हुदै नभएको सबुत उत्पादन गर्दै फेक-सबुत र फेक-इन्काउन्टरको आडमा कानुनको यसरी उडाईदैछ धज्जी !

Leaderboard Banner

काठमाडौँ- गत साउन १० गते कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै सार्वजनिक गरिएका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् । उनि मात्र नभई अनुसन्धानको लागि नियन्त्रणमा लिइएका रोशनी र बबिता बम दिदीबहिनी छुटेको जानकारी प्राप्त भएको छ।

विधि विज्ञान प्रयोगशालाले दिलीपको डीएनए नमिलेको रिपोर्ट कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको थियो। प्रहरीले मुख्य अभियुक्त भनेर पक्राउ गरेको दिलिपसिंह विष्टको स्वास्थ्य परिक्षणको रिपोर्टमा पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए मेल नखाएपछि उनि छुटेका हुन्। उनी हाजिर जमानीमा छुटेको बुझिएको छ।

यस्तै कञ्चनपुर जिल्ला अदालतले अनुसन्धानको क्रममा पक्राउ परेका बम दिदीबहिनीलाई पनि रिहा गर्न आदेश दिएको हो। रोशनी बमलाई हाजिर जमानीमा छाडिएको हो। बबिता बमलाई भने ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएसँगै रिहा गरिएको छ।

प्रहरीले मुक्य अभियुक्त भनिएका विष्ट निर्दोष सावित भएपछि कञ्चनपुर घटनाको अनुसन्धानमा रहेका प्रहरीहरु माथि गम्भीर प्रश्न उठ्न थालेको छ। एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालिसकेको छ।

विष्ट निर्दोष भएको सावित भएसँगै नेपाल प्रहरीसँग नेपाली सर्वसाधारणले डराउनु पर्ने अवस्था देखिएको छ। घटनामा संलग्न नभएको व्यक्तिलाई समेत झुठो सबुत खडा गरेर जुनै पनि घटनामा दोषी सावित गर्ने प्रहरी पछाडी नपर्ने देखिएको छ।

यस घटनामा प्रहरीले आफ्नो असफलता लुकाउनको लागि गलत अभियुक्त खडा गरेको हो वा हत्यारासँग मिलेर हत्यारालाई उन्मुक्ति दिनको लागि गलत अभियुक्त खडा गरेको भन्ने बारे सशंकित हुन पर्ने अवस्थाको शिर्जना भएको छ। तर यी दुवै कारण मध्ये जुनै पनि एक कारणले गर्दा दिलिपसिंह विष्टलाई आरोपी बनाइएको होस्, नेपाली जनताले नेपाल प्रहरी माथि डराउनु पर्ने र सुरक्षाको प्रत्याभूत महसुस गर्न नसक्ने अवस्थाको शिर्जना भएको छ।

यस्तै केहि समय अगाडी मात्रै राजधानीको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्काको अपहरण पश्ताच हत्या गरी फरार रहेका दुई अपहरणकारीलाई मुडभेड भन्दै इन्काउन्टर गरिएको थियो। यस घटनामा पनि प्रहरी माथि आफ्नो असफलता लुकाउनको लागि फेक-इन्काउन्टर गरेको आरोप लागेको थियो। उक्त घटनामा सिन्धुपाल्चाोकका २३ बर्षीय अजय तमाङ र नुवाकोटका २२ बर्षिय गोपाल तमाङको जवाफी फाईरिङमा मृत्यु भएको प्रहरीले बताएको थियो। तर प्रहरी माथि नियोजित ढंगबाट दुवै आरोपिको फेक-इन्काउन्टर गरिएको आरोप लागेको थियो।

निशान खड्का हत्या प्रकरण र निर्मला बलात्कार प्रकरण दुवै घटनामा प्रहरीको चरम लापरवाही साथै कानुनको दुरुपयोग भएको देखिन्छ। यसै गरि पटक-पटक कानुनको दुरुपयोग हुनेहो भने नेपाली जनताले प्रहरीसँग सुरक्षित हैन आतंकित महसुस गर्नु पर्ने अवस्था देखिएको छ।

प्रकाशित : मङ्गलबार, भदौ २६, २०७५१९:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भोलि जनकपुरधाम उपमहानगरपालिकामा सार्वजनिक बिदा !