आफैं विपक्षी, आफ्नै नेतृत्वमा आदेश

Leaderboard Banner

काठमाडौँ : सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले आफैं विपक्षी भएको एउटा मुद्दाको सुनुवाइ गर्दै टिप्पणीसहित त्यसलाई ‘संवैधानिक इजलास’ मा पठाउन आदेश दिएका छन् ।

मिश्रसहित अन्य दुई न्यायाधीश सम्मिलित पूर्ण इजलासले न्यायपरिषदका पदाधिकारीहरू विपक्षी भएको मुद्दामा आदेश गरेको हो ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका हैसियतले न्यायपरिषद्‍का सदस्य रहेका मिश्रसमेत उक्त मुद्दाका विपक्षी हुन् । आदेश गर्ने इजलासको नेतृत्व उनैले गरेका हुन् ।

आफूले हेर्न नमिल्ने मुद्दा दुईपटक आफ्नै नेतृत्वको इजलासमा पर्दा समेत आफूबाहेकको इजलासमा तोक्न आदेश नदिई संवैधानिक इजलासमा पठाउन आदेश गरेका हुन् । यो खबर आजको ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

यसले थप जटिलता निम्त्याउने र निष्पक्ष न्याय सम्पादनमा प्रश्न उठ्ने भएको छ ।

किनभने संवैधानिक इजलासका दुई वरिष्ठ सदस्य नै उक्त मुद्दाका विपक्षी छन् ।

यसले फेरि पनि आफैं विपक्षी भएको मुद्दा आफैंले सुनुवाइ गर्ने परिस्थिति उत्पन्न भएको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको पालामा भएको उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिका क्रममा प्रक्रिया मिचिएको भन्दै परेका निवेदन सर्वोच्चमा विचाराधीन थिए ।

नियुक्तिमा संलग्न नभएका एक पूर्वन्यायाधीशका अनुसार, आफैं विपक्षी भएको मुद्दाको सुनुवाइ गरी कुनै पनि आदेश गर्नु न्यायको सर्वमान्य सिद्धान्तविपरीत हो ।

‘नेपालको न्यायसम्बन्धी अधिकार, संविधान, अन्य कानुन र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत र न्यायिक निकायबाट न्याय निरूपण गरिनेछ’ संविधानको धारा १२६ उद्धृत गर्दै ती पूर्वन्यायाधीशले भने, ‘आफैं जोडिएको मुद्दामा आफैं न्यायाधीश हुनु प्राकृतिक न्यायको आधारभूत सिद्धान्तविपरीत हुन्छ ।’

प्रकाशित : शुक्रबार, असार २९, २०७५०७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लेन मिच्नु भो ? होशियार ! अब घरमै फोन आउँछ