राजपामा संसदीय दलको नेता ठाकुर कि महतो ?

Leaderboard Banner

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगामी शनिबार राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको चुनाव हुने भएको छ।

पार्टीका अध्यक्ष मण्डल सदस्य शरत्सिंह भण्डारीले आगामी शनिबार पार्टी संसदीय दलको नेता चयन हुने कार्यक्रम तय गरिएको बताए।

संसदीय दलको नेता चयन गर्ने विषयमा तयारी गर्न बिहीबार पार्टी अध्यक्ष मण्डलको बैठक बसेको थियो । ‘शनिबार संसदीय दलको नेता चयन हुने कार्यक्रम छ। सहमतिबाटै नेता चयन गर्ने प्रयास गर्दैछौं,’ भण्डारीले भने।

संसदीय दलको नेतामा निर्वाचित हुन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले उम्मेदवारी दिने तयारी गरेको स्रोतको भनाइ छ।

तर, यसबारेमा दुवै नेताले औपचारिक रूपमा बोलेका छैनन्। स्रोतका अनुसार दुवै नेता सहमतिबाटै चुनाव गराउने प्रयासमा छन्। यो खबर आजको ‘नागरिक’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

पार्टी संसदीय दलको नेतामा निर्वाचित हुने व्यक्ति राजपाको आगामी महाधिवेशनमा पार्टी अध्यक्ष हुने सम्भावना बढी भएकाले पनि संसदीय दलको नेतामा निर्वाचित हुन दुवै नेताले लबिङ सुरू गरेका हुन्।

आगामी वैशाखमा राजापाको पहिलो महाधिवेशन हुँदैछ। प्रतिनिधिसभामा राजपाका १७ सांसद छन्। स्रोतका अनुसार संसदीय दलको नेतामा ठाकुरलाई निर्वाचित गर्ने कि महतोलाई भन्ने विषयमा अध्यक्ष मण्डलका सदस्य नै विभाजित छन्।

चुनाव भएमा महतोको पक्षमा बढी मत आउने महतोनिकट नेताहरू दाबी गर्छन् भने वरिष्ठताका कारण ठाकुरको स्थिति मजबुत रहने ठाकुरनिकट नेताहरूको भनाइ छ।

राजपा अध्यक्ष मण्डलका अन्य सदस्य भने सकेसम्म सहमतिबाट संसदीय दलको नेता चयन गर्ने तयारी गरेका छन्।

प्रकाशित : शुक्रबार, असार २९, २०७५०८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अनशन तोडे पनि गंगामाया अस्पतालमै, कहाँ जाने भन्ने टुंगो छैन