मन्त्रीको आडमा मजदुरको पेटमा लागूऔषध कारोबारीको लात ! के मन्त्री पनि लारीको यस्तै लगानीमा परिसकेका हुन् ?

Leaderboard Banner

काठमाडौं : सत्तामा नपुगुञ्जेल आफूलाई मजदूर, किसान र सर्वहारावर्गको वास्तविक प्रतिनिधि भएको भाषण गर्दै चुनाव जित्नेहरु मन्त्री हुनासाथ कसरी तस्कर र दलाल पूँजीपतीका हिमायती बन्छन् बन्ने कुरा पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई हेर्दा प्रष्ट हुन्छ ।

मन्त्रीको हैसियतले उनले होटल एभरेष्टमा कार्यरत अढाई सय मजदूरको पेटमा लात हान्ने काम गरेका छन् । २०७२ सालको भूकम्पमा नयाँ बानेश्वरस्थित होटल एभरेष्टका भुइतल्लाका दुईवटा पिल्लर बांगिएका थिए ।

बैशाख १२ को कम्पनबाटै ती पिल्लरहरुमा क्षति पुगेको हो । क्षति लगत्तै नेपाल सरकारका प्राविधिकले होटलमा पुगी सामान्य मर्मत सम्भारपछि चलाउन मिल्छ भनी पिलरमा हरियो स्टिकर टाँस गरिदिए ।

त्यसपछि नेपालका भूकम्प पिडितलाई उद्धार गर्न आएका क्यानाडाका सयौं सैनिकहरु सोही होटलमा बसेर उद्धारकार्यमा सरिक भएका थिए ।

होटलका सबै कक्षहरु बुक भएर एक महिनासम्म चलाइयो । तर, पछि होटल व्यवस्थापनकै अग्रसरतामा पर्यटन विभागदेखि सरकारी प्राविधिकलाई बोलाएर हरियो स्टिकर झिकेर रातो टाँस गरियो ।

यसो गर्नुको मुख्य कारण भनेको क्यासिनो एभरेष्टदेखि होटलले वर्षौंदेखि नतिरेको पचासौं करोड राजश्व मिनाहा गराउने, होटलमा क्षती पुगेको भनी बन्द गरी वर्षौंदखि कार्यरत मजदूर कर्मचारीलाई निकाल्ने, होटलमा ठूलो क्षति पुगेको देखाएर बीमाबाट करोडौं रकम असुल गर्ने तथा कर्मचारी र मजदूरलाई दिनुपर्ने करोडौं बक्यौता नदिने उद्देश्य मालिकको थियो । यो खबर ‘यूनाइटेड पोस्ट’ साप्ताहिक अखबारमा प्रकाशित छ।

विदेशमा कार्यरत नेपालीलाई विदेशी मालिकले समेत पिडाको बेलामा निःशुल्क टिकट, बाटो खर्च र राहतका रुपमा केही नगद दिएर नेपालमा आउन बिदा दिएका बेला एभरेष्टका मालिक मशकुर अहमद लारीले भने उल्टो परिवार गुमाएका र घरबास उजाडिएका मजदूर कर्मचारीलाई बिदा पनि दिएनन् । उनले पीडित कर्मचारी र मजदूरलाई एक पैसा सहयोग पनि गरेनन् ।

लारी लागूऔषधका तिनै कारोबारी हुन्, जसले बीस वर्षअघि हजाइजहाजमा खाना सर्भ गर्ने नाममा खानाका प्याकेटमा २ सय २५ केजी चरेर जर्मनको फ्य्रांकफर्टमा ओरालेका थिए ।

त्यतिबेलादेखि नै उनलाई जर्मन सरकार र नेपाल सरकारले पक्राउ पूर्जी जारी गरेका थिए । तर, नेपालका भ्रष्ट राजनीतिज्ञ, कर्मचारी, अदालत र प्रहरीलाई मिलाएर उनी २० वर्षसम्म यहीं बसेर पनि पक्राउ परेनन् । उनलाई प्रहरीले फरार अभियुक्त भनिरह्यो । अहिले भने लारी जेल परेर पनि छुटिसकेका छन् ।

उनले होटल बन्द गर्नुमा यसको स्वामित्व विवाद पनि एक हो । उनका काकाले खोलेका यो होटलमा मशकुरको थोरै मात्र स्वामित्व थियो ।

तर काका वृद्ध भएर भारत फर्किनासाथ मशकुरले डिस्टिलरी पनि चलाएका काकाले कर प्रयोजनका लागि खाली कागजमा गरेका हस्ताक्षरको दुरुपयोग गरी सबै शेयर आफू र श्रीमती नज्मा लारीको नाममा गरेका थिए । यो किर्ते कामका विरुद्ध मशकुरका काकाका छोरा मुजफ्फर अहमद लारी अदालत गए ।

यो स्वामित्व विवादका कारण पनि मशकुरले होटल सञ्चालनमा आनाकानी गरेका हुन् । उता क्षति पुगेको महिना दिनसम्म पनि सञ्चालन गरेको होटल तुरुन्तै पुन निर्माण गर्नुको सट्टा मशकुर त्यहाँ कार्यरत मजदूर र कर्मचारीलाई निकाल्न लागे ।

मजदूर र कर्मचारीसँग सल्लाह नै नगरी सूचना टाँसेर सबैलाई जागिरबाट निकालेको विरुद्धमा उनीहरु अदालत गए । अदालतले जागिरबाट ननिकाल्नु भनी आदेश दियो ।

उनीहरु अझै पनि दिनहुँ होटलमा आई यसको सुरक्षा र हेरचाह गरिरहेका छन् । उनीहरुलाई होटल व्यवस्थापनले धेरै पहिलेदेखि नदिएका सुविधाहरु अझै बाँकि छन् । अहिले होटल सञ्चालन गर्ने भनी मशकुरहरु सरकारी निकायमा धाइरहेका छन् ।

यही बेला अदालतको आदेश विपरित मजदूर र कर्मचारीलाई खेदाउ भनी नेपालका सबैभन्दा ठूला चरेश तस्करका रुपमा कहलिएका मशकुरका पक्षमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले गृह मन्त्रालयलाई लिखित अनुरोध गरे । गृहले पनि अर्को मन्त्रालयबाट आएको पत्रको कार्यान्वयन गर्न प्रहरीलाई पत्र लेख्यो ।

अनेक नचाहिने काममा संलग्न भई अर्बको हाराहारीमा कमाई गरेका भनी बदनामी कमाइरहेका अधिकारीले अर्काको काम गरेर हातमुख जोड्ने मजदूरमाथि भने लात हानेका छन् । के मन्त्री अधिकारी पनि ल्लारीको यस्तै लगानीमा परिसकेका हुन् ?

होइन भने लागू औषधका ठूला कारोबारी ल्लारीसँग मिलेर मजदूरलाई प्रहरी लगाउन उनलाई कुन आदर्श र ऐनले प्रेरित गरेको हो ?

प्रकाशित : बिहिबार, असार २८, २०७५०९:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एनसेललाई भन्सारको कडा उर्दी, बेरुजु फछ्र्यौट नगरे आयात निर्यात नै ठप्प पार्ने चेतावनी