काठमाडौं : डाक्टरले उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएमा ‘जन्मकैद’ को सजाय हुने भएको छ ।
यसअघि लापरबाही तरिकाले स्वास्थ्य उपचार गर्दा बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।
अब उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए वा शरीर अंगभंग भए उपचारमा संलग्न चिकित्सकले जन्मकैदको सजाय भोग्नुपर्नेछ । यो खबर आजको ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।
यो व्यवस्था १ भदौबाट लागू हँुदै छ । उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागू गरेको हो ।
सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकहरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।
कानुन नसच्याए सेवा छाडेर घरमा बस्छौँ
सरकारले चिकित्सकलाई अपराधीझै सम्झेर कानुन ल्याएको छ । जुन कारबाही समेटिएको मुलुकी ऐन लागू हुँदै छ, त्यसले चिकित्सकको मनोबल गिराएको छ । तत्काल सुधार नगर्ने हो भने चिकित्सकले काम गर्दैनन् ।
एकातिर हामी ‘जेल उइदाउट वेल’ को कुरा गरिरहेका छौँ । अर्कोतर्फ सरकारले त्यस विषयलाई भुलेर दायाँबायाँ हुना साथ जन्मकैद सजाय दिने कानुन ल्याएको छ ।
त्यो चिकित्सकलाई मान्य हुनेछैन । राज्य चिकित्सकसँग कठोर भएको देखाएको छ । हामी सरकारलाई सच्याउन आग्रह गर्छौँ । १ भदौदेखि हामी हडताल गर्ने हैन, काम छाडेर घरमा बस्छौँ ।
दुई सय रुपैयाँ शुल्क लिएर आजीवन काराबास बस्ने कुरा हँुदैन । यो कानुनले बिरामीलाई समस्यामा पारेको छ ।
अब चिकित्सकले बिरामी जाँच गरेमा सिटिस्क्यानदेखि एमआरआईसम्म गर्नुपर्ने हुन्छ ।