डा केसीका १५ मध्ये ७ अनसन काँग्रेस नेतृत्वकै सरकारमा भएका हुन् त्यसैले पानी माथिको ओभनो बन्नुको अर्थ छैन

Leaderboard Banner

काठमाडौं । अनसनरत डा. केसीको समर्थनमा पहिलेदेखि नै आन्दोलन गरिरहने विवेकशील साझा पार्टीले शिक्षा र स्वस्थ्यलाई ब्यापारी र नाफाखोरको हातमा सुम्पेको भन्दै सरकार र प्रतिपक्षी दल नेपाली काँग्रेसको कडा  आलोचना  गरेको छ।

पछिल्लो समय अनसनरत डा. गोविन्द केसीको माग पुरा गर्न  भन्दै कांग्रेसले लगातार सदनमा अवरोध गर्दै आएको छ। आफ्नै नेतृत्वको सरकार हुँदा पनि थुप्रै पटक अनसन बसेका डा. केसीको माग पूरा गर्न चासो नदेखाएको कांग्रेसले यतिबेला सरकार बाहिर भएका बेला भने केसीको मागलाई मुख्य मुुद्दा नै बनाएर चर्का चर्का नारा लगाउँदै सरकारको विरोधमा सदनसँगै सडक  तताई रहेको छ।

यसैबीच विवेकशील साझाले भने बिहीबार एउटा विज्ञप्ति जारी गरेर कांग्रेस पनि सरकार जत्तिकै दोषी भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ – अहिले कांग्रेस पानी माथिको ओभनो बन्न खोज्नुको कुनै कुनै अर्थ छैन।  ‘डा. केसीका १५ मध्ये ७ वटा अनसन कांग्रेस नेतृत्वकै सरकारका बेला भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो ।’

विज्ञप्तिमा विवेकशील साझाले कांग्रेस र नेकपालाई सबै भन्दा पहिले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भित्र पर्छ भने कुरा स्वीकार गर्न चुनौती समेत दिएको छ ।

‘त्यसतर्फको प्रारम्भिक कदमका रूपमा डा केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पूरा गर्न आहृवान गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्ति

डा. केसीको सत्याग्रह र सरकारको रवैयाका बारे

सत्याग्रही डा गोविन्द केसीको अनसन त्यस्तो विन्दूमा पुगेको छ जहाँ उनको जीवनरक्षा सबैभन्दा प्रधान विषय बनेको छ। समाजवादको एउटा प्रमूख खम्बा नै स्वास्थ्यसेवालाई राज्यको दायित्वको रूपमा ग्रहण गर्नु हो। तर त्यही मागका लागि १५ पटक अनसन बसिसकेका डा केसीप्रति आफूलाई समाजवादी भन्ने सरकारले जस्तो रवैया प्रस्तुत गरेको छ, त्यसले अपराधको रेखा छुन आँटेको छ। यसै शिलशिलामा, सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय छ।

वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरू जति जिम्मेवार छन् त्यत्ति नै जिम्मेवार प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस पनि छ। उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफा-खोर व्यापारीहरूको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली काँग्रेसको सरकारको प्रमूख भूमिका थियो। अहिले नेपाली काँग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन। डा केसीका १५ मध्ये ७ वटा अनसन नेपाली काँग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली काँग्रेसकै शेरवहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो।

‘कल्याणकारी लोकतन्त्र’लाई पार्टीको मूल दर्शनका रूपमा अपनाएको विवेकशील साझा पार्टी, शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको दायित्व हो भन्नेमा विश्वास गर्दछ। विवेकशील साझा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस दुबैलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौति दिन्छ। र, त्यसतर्फको प्रारम्भिक कदमका रूपमा डा केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनु पर्छ भनि राखेको माग पुरा गर्न आह्वान गर्दछ। नेपाल कम्युनिस्ट पार्टी सरकारमा रहेकोले हाललाई त्यसको मूख्य दायित्व उनीहरूमैं निहित रहन्छ तर कम्युनिस्ट पार्टीजस्तै आफूलाई समाजवादी भन्ने नेपाली काँग्रेस पनि सो दायित्वबाट भाग्न सक्दैन।

डा केसीको जीवन तलमाथि भएको खण्डमा मूलरूपमा सत्ताधारी दल र विगतमा उनका मागहरू सम्बोधन गर्न नसक्ने प्रमूख प्रतिपक्षी दल एकजना सत्याग्रहीको जीवन समाप्त पारेको दोषबाट मुक्त हुने छैनन्।

सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति २०७५/०४/०३

Image may contain: one or more people and text

प्रकाशित : बिहिबार, साउन ०३, २०७५१९:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डा. केसीलाई भेट्न देउवा टिचिङमा: केसीलाई कांग्रेसले उचालेको आरोपको यसरी गरे खण्डन !