काठमाडौँ : पाइलटले विमान अपहरणको सूचना दिएपछि भारतको अन्तराष्ट्रिय विमानस्थलमा कोलाहाल मच्चिएको छ।
पाइलटले १३३ जना सवार विमान अपहरणको सूचना दिएपछि शनिबार भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो होहल्ला मच्चिएको हो।
विमानका क्याप्टेनले शनिबार दिउँसो विमान अपहरणमा परेको सन्देश प्रवाह गरेका भएपनि झुक्किएर अपहरण परेको सूचना दिने अलार्म बजाएको खुलासा भएको छ। अरियाना अफगान एयरलाइन्सको विमानका क्याप्टेनले विमान अपहरणको सूचना दिएपछि विमानलाई टेकअफ गर्नुभन्दा अगाडि नै रोकियो भने सूरक्षा अधिकारीहरुले पूरै विमान जाँच गरेपछि मात्र विमान आकाशमा उडाईएको थियो।
शनिबार दिउँसो भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ः३० बजे उड्नुपर्ने विमानका क्याप्टेनले अपहरणमा परेको संदेश पठाएपछि विमानलाई चारतिरैबाट घेरा हालेर सुरक्षाकर्मीहरुले चेकजाँच गरेका थिए।
सुरक्षा अधिकारीहरुले गरेको अनुसन्धानका क्रममा पाइलटले आफ्नो को–पाइलटलाई अलर्टको प्रक्रियाबारे जानकारी दिन खोज्दा झुक्किएर अपहरणमा परेको सन्देश दिने अलार्म बजाएको खुलासा भएको हो।
पाइलटले अलार्म सिस्टममा गल्तिले कोड नम्बर ७५०० राखेपछि एयर ट्राफिक कन्ट्रोल रुममा विमान अपहरणमा परेको सन्देश गएको थियो। विमानमा ९ क्रु मेम्बरसहित १२४ जना यात्रु सवार रहेका थिए।