निर्मला पन्त बलात्कार प्रकरण: एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने तयारी

Leaderboard Banner

निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा सरकारले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाएको छ । आइतबार गृह मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको छ ।

एआइजी धीरू बस्नेत नेतृत्वको छानबिन समितिको रायका आधारमा एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्न लागिएको हो । अनुसन्धानमा चरम लापरबाही गरेको तथा पदीय जिम्मेवारी बहन गर्न नसकेको भन्दै उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने सरकारको तयारी छ । उनीहरू दुवै दुई महिनादेखि निलम्बनमा छन् ।

इन्चार्जको हिसाबले उनीहरूलाई मुख्य जिम्मेवारका रूपमा लिई बर्खास्त गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । इन्स्पेक्टर भट्ट घटनाको वेला वडा प्रहरी कार्यालय, महेन्द्रनगरमा कार्यरत थिए । निर्मला हराएको भनेर खोजिदिन आमाले आग्रह गर्दा उनले राति नभ्याउने भन्दै उदासीनता देखाएका थिए । नयाँ पत्रिकामा खबर छ ।

छानबिनको क्रममा उनीहरूको चरम लापरबाही देखिए पनि अभियुक्तलाई संरक्षण गरेको भने खुलेको छैन । बर्खास्तगीको प्रक्रियाअन्तर्गत उनीहरूलाई सफाइको मौका दिइएको गृहसचिव प्रेमकुमार राईले बताए ।

एक दर्जन प्रहरीमाथि कारबाहीको तयारी
निर्मला प्रकरणमा एसपी र इन्स्पेक्टरबाहेक एक दर्जन प्रहरीमाथि पनि विभागीय कारबाही गर्न लागिएको छ । आठजना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका छन् । एसपी विष्टसहित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय रामसिंह धामी र हरिशरण धामी तथा प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको थियो । उनीहरूसहित थप प्रहरीको गल्ती देखिएको छानबिन समितिका एक अधिकारीले बताए ।

गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । घटनाको २५औँ दिनमा स्थानीय युवक दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, स्थानीय बासिन्दाले मानसिक रोगीलाई प्रहरीले अभियुक्त बनाएर वास्तविक अपराधी जोगाउन खोजेको भन्दै आन्दोलन गरेका थिए । आन्दोलन चर्कंदा प्रहरीले गोली चलाएपछि एकजनाको मृत्यु भएको भयो ।

प्रकाशित : सोमबार, कार्तिक ०५, २०७५०८:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

न्यायालयमा पदपूर्ति भएन, १ हजार ३३९ कर्मचारी आवश्यक