चितवनमा ६ दिनमै चार महिला बलात्कृत, बलात्कारीलाई कुन देशमा कस्तो सजाय ?

Leaderboard Banner
प्रनिश थापा  
चितवन , १७ असोज । साउन दोस्रो साता कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया नाबालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । साथीको घरबाट ‘होमवर्क’ गरेर फर्कंदै गर्दा बलात्कारीको फन्दामा परेकी बालिकाको शव उखुबारीमा फालिएको तस्वीर सार्वजनिक भएपछि त्यसले सबैलाई स्तब्ध बनायो । दोषीलाई सजाय दिन र बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज चौतर्फी रूपमा उठ्न थाल्यो । तर, घटनाको करीब तीन सातापछि पनि प्रहरीले अपराधमा संलग्नलाई कसैलाई पक्राउ गर्न सकेको छैन । त्यसयता पनि देशका विभिन्न भागमा बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
तर; सरकार, विभागीय मन्त्रालय गृह र संसदको निष्क्रियता भने आश्चर्यजनक छ । हरेक दिन औसत तीन जना महिला बलात्कृत भइरहेको समयमा बलात्कार जस्तो जघन्य अपराधको प्रत्यक्ष असर चितवनमा समेत देखापरेको छ । जिल्लामा बितेको ६ दिनको अवधिमा चार बालिका बलात्कृत भएका छन् । चितवन प्रहरीले दिएको उक्त तथ्यांकलाई कोल्ट्याउने हो भने, यसरी बलात्कृत हुनेमा ३ वर्षीया, ७ वर्षीया बालिका, १५ वर्षीया किशोरी र बर्ष ४५ को मानसिक सन्तुलन ठिक नभएकी महिलासम्म रहेका छन् । बलात्कारमा संलग्न भएको आरोपमा चितवन प्रहरीले देखाएको सक्रियताको आधारमा १४ बर्षिया नाबालकदेखी ४५ बर्षिया युवकसम्मको संलग्नता रहेको भेटिएको छ । यी सबैका दोषीलाई प्रहरीले पक्राउ गरिसकेको भए पनि एक बालिकालाई बलात्कार गर्ने अपराधी भने यो समाचार तयार पार्दासम्म पक्राउ परेला छैनन् ।
प्रहरीको सक्रियताकै बाबजुद सबै बलात्कारी प्रहरी नियन्त्रणमा त आएको छ । तर, एक जना अझै फरार छन् । पीडितको अपुष्ट जानकारी र उजुरीका कारण प्रहरीले उक्त नतिजा हात पार्न नसकिएको बताइएको छ । प्रहरीका अनुसार ती घट्नाका बिषयमा समेत आवश्यक रूपमा अनुसन्धान गरिरहेको छ । बलात्कारीलाइ प्रहरीले संरक्षण दिएको चौतर्फी आवज उठिरहदा चितवनमा भने, एसपी सुशील सिंह राठौरले एक जना अभियुक्त बाहेक सबै अभियुक्तलाई पीडितका तर्फबाट उजुरी परेको २४ घण्टा भित्रै पक्राउ गरेर उल्लेखनीय कार्य गर्न सफल हुनु नैै आफ्नु कमान्डको प्रहरीले निर्वाह गरेको कुशलतापुर्वक कार्यले नै सबै बलात्कारी नियन्त्रणमा आएको बताउँछन् ।
गृहमन्त्रीको गृह जिल्लामा नै बलात्कार बढेपछि ……
गृहमन्त्री रामबहादुर थापा बादलको गृह जिल्लामा पनि अपराधसम्बन्धी तथ्यांक डरलाग्दो छ । चालू आर्थिक वर्षको २ महिना १५ दिनको अवधिमै १८ वटा घटना भएका छन्, जसमा २२ आरोपित पक्राउ परेका छन् भने १ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरले जानकारी दिए ।
यस्तो छ , शृङ्खलाबद्ध बलात्कारको घट्नाक्रम ।
• घट्ना :- १ । असोज ११ गते बिहीबार राप्ती नगरपालिका १ बस्ने अन्दाजी बर्ष १५ की एक बालिका घरभित्रै सुतिरहेको अवस्थामा बलात्कृत भइन् । भूकम्पले भत्किएपछि बन्दै गरेको नयाँ घर बाहिर अभिभावक सुतेका थिए भने पीडित बालिका भित्र सुतेकी थिइन् । दुई जना युवाले आफूलाई बलात्कार गरेको भन्ने जाहेरी बालिकाले दिए पनि ती बलात्कारी को हुन् भन्नेबारे पीडितले नै पुष्टि गर्न नसकेपछि बलात्कारी नियन्त्रणमा आउन सकेको छैनन् । पीडितकी आमाले गत, शुक्रबार चितवन प्रहरीमा जाहेरी दिएकी थिइन् । यद्यपि , उक्त जाहेरीमा पीडक लाई आफू लाई नचिन्ने बयान प्रहरीलाई दिएपछि प्रहरी स्वयं नै यतिबेला अचम्मित बनेको छ भने ‘पीडितले नै घटनाको विषयमा यथार्थ जानकारी नदिदा अनुसन्धान प्रक्रियालाई समेत अगाडि बढाउन सक्ने अवस्थामा नरहेको प्रहरी स्रोतको भनाइ छ ।
• घट्ना :- २ । यस्तै, असोज १२ गते शुक्रबार चितवन भरतपुर महानगरपालिका ११ पोखरीचोक बस्ने वर्ष ७ का एक बालिका लाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १४ बर्षिया बादल न्यौपानेलाई असोज १३ गते शनिबार प्रहरीले पक्राउ गरेको छ । ट्युसन पढ्न जाने क्रममा ती बालकले आफूलाई पटकपटक यौन दुव्र्यवहार गरेको भन्दै बालिकाले अभिभावकसँग भनेपछि घटना सार्वजनिक हुन पुगेको थियो । कक्षा २ मा अध्ययनरत ती बालिका कक्षा १० मा अध्ययनरत न्यौपानेले ट्युसन पढाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पीडकविरूद्ध बालिकाकी आमाले असोज १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवनले असोज १३ गते शनिबार उनलाई पक्राउ गरेको बताएको छ ।
• घट्ना :-३ । यस्तै, असोज १३ गते शनिबार माडी नगरपालिका १ बस्ने मानसिक सन्तुलन ठीक नभएकी ४५ बर्ष की एक महिला बलात्कृत भएकी छन् । सोही ठाउँ बस्ने एक युवकले ती महिलालाई नजिकैको जंगलमा लगी करणी गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना लगत्तै पीडितकी छोरी वर्ष २३ ले असोज १५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवनले असोज १५ गते सोमबार माडी नगरपालिका १ बस्ने वर्ष ४५ को वासुदेव परियारलाई पक्राउ गरेको हो ।
• घट्ना :- ४ । यस्तै, असोज १४ गते आइतबार खाना खाने क्रममा होटल सञ्चालककी तीन बर्षीया छोरीलाई करणी गरेको भन्दै भारतीय ट्रकमा काम गर्ने वर्ष १९ का जाहिर आलमलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । भरतपुर महानगर २९, जुगेडीमा असोज १४ गते पीडितकी बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको बताइएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि असोज १५ गते भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
पाँच बर्षमा ३८ प्रतिशतभन्दा बढी बलात्कार घट्नामा वृद्धि ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रीय व्यवस्थामा प्रवेश गरेको छ । केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षा व्यवस्थापन गर्ने निकायहरू तैनाथ छन् । तर, यहाँ स्वर्गीय निर्मला पन्त, श्रेया सुनार जस्ता हजारौँ चेलीहरू अझै सुरक्षित छैनन् । नेपाल प्रहरीको तथ्याङ्क हेर्दा विगत पाँच वर्षमा महिला तथा बालबालिकासम्बन्धी घटना ३८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसमा बलात्कारसम्बन्धी घटना पनि समावेश भएको छ । वि.सं २०७० देखि २०७४ सम्मको अपराधको घटनाहरू ३८ प्रतिशतले वृद्धि हुनुले हाम्रो कमजोर सामाजिक चेतना, फितलो सुरक्षा व्यवस्था र न्यायिक सम्पादनको अवस्था लाई उजागर गरेको छ । नेपालले २२ अप्रिल १९९१ मा महिला विरुद्ध हुनै सबै खालको भेदभाव अन्त्य गर्ने सम्मेलनमा सहमती जनाएको छ । यस्ता किसिमका दर्जनौँ सम्मेलनमा हस्ताक्षर गरे पनि जबसम्म अबोध चेलीहरू सुरक्षित महशुस गर्न पाउँदैनन् तबसम्म कुनै पनि हस्ताक्षरको अर्थ रहँदैन । नेपालमा बलात्कार एक आफैमा सबैभन्दा कम उजुरी पर्ने अपराधमा पर्छ । बलात्कारको घटनामा अधिकांश किशोरीहरू पीडित छन् । किशोरीहरू उजुरी दिन आफैलाई सुरक्षित ठान्दैनन् । आफ्नो परिवार, नातागोता र समाजको डरले उजुरी दिन हिच्किचाउँछन् । उनीहरू घटनालाई बाहिर ल्याउँदा दोहोरो पीडामा पर्छन्, एक बलात्कारको अर्को सामाजिक लाञ्छनाको । बलात्कारबाट पीडितहरू प्रहरी समक्ष गएर उजुरी दिनु एक आफैमा चुनौतीको विषय हो । उजुरी दिएमा पनि पीडकले कानुन अनुुसारको सजाय पाउनेमा पीडित ढुक्क हुने अवस्था छैन । शक्तिको दुरुपयोग, राजनीतिक संरक्षण, आर्थिक प्रलोभन, नातावाद, कृपावाद जस्ता प्रवृत्ति पीडितको न्याय प्राप्तिको तगारो बनेको छ ।
मुख्यालयले भन्यो : दैनिक तीन जना महिला बलात्कृत ।
प्रहरी प्रधान कार्यालयले दैनिक तीन जना महिला बलात्कारको शिकार बनिरहेको तथ्यांक सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा बलात्कारका घटना ३० प्रतिशतले वृद्धि भएका छन् । दिनहुँ कलिला बालिकादेखि अशक्त वृद्धा समेत ‘पुरुष हवस’ को शिकार बनिरहेको खबर आइरहेका छन् । कैयौं घटनामा बलात्कारपछि बिभत्स हत्या भएकोे छ । बलात्कार जस्तो जघन्य अपराधको कहालीलाग्दो यो आँकडाले समाजको दुर्दान्त तस्वीर उजागर गरेको छ । शिशुदेखि वृद्धासम्म को, कहाँ, कतिखेर बलात्कारको शिकार हुने हो, ठेगान छैन । घर, कार्यालय, सडक, मेलापात, खेतबारी जताततै असुरक्षित हुन थालेका छन्, महिला । बलात्कारका घटनालाई इज्जत–प्रतिष्ठा सँग जोड्दै सकेसम्म ढाकछोप गर्ने हिजोको सोच बदलिएर दोषीलाई दण्डित गर्नुपर्ने पक्षमा देखिएको सामाजिक जागरुकता र प्रहरीको समेत सक्रियताले कहालीलाग्दो यो ग्राफ बढेको देखिएको एकथरीको मान्यता छ । नेपाल प्रहरी अपराध अनुसन्धान विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष (आव) २०७३/७४ मा १ हजार १३१ महिला बलात्कृत भए । यो तथ्यांक प्रति वर्ष बलात्कृत महिलाको हालसम्मकै प्रहरी रेकर्डमा जनिएको सबैभन्दा उच्च आँकडा हो । आव २०५३/५४ मा ११२ घटना प्रहरीकोमा दर्ता भएकोमा २० वर्षमा यो आँकडा झण्डै १० गुणाले बढेको देखिन्छ ।
बलात्कार भनेको के हो ?
साधारण शब्दमा बलपूर्वक यौन सम्बन्ध स्थापित गर्नुलाई ‘बलात्कार’ भनिन्छ । जब कुनै पनि व्यक्तिले आवेगमा आएर वा योजनाबद्ध रूपले बलपूर्वक वा लागूपदार्थ खुवाएर विपरीत लिंगीस“ग यौनक्रिया गर्छ भने त्यसलाई बलात्कार (अंग्रेजीमा रैप) भनिन्छ । बलात्कारीले यौनक्रिया गर्नका लागि पीडितलाई हतियारले वा मुक्का तथा खुट्टाले पिट्ने, कुट्ने, घाइते बनाउने तथा मार्ने कार्यसमेत गर्छन् । बलात्कार एउटा कामुक विचलनका साथै कानुनी रूपमा अपराध हो । साधारणतया बलात्कार दुई प्रकारका हुन्छन्ः व्यक्तिगत र सामूहिक । कुनै व्यक्तिले डर धाक देखाएर वा बलपूर्वक महिलास“ग यौनक्रिया गर्छ भने त्यसलाई व्यक्तिगत बलात्कार भनिन्छ । यदि दुई वा दुईभन्दा बढी व्यक्तिले बलपूर्वक यस्तो कुकृत्य गर्छन् भने त्यसलाई सामूहिक बलात्कार भनिन्छ । बलात्कार भनेको कसैको मन्जुरी बिना करकाप, डरत्रास धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनसम्पर्कलाई बलात्कार भन्ने गरिन्छ । त्यसैगरी उमेर नपुगेका ब्यक्तिलाई ललाईफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कारकै रूपमा लिईन्छ । तसर्थ, यस्तो क्रीयाक्रलाप हुन नदिन पीडित आफैं चनाखो हुनुपर्ने हुन्छ । हिजोआज बलात्कार शब्द बढी भद्दा लाग्ने र यसले बलपूर्वक गरिएको यौनक्रियालाई मात्र इंगित गर्ने हुनाले यसको सट्टामा यौन दुव्र्यवहार (सेक्सुअल अब्युस्) शब्द प्रयोग गरिन्छ ।
बलात्कारको घट्ना बढ्नुका केही तथ्य , यस्तो छ ।
आफुलाई मात्र सोच्ने, भोलिको कुराको ख्याल नराख्ने र उसले गरेका कार्यले अरुलाई कस्तो असर गर्छ भनेर नसोच्ने व्यक्ति बाट बलात्कारका घटना दिनानुदिन भइरहेका छन् । यस्को
अलावा मानसिक सन्तुलन बिग्रेको नभई, मानसिक कमजोर भएको, सानैदेखि सुनेका कुराबाट प्रभावित भएको या आफै बलात्कृत भएको छ भने त्यसले पारेको प्रभावबाट पनि बलात्कारका घटना हुन्छन् र, इन्टरनेटको माध्यमबाट अश्लिल भिडियोको प्रभावबाट पनि यस्ता घटना हुने गरेको देखिन्छ ।
कस्ता व्यक्ति बलात्कृत हुन्छन् ?
जसले प्रतिकार गर्न सक्दैनन् त्यस्ता व्यक्ति बलात्कृत हुने गरेको देखिन्छ । जस्मा अधिकांश बालिका र बृद्धा महिला पर्ने गर्छन् । पहिले कुरा त बालिका र वृद्धामाथि मन्द मानसिकता भएका व्यक्तिले बलात्कार गर्छन् । किशोरीहरूमाथी हुने बलात्कार भने अलि फरक छ । किशोरी वा युवा महिलामाथी हुने बलात्कारमा एउटा केटा मात्रै दोषी हुँदैन, त्यसमा त्यो बलात्कृत हुने किशोरी या महिलाको पनि दोष हुन्छ । जबसम्म हाउभाउ त्यो स्तरको हुँदैन तबसम्म युवा महिला वा किशोरी बलात्कृत हुँदैनन् ।
बलात्कारका घटना हुने कारण  ?
मुख्य कारण आफ्नो सेक्सुअल डिजायरलाई नियन्त्रण गर्न नस्कने व्यक्तिहरुबाट बढी मात्रमा बलात्कारका घटना हुने गर्छ ।
पहिलोे कारणः व्यक्तिको मानसिक अवस्था । व्यक्ति मानसिक रुपमै विखण्डित छ भने उसले तत्कालको अवस्थालाई मात्र हेरेर बलात्कार गर्छ । व्यक्तिको बौद्धिक आइक्यु, सामाजिक आईक्यु र इमोशनल आईक्यु व्यालेन्समा रहन्छ भने उ बाट कुनै पनि आपराधिक घटना हुँदैन ।
दोश्रो कारणः बदलाको भावनाले बलात्कारका घटना भएको पनि देखिन्छ । आफुले मन पराएको केटीले अरुनै केटालाई मनपराएको भन्दै उक्त केटीलाई आफु बिरामी छु भनेर आफ्नै घरमा बोलाएर केटीलाई बलात्कार गरेको घटना पनि छन् ।
तेश्रो कारणः परिवार र विद्यालयबाट यौन शिक्षाका बारेमा राम्रो जानकारी नपाउँदा पनि यस्ता घटना हुने गरेका छन् ।
चौथो कारणः स्वयं केटी मान्छे आफैं सजग हुन नसक्दा पनि बलात्कारका घटना भएका छन् ।
पाँचौं कारणः हाम्रो घरपरिवार र विद्यालयमा सुरक्षित कसरी हुने भन्ने सिकाई हुँदैन र प्रतिवाद गर्ने महिलाहरूको आवाजलाई नै दवाउन खोजिन्छ । एउटा महिला बलात्कृत भइन् र उनले आवाज उठाईन भने उनलाई नै गलत मान्ने र न्याय नपाउने भएका कारण पनि बलात्कारका घटनाहरु दिनप्रति दिन भइरहेका छन् । मुख्य कारण कमजोर न्यायप्रणली, बलात्कारका घटनाका दोषीले पाईरहेको उन्मुक्ति नै हो ।
आफ्नै घरमा किन सुरक्षित छैनन्, बालिका र वृद्ध ?
सबैको मुख्य कारण भनेको आफुभित्रको यौन तृष्णा, जस्लाई जुन तरिकाबाट पनि तृप्त पार्न खोज्नु नै हो । यौन पिपाषुहरुले आफ्नो छोरी, दिदी, बहिनी वा आफन्त केही देख्दैनन् बस् हवस पुरा गर्ने बाटो मात्र खोज्छन् । र बाहिर भन्दा घरमा भएको घटनामा आफन्त पनि चुप बस्छन् । यसकारण घरभित्र झन् बलात्कारका घटना मौलाएको छ । पारिवारले नै यस्ता घटना लाई ढाकछोप गर्दा बलात्कारका घटना बढिरहेका छन् ।
कसरी न्यूनीकरण गर्न सकिन्छ यस्ता घटनालाई ?
मुख्य रुपमा यौन शिक्षालाई खुलेर सिकाइनुपर्छ । यौन शिक्षाका विषयमा खुलेर बहस हुने हो भने यस्ता घटनामा कमि आउँछ । त्यसको लागी घरबाटै सुरु हुनुपर्छ । आमा बाबुले आफ्ना छोराछोरी दुबैलाई समानव्यवहारका साथै उनीहरु भित्र भएका यौन जिज्ञाशालाई सहज रुपमा खेलेर जानकारी दिनुपर्छ । त्यस्तै विद्यालयमा यौन शिक्षाका बारेमा खुलेर सिकाई हुनु जरुरी । साथसाथै सेल्फ डिफेन्सका कुराहरु पनि सिकाईनुपर्छ । जसका कारण सजिलै कुनै पनि केटी मान्छे बलात्कृत हुन पाउँदिनन् ।
सरकारी तवरबाट के गर्नुपर्छ ?
हरेक विद्यालयमा यौन शिक्षाका बारेका खुलेर पढाउने व्यवस्था हुनुपर्छ । राज्यका कानुन व्यवहारमै आउनुपर्छ । कार्यान्वयन भएन भने कानुन बनाएर मात्रै केही पनि हुँदैन । पीडिक पक्ष खुलेआम हिडिरहने र पीडित पक्ष लुकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।
फितलो कानुनले बलात्कारको घट्ना बढ्यो ।
पछिल्लो समय नेपालमा दैनिकजसो बलात्कारका समाचार आइरहेका छन् । बलात्कार आफैंमा निकृष्ट कार्य हो नै, सञ्चारमाध्यममा आएका कतिपय घटना त अत्यन्त दर्दनाक र विभत्स प्रकृतिका देखिन्छन् । अढाइ वर्षकी अवोध नाबालिका देखि ७५ वर्षीया वृद्धासम्मको बलात्कार भएको घटना बारम्बार सार्वजनिक भइरहेका छन् । नेपालमा फितलो कानुनका कारण अपराधीले कम सजाय पाउने, सजायविनै उम्किने कारण बलात्कारका घटना वृद्धि भइरहेका आवाज यतिखेर उठिरहेको छ । बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्छ भन्ने माग पनि सुनिन थालेको छ । अधिकारकर्मीका साथै नागरिक स्वतन्त्र रूपले सडकमा उत्रिएर बलात्कारीलाई फाँसी दिन माग गरिरहेका छन् । बलात्कारीलाई कलिला बालिकामाथि हुने यौनशोषणलाई गम्भीर अपराध मानिन्छ । कतिपय देशले बालिकामाथि हुने यौन शोषणलाई बलात्कार भन्दा पनि जघन्य अपराध मान्छन् । संसारभर बलात्कारको मुद्दामा अलगअलग सजायको व्यवस्था छ । यस्ता कैयौँ रिटेसनिस्ट देश छन्, जहाँ बालिकामाथि यौन उत्पीडन हुँदा मृत्युदण्डको सजाय दिइँदैन तर कडाभन्दा कडा सजाय हुने कानुनी व्यवस्था हुन्छ। सन् २०१६ मा बालिकामाथि हुने बलात्कारका घटना विश्वभरका देशले बलात्कारीलाई दिने सजायका विषयमा हक ’सेन्टर फर चाइल्ड राइट’ले एउटा रिपोर्ट तयार पारेको थियो । उक्त रिपोर्टले बलात्कारको घटनामा प्रत्येक देशमा फरक फरक सजाय दिने देखाउँछ ।
कुन देशमा कस्तो सजाय ?
नेपाल :
नेपालमा १० वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेमा १० देखि १५ वर्षसम्म कैद, १४ वर्षदेखि १६ वर्षसम्मका बालिका वा किशोरीलाई बलात्कार गरेमा आठदेखि १२ वर्षसम्म कैद, १६ देखि २० वर्षसम्मको युवतीलाई बलात्कार गरे पाँचदेखि आठ वर्षसम्म कैद र २० वर्षदेखि माथिका महिलाहरू लाई बलात्कार गरेमा पाँचदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।
भारत :
भारतमा ‘रियरेस्ट अफ द रियर’को घटनामा फाँसीको सजाय सुनाइन्छ । बालिकामाथि हुने बलात्कारमा ‘पोक्सो एक्ट’ अनुसार मुद्दा दायर हुन्छ । यो कानुनमा बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई १० वर्षदेखि आजीवन कारवासको सजायको प्रवाधान छ । तर मध्यप्रदेश, राजस्थान, हरियाणाका राज्य सरकारले १२ वर्ष भन्दा कम उमेरका बालिकामाथि हुने बलात्कारका घटनामा मृत्युदण्डको सजाय हुने व्यवस्थासहित विधेयक बनेको छ । विधेयक कानुन बन्न बाँकी छ । दिल्लीमा यस्तै कानुन पारित गर्नका लागि दिल्ली महिला आयोगकी अध्यक्ष अनशन बसेकी छन् । उनले बलात्कारीलाई ६ महिना भित्र फासी दिनु पर्ने माग गरेकी छन् । केन्द्रीय महिला एवम् बाल विकास मन्त्रालय मध्यप्रदेश, राजस्थान र हरियाणाका नयाँ विधेयकलाई समर्थन गर्दै राष्ट्रिय स्तरमा पोक्सो कानुनमा परिमार्जन गर्ने कुरा गरिरहेको छ ।
मलेसिया :
मलेसियामा बालबालिकामाथि हुने यौन हिंसाका अपराधीलाई ३० वर्ष जेल र कोर्रा लगाउने सजायको प्रावधान छ ।
सिंगापुर :
सिंगापुरमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई २० वर्षको जेल, कोर्रा लगाउने र जरिवाना तिराउने सजाय छ ।
अमेरिका :
अमेरिकामा पहिला बालिकामाथि हुने यौन हिंसामा मृत्युदण्ड हुने कानुनी प्रावधान थियो । तर, सन् २००८ को क्यानेडी अर्थात लुइसियाना काण्डले मृत्युदण्डको सजायलाई असंवैधानिक घोषणा गरियो । जुन घटनामा पीडितको मृत्यु भएको हुँदैन त्यस्तोमा मृत्युदण्ड दिनु सजाय अपराध भन्दा बढी भएको भन्दै अदालतले खारेज गरेको हो । त्यसपछि मृत्यु दण्डको सजाय छैन । तर अमेरिकामा बालबालिकामाथि हुने बलात्कारका घटनामा राज्य अनुसार फरक फरक कानुन छ ।
फिलिपिन्स :
सबैभन्दा कडा कानुन भएको देश हो फिलिपिन्स । बालिका माथि यौन शोषण भएको प्रमाणित भएमा ४० वर्षसम्मको जेल सजाय हुन्छ ।
अस्ट्रेलिया :
अस्ट्रेलियामा बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई कम्तीमा १५ वर्षदेखि बढीमा २५ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था छ ।
क्यानडा :
क्यानडामा बालयौनशोषण गर्नेलाई १४ वर्षको जेल सजाय हुन सक्छ ।
इंग्ल्याण्ड :
बालिकामाथि बलात्कार गरेको प्रमाणित भएमा इंग्ल्याण्डमा छ वर्षदेखि १९ वर्षसम्म जेल अथवा आजीवन कारावासको सजाय हुन्छ ।
जर्मन
जर्मनमा बलात्कारपछि बालिकाको मृत्यु भएमा आजीवन कारावासको सजाय हुन्छ । बलात्कारका लागि मात्रै १० वर्षसम्मको सजाय हुने कानुनी प्रवाधान छ ।
दक्षिण अफ्रिका :
दक्षिण अफ्रिकामा बालिकालाई बलात्कार गरेको दोषी पाइएमा पहिलो पटक १५ वर्ष, दोस्रो पटक २० वर्ष र तेस्रो पटक २५ वर्षसम्म कैद हुने व्यवस्था छ ।
साउदी अरेबियाँ :
साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा कोराले हानेर बेहोश पारी हत्या गरिन्छ ।
चीन :
चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी र कोहिकोही अंगभंग गरिदिने गरिन्छ ।
 अफगानिस्तान :
अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।
फ्रान्स :
फ्रान्समा बलात्कारबाट शिकार भएको महिलाकोअवस्था हेरी १५,२० वर्ष वा आजीवन जेल सजाय हुन सक्छ ।
उतर कोरिया:
उतर कोरियामा बल्त्कारीलाई फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।
इंग्ल्याण्ड र वेल्स :
इंग्ल्याण्ड र वेल्समा बालबालिकामाथि हुने बलात्कारका घटनामा ६ देखि १९ वर्ष वा आजीवन जेल सजाय हुने व्यवस्था छ । एमनेस्टी इन्टरनेसनलको २०१३ को रिपोर्टअनुसार आठ देशमा बालबालिकाविरुद्धकाअपराधीहरूलाई मृत्युदण्डको सजाय दिने कानुनी प्रावधान छ । चीन, नाइजेरिया, कंगो, पाकिस्तान, इरान, साउदी अरब, यमन र सुडानले बालबालिका विरुद्धका अपराधीलाई मृत्युदण्ड दिने गरेको छ ।
नेपालको कानुन , दैवले जानुन् ।
नयाँ मुलुकी अपराध संहितामा यस्ता जघन्य बलात्कारीका लागी थप पाँच वर्ष सजाय बढाइ जम्माजम्मी २० वर्षको अधिकतम सजायको व्यवस्था गरिएको छ र सामूहिक बलात्कारमा थप ५ वर्षको सजाय यथावत् नै राखिएको छ । त्यस्तै, हाल प्रचलित ऐनमा रहेको (ज.क. महलको ८ नम्बरमा भएको ‘आफू बलात्कृत हुने अवस्थामा सतित्व रक्षाका लागि वा बलात्कार भइसकेपछि उक्त बलात्कारीलाई एक घण्टाभित्र मारिदिने) प्रावधान नयाँ ऐनले हटाएको छ । त्यस्तै , हाडनाता करणीमा बाहेक हदम्यादको कुरामा पनि नयाँ ऐन अनुदार नै छ । यहींं गएको १ भदौदेखि लागू भएको ‘मुलुकी अपराध संहिता ऐन–२०७४’ को दफा २१९ को उपदफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ । न्यूनतम कैद–सजाय नतोकी ‘पाँच वर्षसम्म’ भन्दा एक घन्टा मात्रै पनि कैद–सजाय गर्न पाइने भएकाले अझ् यो कमजोर बनेको र यस्तो कानूनमा तल्लो हद राख्न उपयुक्त हुने अधिकारकर्मीहरूको भनाइ छ । यस्तै,नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ मा जबरजस्ती करणीसम्बन्धी कानुनको व्यवस्था गरेको छ । जसमा कुनै पनि प्रकारको करकाप, प्रलोभन, धम्की, करणी गरेमा घटनाको प्रकृतिअनुसार सजायको व्यवस्था गरेको छ ।दस वर्षभन्दा कम उमेरको बालिकालाई जबरजस्ती करणी गरेको पाइए १६-२० वर्ष, १०-१४ वर्ष उमेर समूहको बालिकाको हकमा १४–१६ वर्ष, १४–१६ वर्ष उमेर समूहको बालिकाको हकमा १२–१४ वर्ष, १६ देखि १८ वर्ष सम्मको बालिकाको हकमा १०–१२ वर्ष र १८ वर्षदेखि माथि उमेरको महिलाको हकमा १० वर्ष सजाय तोकिएको छ । उमेर समूह अनुसार फरक फरक सजायको व्यवस्था आफैमा परिपक्व देखिँदैन । खैर, कानुनमा जेजस्तो लखिए पनि यसको कार्यान्वयनको पक्ष भने निरिह छ । त्यस्तै, श्रीमानले जबर्जस्ती करणी (वैवाहिक बलात्कार) मा ३ देखि ६ महीनासम्म कैदको व्यवस्था गरियो । त्यसपछि ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन–२०७२’ ले दण्डसजाय बढाएर तीनदेखि पाँच वर्ष पुर्याएको छ । ऐनअनुसार वैवाहिक बलात्कारको उजुरीको प्रारम्भिक छानबिन बाट श्रीमतीलाई तत्काल वा मुद्दा किनारा नहुँदासम्म दुवै एकै ठाउँमा बसोबास गर्न नसक्ने अवस्था भए पतिलाई तत्काल अलग बस्ने आदेश अदालतले दिन सक्छ । यता, वैवाहिक बलात्कारलाई दण्डनीय बनाउन अधिवक्ता मीरा ढुंगानाले २०५८ सालमा हालेको रिटमा १९ वैशाख २०५९ मा सर्वोच्च अदालतले सरकारका नाममा परमादेश दियो, त्यसको चार वर्षपछि कानून बन्योे । लैंगिक समानता कायम गर्न ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन–२०६३’ मा मुलुकी ऐनलाई संशोधन गरी कसुर प्रमाणित भइसकेपछि पीडितलाई पीडकबाट मुनासिब क्षतिपूर्ती भराउने व्यवस्था मुलुकी ऐन ज.क. महल १४, (१० ग) मा गरिएको छ । तर , सफाइ पाएको व्यक्तिबाटै क्षतिपूर्ति भराउने व्यवस्था न हाल प्रचलित कानुनमा छ न अब लागू हुने नयाँ कानुनमा छ । अतः यस्तो फैसलाले कानुनको खिल्ली उडाएको कानुनका ज्ञाताहरू बताउँछन् । ‘प्रोएक्टिभ’ भनिएको यो फैसला हेर्दा अबका दिनमा बलात्कार जस्ता जघन्य अपराधका मुद्दामा कस्ता फैसला हुनेछन् ? यसले कस्तो न्यायिक संस्कृतिको विकास गर्नेछ भन्नेमा आम चिन्ता उब्जिएको छ । ‘प्रोएक्टिभ’ सम्बन्धमा एकजना कानुन व्यवसायीको भनाइ छ– ‘कानुन नभएको अवस्था वा भए पनि प्रभावहीन रहेको अवस्थामा अदालत अलि उदार भएर पहुँच नभएको वर्ग वा समुदायलाई समन्याय दिनु हो । तर, आपराधिक मुद्दामा यस्तो कुरा लागु हुँदैन ।’ यहाँ त कानुन जीवितै र प्रभावकारी रहेकै अवस्थामा त्यो पनि आपराधिक केसमा यस्तो फैसला आएको छ । यसरी सफाइ पाएकोबाटै क्षतिपूर्ति भराउनु ‘हाँडी गाउँको जात्रा’ नै हो ।
प्रकाशित : बुधबार, असोज १७, २०७५११:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निर्मला पन्तको विषय अनावश्यक उचालिएको गृहमन्त्रीको आरोप !