डलरको पछि लागेर अमेरिकामा अकालमा ज्यान गुमाउँदै अभागी नेपाली, सुखैसुखको देश मानिने अमेरिकाको कालो पाटो पनि उत्तिकै

Leaderboard Banner

काठमाडौँ : श्रीमान् र अढाई वर्षीय छोरासँगै अमेरिका पुगेकी रचना श्रेष्ठलाई ओक्लाहोमा राज्यको अटोका सिटीको ग्यास स्टेसन नजिकैको स्टोरमा अन्धाधुन्ध ८ राउन्ड गोली हानियो ।

११ महिना अगाडि अमेरिका पुगेकी उनी अहिले टल्सा सहरको सेन्ट फ्रान्सिस हस्पिटलमा उपचारपछि डिस्चार्ज भएर आराम तंग्रिने प्रयासमा छिन् ।

ग्यास स्टेसन नजिकैको स्टोरमा भुइँ सफा गरिरहेको बेला उनीमाथि एकाएक गोली प्रहार भएको थियो । घटनालगत्तै उनको उद्धार गरेर हेलिकप्टरमा टल्सा सहरको सेन्ट फ्रान्सिस अस्पतालमा भर्ना गरियो । यो खबर ‘शुक्रबार’ नामक साप्ताहिक अखबारमा प्रकाशित छ।

रचनाका श्रीमान् कपिलले सामाजिक सञ्जालमा राखेको जानकारीअनुसार उनको गाला, पिठ्यूँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेको छ । ८ मध्ये ५ गोली निकालिएको छ ।

श्रेष्ठमाथि गोली प्रहार भएको केही समयमै स्थानीय प्रहरीले १८ वर्षका जेमन्ताज हेललाई इटोकाको बडी ह्यान्डी मार्टमा नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीमाथि अहिले लुटपाट र हत्या प्रयासको अभियोग लगाएको छ ।

रचना अस्पतालको बेडमा छिन् । यसै महिना अर्का नेपाली युवा भने अस्पतालसम्म पुग्न पनि भ्याएनन् । अमेरिका भर्जिनियाको सुनोको स्टेसनमा रहेको फ्र्याङकलिन फार्म रोड हर्नडनमा कार्यरत चितवन भरतपुरका ४० वर्षीय रेशम बजगाईंको गोली हानेर हत्या गरियो ।

डिभी परेर उनकी श्रीमती तीन वर्षअघि नै अमेरिकी गएकी थिइन् । उनी छोरी लिएर नौ महिना अगाडि मात्र अमेरिका आएका थिए । उनी सुनोको स्टेसनमा रहेको फ्र्याङ्कलिन फार्म रोड हर्नडनमा क्यासियरको काम गर्थे ।

जुलाई ४ मा प्रहरीले डकैती भएको सूचना पाएर बजगाई काम गर्ने स्थानमा पुग्दा उनको शव भुइँमा लडिरहेको पाएको थियो । प्रहरीले उनको हत्या आरोपमा १९ वर्षीय मोहम्मद ए अब्दुलाहीलाई पक्राउ गरेको छ ।

२०१८ जनवरी १८ मा २३ वर्षका मनीष पाण्डे मारिएका थिए । बन्दुक बोकेर आएका दुई जना लुटेराले फुट स्टोरमा रहेका पाण्डेलाई गोली हानी हत्या गरेका थिए ।

जोखिम कम छैन
अमेरिकामा गोली चल्नु नौलो घटना हैन । विद्यालय र सार्वजनिक स्थानहरुमा मास सुटिङ भई नै रहन्छ । सन् २०१८ मा मात्र मास सुटिङका क्रममा ४० जनाको ज्यान गइसकेको छ ।

वासिङ्टन पोस्टका अनुसार १९६६ अगस्ट १ देखि सन् २०१८ सम्ममा अमेरिकामा १ सय ५८ वटा मास सुटिङका घटना भइसकेका छन् । यस्ता घटनामा १ हजार १ सय २ जनाको ज्यान गएको छ । जसमा गर्भावस्थाकादेखि ९८ वर्षका वृद्धासम्म छन् ।

पैसाको कारोबार हुने ग्यास स्टेसन र स्टोरमा लुटपाटको उद्देश्यले आक्रमण भइनैरहन्छ । अमेरिकामा अधिकांश नेपालीले प्रत्यक्ष पैसाको कारोबार हुने यस्तै ग्यास स्टेसन र स्टोरमा भएको आक्रमणमा ज्यान गुमाउने गरेका छन् ।

अमेरिकामा लगभग तीन लाख नेपाली छन् । प्रायः हरेक वर्ष लुटेराको आक्रमणमा नेपालीले ज्यान गुमाइरहेका छन् तर यस्तो घटनामा अहिलेसम्म कति नेपालीले ज्यान गुमाइसके भन्ने एकीकृत र यकिन तथ्यांक भेट्न मुस्किल छ ।

सन् २००४ देखि २०१८ सम्ममा लुटेराहरुको आक्रमणबाट १४ नेपालीको ज्यान गइसकेको छ । यस्ता घटना अधिकांश ग्यास स्टेसन र फुड स्टोरमा भएका छन् । कार दुर्घटनामा मारिने नेपालीको संख्या पनि उत्तिकै छ ।

सन् २००९ को डिसेम्वर २६ मा अमेरिकाको वोस्टनमा सुरेन्द्र डंगोललाई लुटेराले खाद्य स्टोरमा नै गोली हानेर हत्या गरे । एक पाकिस्तानी नागरिकसँग मिलेर व्यवासाय सुरु गरेको केही हप्तामा नै उनी मारिएका थिए ।

सन २००९ को सेप्टेम्बर ३० मा अमेरिकाको दक्षिण क्यारोलिनामा मारिएका रवीन्द्र शर्माको पनि स्टोरमा कार्यरत अवस्थामा नै हत्या भएको थियो ।

राति दश बजे स्टोर प्रवेश गरेका एक सशस्त्र लुटेराले शर्मासहित एक मेक्सिकोबासी कामदारलाई हत्या गरेका थिए । ४० वर्षीय शर्माले तीन महिनाअघि मात्र कृष्ण कँडेलसँग मिलेर स्टोरको व्यवस्थापन गर्दै आएका थिए ।

सन २००९ जनवरी ६ मा अमेरिकाको टेक्ससमा जसबहादुर राई मारिए । उनलाई पनि लुटेराले नै हत्या गरेका थिए ।

बिहानीको समयमा स्टोर प्रवेश गरेका लुटेराले राईमाथि पटक–पटक छुरा प्रहार गरेका थिए । सख्त घाइते राईको जोन पिटर हस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सन २००८ को अक्टोबर ९ मा टेक्ससमा नेपाली नागरिक अशोक भट्टराई मारिए । उनी विद्यार्थी थिए ।

टेक्सासको ह्युस्टन सहरमा खाद्य स्टोरमा रात्रिकालीन समयमा काम गरिरहेका अशोकलाई १७ वर्षीय रेमन्ड रिचले गोली हानेर मारेका थिए । हत्यासँगै रिचले स्टोरबाट पाँच हजार डलरसमेत लुटेका थिए ।

हत्याको श्रृङ्खलालाई आँकलन गने हो भने अमेरिकामा अधिकांश नेपालीको हत्या टेक्ससमा हुने गरेको छ । अन्य राज्यमा पनि हत्या नभएका हैनन् तर टेक्ससमा यसको संख्या धेरै छ ।

सन् २००७ को अगस्टमा जर्जियामा विनोद श्रेष्ठ मारिएका थिए । उनी पनि खाद्य स्टोरमा काम गर्थे । उनलाई गोली हानिएको थियो । सन् २००७ को अगस्टमा बाल्टिमोरमा हिमांक कार्की, सन् २०११ को अगस्टमा रोशन भण्डारी, सन् २००५ को जुन १४ मा नै टेक्सस राज्यमा समीरा शिवाकाटीको हत्या भएको थियो ।

गोली प्रहारपश्चात् अधिकांशको ज्यान जाने गरे पनि केही भाग्यमानी पनि छन्, जो बाँचे । हलोविन चाडको साँझ आफ्नी प्रेमिकालाई अपार्टमेन्टको लाउन्ड्रीमा कुरेर बसेका बेला जाउला कार्कीलाई एक सशस्त्र लुटेराले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । उनी बाँचे ।

टेक्ससको स्टोरमा काम गर्ने रोशन श्रेष्ठ ग्यास स्टेसन र खाद्य स्टोरमा काम गर्नु जोखिमपूर्ण रहेको बताउँछन् । काउन्टरमा नगद हुने स्थानमा प्रायः लुटेराले आक्रमण गर्ने गरेको उनले बताए ।

‘रिक्स छ तर अर्को अप्सन हुन्न,’ उनले भने, ‘जोखिमै मोलेर भए पनि काम गर्नु परिहाल्यो !’

अर्का नेपाली देवेन्द्र देवकोटा फ्रिवेको स्टोरमा काम गर्न झन् गाह्रो हुने गरेको बताउँछन् । सुनसान स्थान भएकाले भनेको बेलामा प्रहरीसमेत आइनपुग्ने अनुभव सुनाउँदै उनले भने, ‘प्रायः यस्ता घटनामा अफ्रिकी मूलका संलग्न देखिन्छन् । त्यसैले अफ्रिकी मूलका ग्राहक आउँदा झन् डर हुन्छ ।’

बियरको बहानामा हत्या

हत्याको कारण त्यत्ति ठूलो देखिन्न । एक बोतल बियर लिनसमेत हत्या हुने गरेको देखिन्छ । केहीले पैसाका लागि आक्रमण गर्छन् तर पैसा त्यत्ति धेरै हुन्न ।

अमेरिकाको सिकागो, न्युयोर्क, न्युजर्सी, बाल्टिमोर, डेलवेर, एटलान्टा, टेक्सस, कोलम्बिया, साउथ क्यारोलिना, ओक्लाहामा, फिलाडेल्फियाजस्ता राज्य र सहरहरुमा ग्यास स्टेसनको काम जोखिमपूर्ण मानिन्छ । यी सहरमा काम गर्दा बुलेटप्रुफ सिसाभित्र बस्ने गरिन्छ ।

तर सबै स्थानमा यस्तो सुविधा नहुन पनि सक्छ । ग्यास स्टेसनमा २४ सै घन्टा क्लोज सर्किट टेलिभिजन क्यामरासमेत जडान गरिएका हुन्छन् । तापनि लुट्ने क्रम रोकिएको छैन ।

प्रकाशित : आइतबार, साउन २०, २०७५१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जुन जोगी आए पनि कानै चिरेका मिश्रको प्रमाणपत्र पनि भारतकै