५ वर्षदेखि फरार बैंकर ज्ञवाली भारतमा जोगीको भेषमा भेटिए

Leaderboard Banner

काठमाडौं : एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी टप बैंकरमा गनिन्थे ।

सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन ।

बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौँ घोटाला भएको खुल्दै गयो । यो खबर आज शनिबार प्रकाशित नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

जोगीको भेषमा भेटिए ज्ञवाली
फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन ।

लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा ।

प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए ।

लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई गाह्रो भयो । तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी छाड्यो ।

शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस ग-यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरियो ।

तीनवटा मुद्दामा दोषी ठहर
ज्ञवालीलाई अदालतले तीनवटा मुद्दामा दोषी ठहर गरिसकेको छ । तीनैवटा मुद्दामा तत्कालीन किस्ट बैंकसँग सम्बन्धित छन् ।

बैंकिङ कसुर मुद्दामा ४ करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरिवाना र ४ वर्ष कैदको सजाय भएको छ । १३ जेठ ०७३ मा तत्कालीन पुनरावेदन अदालत पाटनले सो फैसला गरेको थियो ।

त्यस्तै, किर्ते जालसाझी मुद्दामा २९ लाख ७७ हजार तीन सय ५६ रुपैयाँ जरिवाना भएको छ । ताराकुमार भट्टचलने दायर गरेको लेनदेन मुद्दामा उनलाई १ करोड ५५ लाख जरिवाना र २ वर्ष कैद सजाय भएको छ ।

सो मुद्दामा म्याद तामेल भइनसकेकाले उनलाई पुनरावेदन गर्ने ठाउँ भने छ ।

कमल सिटौलाको नाममा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकमा ६३ हजार ३ सय ४८ कित्ता सेयर रहेको सकर्ते कागजपत्रका आधारमा ५ करोडभन्दा धेरै कर्जा दिएका थिए ।

कर्जा नतिरेपछि सेयर लिलाम गर्दा त्यति सेयर नै नभएको खुल्यो । घटना राष्ट्र बैंकमा पुग्यो भने उसले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्राचार ग-यो ।

थप अनुसन्धानको क्रममा ज्ञवालीले अनियमित रूपमा जम्को प्रकाशनलाई पनि करोडौँ कर्जा दिएको खुल्यो । जुन कम्पनी किशोर ढकाल र श्रीमती गौरीको नाममा थियो ।

सिआइबीले श्रीमतीलाई पक्राउ गरेपछि ज्ञवाली फरार भएका थिए । फरार रहेकै वेलामा उनले किस्ट बैंकमा रहेको आफ्नो सेयर बिक्री गरे । किस्ट बैंकलाई प्रभु बैंकले खरिद गरिसकेको छ ।

प्रकाशित : शनिबार, असोज २०, २०७५०७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?