पुर्वराजा ज्ञानेन्द्र र कृष्ण सिटौलाको त्यो ५५ मिनेटको भेटपछि..

Leaderboard Banner

काठमाडौँ । १५ जेठ २०६५ मा संविधानसभाले राजतन्त्रको विधिवत् अन्त्यको घोषणा गरेपछि तत्कालीन सरकारले राजाको बासस्थानको रुपमा नागर्जुनको जंगल र त्यहाँ रहेको गृष्मकालीन दरबार दिने भयो । उनी त्यहाँ सर्नुअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न पठाए । नारायणहिटी पुगेर सिटौलाले भने, ‘दुनियाँमा राजतन्त्र ढल्दा दु:खद घटना भएका छन्। इरानको राजतन्त्र २५ सय वर्षभन्दा लामो हो। हाम्रो त अढाई सय वर्ष न हो।

राजतन्त्र ढलेपछि विदेश पलायन भएका त्यहाँका अन्तिम राजा मुहमम्द रेजा शाह पहेलवीको लास स्वदेश लैजान दिइएन। जबकि मुस्लिम संस्कार अनुसार आफ्नै भूमिमा शवदाह हुनुपर्छ।’ सिटौलाले फेरि थपे, ‘तर नेपालमा त्यस्तो होइन। शान्तिपूर्ण जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापित भयो। त्यसले गठन गरेको सरकारले संविधानसभा निर्वाचन गरायो। संविधानसभाको पहिलो बैठकले राजतन्त्र समाप्त भएको निर्णय गर्‍यो। यहाँ त्यही निर्णय अनुसार नै नारायणहिटी दरबारभन्दा बाहिर जाँदै हुनुहुन्छ। यसरी जाँदा केही समस्या छन् कि! भए हामी समाधान गर्छौँ। मलाई गिरिजाबाबुले यही प्रयोजनका लागि यहाँ पठाउनुभएको हो।’ गम्भीर मुद्रामा रहेका ज्ञानेन्द्रको मुख खुल्यो, ‘म तपाँईसँग एक्लै कुरा गर्न चाहन्छु।’ नारायणहिटीमा त्यति बेला सिटौलासँगै मुख्यसचिव, गृहसचिव, निजामती सेवामा ल्याइएका दरबारका सचिवहरु थिए।

उनीहरु बाहिर निकालिए। त्यसपछि ज्ञानेन्द्र र सिटौलाबीच ५५ मिनेट कुराकानी भयो। सिटौलाले गिरिजाको सन्देश सुनाए, ‘तपाईंको पालामा आएर शान्तिपूर्ण तवरले राजतन्त्र अन्त्य भएको छ। त्यसैले हामी तपाईंलाइ सम्मानपूर्वक बिदा गर्छौँ। तपाईं देशको अन्तिम राष्ट्राध्यक्ष हो। यही हैसियतमा राज्यको तर्फबाट गर्नुपर्ने, हेर्नुपर्ने कुरा के छ? तपाईंलाई सम्मानपूर्वक राख्ने सोचाइ र तयारी हाम्रो पनि छ। तर आफ्नो केही अलग्गै कुरा छन् कि? म गिरिजाबाबुको दूत भएर आएको हुँ। गिरिजाबाबुको यहाँको पालामा मात्र होइन। उहाँका दाजुहरु, उहाँका बाबुबाजेका पालादेखि राजासँगै मिलेर काम गर्दै आएको इतिहास छ। अहिले त्यो राजतन्त्र हट्ने परिस्थिति बन्यो। तर यो अवस्थामा सम्मानजनक रुपमै सरकार तपाईंहरुसँग व्यवहार गर्न चाहन्छ। गिरिजाबाबु चाहनुहुन्छ।’ यसपछि बल्ल ज्ञानेन्द्र आफ्ना कुरा राख्न थाले। एकदमै भावुक मुद्रामा। उनको मुख्य जोड थियो- राजमुकुट र राजदण्ड जस्ता कुरामा। ‘म पनि परिस्थितिवश राजा भएको हुँ।

रोयल म्यासाकर पछि मैले मेरो वंश परम्परा धान्नुपर्ने अवस्था आयो। राजा भएँ। आज संविधानसभाले हाम्रो वंश परम्पराको अन्त्य गरेको छ। त्यो निर्णय मान्छु। हाम्रो वंशले उहिल्यैदेखि पहिरिँदै आएको राजमुकुट र राजदण्ड हामीसँग भए हाम्रा सन्तानले त्यसलाई सुरक्षित राख्ने थिए। वंशको चिनो पनि हो,’ ज्ञानेन्द्रको जिकिर थियो, ‘राणाहरुले २००७ सालमा शासन ढलेपछि राजमुकुट लिएर गए। हामीले पनि पाउँछौँ होला नि!’ सिटौलाले भने, ‘त्यो राष्ट्रको संग्रहालयमा सम्पत्तिको रुपमा सुरक्षित रहन्छ। राणाहरुले लगे, बेचे कि खाए? थाहा छैन। तर अब हिजोको राजसंस्थाको सबै चिज यहाँहरुको निजी विषय रहँदैनन्। सिंगो देशको इतिहासको विषय रहन्छ। राजमुकुट लगेर यहाँहरुले आफ्नो खोपीमा राख्नु र त्यो राजमुकुट हेर्न चाहने देश-विदेशका मान्छेलाई देखाउनुमा, देखाउनुले जित्छ।’ सिटौलाले यति भनेपछि ज्ञानेन्द्रले कुनै प्रतिवाद गरेनन्। यसपछि उनले सुरक्षाको कुरा सोधे। पूर्व राष्ट्राध्यक्षको हैसियतले जे पाउने हो त्यही दिने कुरा सिटौलाले राखे। तर सेनाको सुरक्षा हटाउने बताए।

ज्ञानेन्द्रले सेनाबाहेक अरु सुरक्षा निकायले ‘सर्ट रेन्ज’को तालिम नलिएको हुँदा तालिमप्राप्त सुरक्षाकर्मीको व्यवस्था गरिदिन अनुरोध गरे। त्यसपछि सिटौलाले सशस्त्र प्रहरीले तालिमप्राप्त सुरक्षाकर्मी तयार नपारुन्जेलका लागि सेनाको सुरक्षा दिने र सशस्त्रले त्यस्तो व्यवस्था गरेपछि सेना स्वत: विस्थापित हुने कुरा सुनाए। त्यसपछि ज्ञानेन्द्रको अर्को आग्रह थियो। मुमा बडामहारानीबारे। भने, ‘हाम्रो मुमा (रत्न) र सरला मुमालाई यहीँ नारायणहिटी राख्ने व्यवस्था मिलाइदिनुपर्‍यो।’ सिटौलाले भने, ‘कुरा ठिकै हो। वृद्धावस्थामा उहाँहरुलाई कति ठाउँ कुदाउने। यहाँहरुको मुमा, हामी सबैको मुमा हो। ठिकै छ। क्याबिनेटबाटै पास गराउनुपर्छ। मै प्रस्ताव लैजाऊँला।’ अनि ज्ञानेन्द्रले भने, ‘मुमालाई भेट्न आइरहनुपर्छ। कुनै बाधा हुन्छ कि?’ सिटौलाले भने, ‘गिरिजाबाबुले पनि भनिसक्नुभएको छ कि, यहाँलाई सम्मानित नागरिकको दर्जा र त्यस्तै व्यवहार गरिनेछ। सुरक्षा दिइनेछ।

आवातजावतमा कुनै बाधा अवरोध हुन दिइनेछैन। भएमा त्यसलाई पन्छाउने र सजिलो बनाउने काम पनि सरकारले नै गर्नेछ। त्यसमाथि छोरालाई आमासँग भेट्न दिने नैसर्गिक अधिकारबाट वञ्चित गर्ने कुरा त झन् सोच्नै सकिँदैन। यहाँहरुलाई नारायणहिटी छिर्नमा कुनै बाधा हुनेछैन।’ अन्तिममा ज्ञानेन्द्रले सोधे, ‘अहिले तोकिएको दिनभित्र म कहाँ जाऊँ?’ सिटौलाले भने, ‘निर्मल निवास जानुहोस्। राणाकालीन दरबार समेत राष्ट्रियकरण भइसकेका छन्। नागार्जुनमा बस्नका लागि सबै व्यवस्था सरकारले गर्ने भइसकेको छ। त्यसबाहेक यहाँले रोजेको कुनै ठाउँ, कुनै घर, दरबार भए भन्नुहोला। म कुरा लैजान्छु र यहाँको चाहाना पूरा गर्न हरसम्भव प्रयास गर्छु।’ ज्ञानेन्द्रले भने, ‘ठिक छ। मलाई तपाईंको प्रस्तुति राम्रो लाग्यो।’ ५५ मिनेट लामो कुराकानी पछि सिटौलाले ‘अहिले म जाऊँ त’ भन्दै नमस्कार गरे। ज्ञानेन्द्रले बसेको ठाउँबाट उठेर अर्ध हाँसोमा भने, ‘हुन्छ… हुन्छ।’

प्रकाशित : बुधबार, मङि्सर ०५, २०७५१७:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पूर्वराजा ज्ञानेन्द्रको समय फिर्न लागेको हो ? पूर्वमाओवादीहरू नै राजतन्त्रको माग गर्दै आन्दोलनमा !