बाघको बहन क्षमताबारे अध्ययन हुँदै

Leaderboard Banner

काठमाडौँ, दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय विज्ञका रुपमा जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक सहभागी हुनुहुन्छ ।

अध्ययनमा विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिष्ट पौडेल, विश्व वन्यजन्तु कोषका डा कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, अर्का विज्ञ डा भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी हुनुहुन्छ ।

“यो फिल्डको काम कम छ, बढी डाटामा खेलेर अध्ययन गर्ने हो, बाघका आहारा प्रजाति के के हो, बाघ कहाँ पाइन्छन् भन्ने सबै थाहा छ, त्यही तथ्याङ्कको आधारमा विज्ञले विश्लेषण गरिरहनुभएको छ”, पौडेलले भन्नुभयो, “उहाँहरुको प्रतिवेदनपछि उपमहानिर्देशक भट्टराई नेतृत्वको प्राविधिक समितिले छलफल गरेर एउटा निचोड निकाल्छ ।”

अघिल्लो महीना सार्वजनिक भएको प्रतिवेदनानुसार चितवन निकुञ्जमा पाँच वर्षमा २७ बाघ घटेको पाइएको थियो । “पहिलो चरणमा बाघको अध्ययन थालिएकाले गैँडाको पछि अध्ययन हुने पौडेलको भनाइ छ । यो आर्थिक वर्षमा अध्ययन सक्ने योजना छ ।”

राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किमीमा फैलिएको छ । सन् २०१३ (विसं २०७०तिर) अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थिए ।

यस पटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२(विसं २०७९तिर) सम्ममा बाघको सङ्ख्या दोब्बर बनाइने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ । निकुञ्ज बाघ, गैँंडा, हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो ।

इकोलोजिष्ट पौडेलले बहन गर्न सक्ने क्षमताको अध्ययनपछि संरक्षणका रणनीति बनाएर अघि बढ्न सजिलो हुने उल्लेख गर्नुभयो । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंँडाको सबैभन्दा ठूलो वासस्थान हो । गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैंँडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई दुई जोडी गैंँडा उपहार दिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बाघ र गैंँडाको सङ्ख्या बहन गर्न सक्ने क्षमताको अध्ययन विशिष्ट प्रकृतिको अध्ययन भएको बताउनुहुन्छ । अध्ययनका क्रममा बाघ, गैँंडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल अध्ययन गरेपछि वास्तविक अवस्था पत्ता लाग्ने बताउनुपर्छ । उहाँका अनुसार नेपालमै पहिलो अध्ययन भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चितवनका संरक्षणकर्मीले भने वासस्थान नाश हुँदै गएकाले वन्यजन्तु बस्तीमा आउने, सामुदायिक वनमा वासस्थान बनाउने र अर्को क्षेत्रमा सर्ने गरेको जिकिर गर्दै आएका छन् । बाघ संरक्षण उपसमिति रत्ननगरका संयोजक जीतु तामाङ मुख्य गरी बासस्थान संरक्षणमा योजना बन्न नसकेको जिकिर गर्नुहुन्छ ।

बाघ परिस्थितिकीय प्रणालीको उच्चस्थानमा रहने जनावर हो । लजालु प्रजातिमा पर्ने बाघ मिश्रित खालको जङ्गलमा बस्छ । चुरे क्षेत्रमा आराम गर्न पुग्छ । आहारा प्रजाति र पानीको स्रोत भएको आसपासमा बढी सक्रिय हुन्छ । बाघ दिउँसो आराम गर्ने र साँझ बिहान सक्रिय हुने जनावर हो । बाघको बासस्थानका लागि चुरे, नदी तटीय क्षेत्र र सालको जङ्गल चाहिन्छ । घाँसे मैदानमा चित्तल, जरायो, बँदेललगायत वन्यजन्तु हुने भएकाले शिकार खेल्न जान्छ ।

प्रकाशित : सोमबार, कार्तिक ०५, २०७५१५:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तिहारमा १७ लाख माला