आङ्ग नै सिरिङ्ग हुने गरी धारिलो खुँडा र तरबार नचाउने सरायँ खेलको ऐतिहासिक महत्व

Leaderboard Banner

– युब मगर
सरायँ नाच र यसको ऐतिहासिक महत्व

सरायँ नाच दशैँका बेला पश्चिम नेपालका केही जिल्लामा प्रस्तुत गरिने एक ऐतिहासिक सांस्कृतिक नाच हो । यो नाच वडा दशैँको एकादशी देखि पूर्णिमा सम्म कोट तथा सक्तिपिठहरुमा प्रदर्शन गर्ने गरिन्छ । सरायँ मगर भाषाको सराङ शब्दबाट आएको हो जसको अर्थ तरबार नाच भन्ने हुन्छ । इतिहासका जानकारहरुका अनुसार नेपालका पश्चिम क्षेत्रमा हिन्दुहरुको आगमन हुनु पूर्व बाह्रमगरात अन्तर्गत एउटा बिशाल राज्य थियो र त्यो राज्यको सिमा उत्तरमा गल्कोट पूर्वमा पोखरा दक्षिणमा गोरखा र पश्चिममा प्युठानसम्म फैलिएको थियो । सरायँ नाच अहिले पनि यही क्षेत्रमा मात्र प्रचलनमा रहेको छ । तर पूर्वबाट क्रमश लोप हुदै गएको छ । अहिले यो नाच पूर्वी पाल्पामा समेत करिब करिब हराएर गएको छ ।

यो नाच बिशेष गरि सेन वंशीय राजाहरुले राज गरेका कोटहरुमा प्रस्तुत गर्ने चलन रहेको छ । यो एक युद्ध कौशल देखाउने नाच हो । सरायँ नाच प्रस्तुत गरिने कोट तथा मन्दिरहरुमा मगर पूजारी रहने परम्परा रहेको छ । कतिपय स्थानमा भने अन्य क्षेत्री समूदायका पूजारी समेत रहने गरेका छन् । खासगरी बाह्रमगरात क्षेत्रका मगर समुदाय नै यस नाचमा सहभागि हुने गरेका छन् । सरायँ नाचको प्रचलन बाइसे चौबिसे राज्यकाल (१५औँ सताब्दी) सेरोफेरोबाट शुरु भएको अनुमान छ । यसअर्थ पनि सरायँ नाच सयौँ वर्ष पूरानो परम्परा हो ।

यो कला बाग्लुङको गल्कोट कालीका लगाएत गुल्मीका केही ठाउँमा भने चैते दशैमा पनि देखाउने चलन रहेको छ । सरायँ नाच कोटमा राखिएका युद्धमा प्रयोग हुने ऐतिहासिक हात हतियार तरबार, खुँडा र खुकुरी लगाएतका हात हतियारहरु युवा तथा पाकाहरुले पञ्चे बाजाको तालमा आ….हा..हा..हा..हा. वाक्खै भन्दै नचाउने गरिन्छ । यो नाच समूहमा खेल्लने गरिन्छ भने एक्लै पनि युद्ध कला प्रस्तुत गर्न सकिन्छ ।

यस नाचमा एतिहासिक युद्धहरुमा प्रयोग भएका हतियारहरु पनि प्रदर्शन गर्ने चलन छ । ढाल, तरबार सहित अरिङ्गालको गोला समेत नचाउने चलन छ । यसको आफ्नै बिधि र परम्परा रहेको छ । यसका लागि परम्परागत बिधिपूर्वक गुरु पूजा गरेपछि मात्र खेल्ने गरिन्छ । जोसुकैले यो नाच प्रस्तुत गर्न सक्दैनन् । तथापी ठाउँ अनुशार यसको खेल्ने शैली र बिधि भने फरक फरक नै छ । गुल्मीको हुँगामा प्रस्तुत गरिने खुँडा नाच सबैभन्दा खतरनाक मानिन्छ । भने त्यस क्षेत्रमा मात्र प्रस्तुत गरिने लौरो नाच पनि निकै लोकप्रिय छ । उक्तनाच प्रस्तुतिका क्रममा बर्षेनी केही युवाहरु घाइते समेत हुने गरेका छन् । यो नाचमा सावधानी अपनाउनु निकै जरुरी हुन्छ । गल्तीले कहिलेकाही ठूलै चोट समेत लाग्ने गरेको छ । एकै जनाले पनि तीन ओटा सम्म धारिला खुँडा नचाउने गरिन्छ । ६ फुट लामा लौरा समेत एकै जनाले २ ओटा एकै साथ नचाउने चलन छ । खुँडा नाचमा पनि बिभिन्न नाम रहेका छन् । तथापी यो ठाउँ अनुसार पनि फरक पर्छ । गुरुघाउ, छुट काटाकाट, गोलन्धरी मल्याक मूख्य नाम हुन् । फूलपाती सेलाएपछि याे नाच बिसर्जन हुन्छ ।  प्राचिन काल देखि नै प्रसिद्ध संस्कृतिको रुपमा रहिआएको हेदैँ आङ्ग सिरिङ्ग हुने यो यो नाच गुल्मी, पाल्पा, अर्घाखाँचि र पश्चिम बाग्लुङमा लोकप्रिय छ ।

गुल्मी जिल्लामा अत्यन्तै लोकप्रियता रहको यो नाचको हुँगा, छत्रकोट देवालय चोयगा, अर्जै, इस्मा, धुर्कोटवस्तु, चारपाला लगाएतका स्थानमा प्रस्तुत गर्ने परम्परा रहेको छ । यस क्षेत्रमा लागग्ने सरायँ मेला हेर्न अन्य जिल्लाबाट समेत पुग्ने गरेको पाइन्छ ।

परम्परादेखि नै कोजाग्रत पूर्णिमाको दिन गुल्मीको छत्रकोट देवालय चोएगा लगाएतका क्षेत्र सहित पाल्पाको लिपिनदेबी, छहरा, भूवनपोखरी, बौघागुम्बा, देउराली लगाएतका शक्तिपिठ तथा कोटहरुमा यो एतिहासिक सरायँनाच प्रस्तुत गर्ने परम्परा छ । त्यस्तै गरि अर्घाखाँचीको अर्घामैदान, खाँचिकोट, ठाडा, असुरकोट, राँगामारे, गोखुङ्गा, गुल्मीको हुँगा, पल्लिकोट, धुर्कोट, पुर्कोट, इस्मा, अर्जै, अम्मरपुर, नयाँगाउँ, बडागाउँ, चारपाला, जिमी, बाग्लुङको गल्कोट, कुस्मिसेरा, काँडेबास, राङखानी सहित प्युठानका केही कोट तथा शक्तिपिठहरुमा पनि यो सरायँ नाच देखाउने गरिन्छ । कतिपय स्थानमा भने पछिल्लो समय यो नाच पूर्ण रुपमा नै लोप भएर गएको छ ।

केही वर्ष देखि गुल्मी पाल्पा लगाएतका स्थानबाट बसाई सरेर अथावा रोजगारी/ब्यवसायको शिलशिलामा आएकाहरुले रुपन्देही लगाएतका अन्य जिल्लामा पनि कहिलेकाही प्रस्तुत गर्ने गरेका छन् । गुल्मी हुँगाको सरायँ नाच यसअघि काठमाडौँमा पनि प्रस्तुत गरिएको थियो । मेला महाेत्सवरहरूमा पनि अहिले प्रस्तुत गर्ने चलन छ ।

खास गरी बडा दशैँको अबसरमा प्रस्तुत गरिने यो नाच पछिल्लो समय लोपोन्मूख हुँदै गएको छ । स्वदेशमा रोजगारीको अभावका कारण अधिकांश युवा बिदेश पलाएन हुँदैगएको र केही बाँकी रहेका युवाले पनि यसप्रति खासै चासो नराख्दा ऐतिहासिक महत्व बोकेको यो परम्परा संकटमा परेको हो । अर्कोतिर आजभोलि उचित संरक्षण हुन नसम्दा कोट तथा शक्तिपिठ मन्दिरहरुबाट पूराना हातहतियार ढाल तरबार भाला लगाएतका सामाग्री हराउँदै गएका छन् । ऐतिहासिक महत्व बोकेको यो नाच संरक्षणमा सरोकारवाला पूरातात्व बिभागले बिशेष जोड दिनु जरुरी छ ।

प्रकाशित : मङ्गलबार, असोज ३०, २०७५१०:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नयाँ नोटसँगै नक्कली नोट पनि देखिन थाले ! कसरी चिन्ने नक्कली नोट ?