम्रो प्रदर्शनसँगै टोलीमा नेतृत्व क्षमता बोकेका र प्रभावकारी प्रदर्शन गर्ने खेलाडीलाई मनोनयनमा राखिएको हो ।

अन्तिम चरणको खेल बाँकी रहँदा रोहितको टोली ३३ खेलमा ५९ अंक जोड्दै शीर्ष स्थानमा छ । रोहितको टोलीले पछिल्लो तीनै खेलमा जित दर्ता गरेको छ । अन्तिम खेलमा पर्सिजाले मिट्रा कुकारको सामना गर्नेछ । दोस्रो स्थानमा रहेको पीएसएमको ५८ अंक छ । पीएसएमले पुछारको पीएसएमएसको सामना गर्नेछ ।

पर्सिजाको प्रतिद्वन्द्वी मिट्रा ३९ अंक जोड्दै गोलअन्तरमा रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ । पुछारको पीएसएमएसको ३७ अंक छ भने त्यसभन्दा माथि ४ टोलीको ३९ अंक रहेको छ ।

प्रकाशित : बिहिबार, मङि्सर २०, २०७५१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मेलिलाविरुद्ध रियलको अाधा दर्जन गोल