सांस्कृतिक कार्यक्रममा गर्ने प्रतिस्पदर्धा

Leaderboard Banner

इनरुवा, २३ कात्तिक (रासस) : सुनसरी सदरमुकाम इनरुवामा चाडपर्वका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रम गर्ने प्रतिस्पर्धा चलेको छ ।

दशैँ, तिहार र छठपर्वको अवसर पारेर इनरुवाका विभिन्न वडामा स्थानीय अगुवा युवाले सांस्कृतिक माहोल तताउन थालेका हुन् ।

राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुलाई इनरुवासम्म ल्याएर दशैँको सप्तमीका दिनदेखि नै इनरुवामा सांस्कृतिक कार्यक्रम हुने क्रम बढेको स्थानीय चन्दन मेहताले बताउनुभयो । कहिले इनरुवा–३ सखुवागाछीमा, कहिले महेन्द्र चोक, कहिले इनरुवा–२ मा रहेको क्लासिक होटल नजिक, कहिले जिल्ला समन्वय समिति सडकमा त कहिलो भूमिसुधार कार्यालयको अगाडि सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।

युवाको सक्रियतामा ठूला चाडपर्व लक्षित गरेर आयोजना हुने सांस्कृतिक साँझहरु रमाइलोका साथै आपसी खुशीयाली साटासाट गर्ने साझा थलो हुने गरेको इनरुवाका युवा पत्रकार वीरेन्द्र मेहताले बताउनुभयो ।

गएराति मात्र सुनसरी सदरमुकाम इनरुवा–२ भूमि सुधार कार्यालयको अगाडि १२औँ सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो । मैथली तथा नेपाली समुदायका कलाकारको सक्रिय सहभागितामा सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको स्थानीय चुना निरौलाले बताउनुभयो । यसैबीच चाडपर्वको बेला सुनसरीका विभिन्न ठाउँमा जुवा खेल भइरहेको स्थानीयवासीले बताएका छन् ।

नेपालीको दोस्रो ठूलो चाड तिहार र दीपावली पर्वमा मनोरञ्जनको नाममा जिल्लाका विभिन्न ठाउँमा जुवाजन्य खेल भइरहेको स्थानीयवासीको भनाइ छ । स्थानीयस्तरमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा डाइस, फ्लास, कौडा, म्यारिजलगायतका जुवा खेल भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्लाको इनरुवा, इटहरी, धरान, हरिपुर, श्रीपुर, नरसिंह, भोक्राहा, देवानगञ्ज, हरिनगरा, दुहवी, रामधुनी, बराहक्षेत्रलगायत क्षेत्रमा जुवाजन्य खेल भइरहेको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रहरीले देखाउनका लागि अपवादमा एक दुईजनालाई नियन्त्रणमा लिएको भए पनि ठूलाबडालाई छुट दिने गरेका कारण जुवाजन्य खेल भइरहेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित : शुक्रबार, कार्तिक २३, २०७५२०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तिहारमा रु ५० लाखको फूलमालाको कारोबार