शिक्षक परीक्षा प्रवेशपत्र वितरण: कोही बेहोस, अधिकांशले पाएनन्

Leaderboard Banner

काठमाडौं : कतिपय त बेहोस भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् ।

शिक्षा विकास तथा समन्वय एकाइको अस्तव्यस्तताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाइमा प्रवेशपत्र लिन आएका शिक्षकका परीक्षार्थीले सकस भोग्नुभएको थियो ।

शिक्षक सेवा आयोगले समयमै प्रवेशपत्र उपलब्ध गराउने स्थानको निक्र्यौल नगर्दा समस्या परेको थियो ।

कहिले परीक्षा केन्द्रमा त कहिले एकाइमा भन्दै अलमल परेको कारण हिजो बुधबार प्रवेशपत्र लिन पुगेका अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउन सकेनन् । यो खबर आजको ‘नेपाल समाचारपत्र’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

शिक्षक सेवा आयोग र एकाइको लापरबाहीको कारण प्रवेशपत्र लिन एकाइमा पुगेका परीक्षार्थी दिनभर भोकभोकै बस्नु प¥यो ।

‘धैरैलाई असहज भएको महसुस भयो, कतिलाई त शीतलमा राख्नुप¥यो’ –एकाइ प्रमुख नन्दलाल पौडेलले भन्नुभयो ।

उहाँका अनुसार आयोगले समयमै तयारी नगरेको कारण समस्या परेको हो । आयोगले मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका परीक्षार्थीका एकाइबाटै प्रवेशपत्र वितरण गर्ने व्यवस्था मिलाएको थियो ।

टाढाटाढाबाट आएका परीक्षार्थीले प्रवेशपत्र पाउन नसकेपछि शिक्षक सेवा आयोगविरुद्ध आक्रोश पोखेका थिए ।

आक्रोशित परीक्षार्थीले एकाइ कार्यालयको झ्यालको सिसा समेत फुटाइदिएका थिए । कमजोर व्यवस्थापनको विरोधमा नारावाजी गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे भएको थियो ।

सुरक्षा दिन एकाइ कार्यालय आएका प्रहरीसमेत कार्यालयको मूल गेटबाट प्रवेश गर्न पाएका थिएनन् ।

पटकपटक विवाद र नाराबाजीबीच एकाइले हिजो करिब १ हजार परीक्षार्थीको मात्र प्रवेशपत्र वितरण गरेको छ ।

सयौंको संख्यामा रहेका परीक्षार्थीलाई व्यवस्थित र संयमित हुन एकाइले शिक्षकलाई आग्रह गरेको थियो ।

हिजोको भीड थेग्न नसकेपछि एकाइले आज बिहीबार निमावि र मावि तहको एकाइ र प्रावि तहको सम्बन्धित परीक्षा केन्द्रबाटै प्रवेशपत्र वितरण गर्ने सूचना जारी गरेको छ । शुक्रबार निम्न माध्यमिक र माध्यमिक र शनिबार ३० गते प्राथमिक तहको परीक्षा हुनेछ ।

प्रकाशित : बिहिबार, असार २८, २०७५०७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने