काठमाडौं : नेपाल प्रहरीको महानगरीय अपराध शाखाको टोलीले क्रिकेट र फुटबलका विभिन्न अन्तर्राष्ट्रिय खेलमा अवैध जुवा खेलाउने गिरोहका नाइकेलाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले आइतबार सट्टेबाजीका नाइके नागराज उपनामले चिनिने नथमल अग्रवाललाई पक्राउ गरेको हो । यो खबर आजको कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।
महाशाखाले महोत्तरीका राकेश सिंहलगायत व्यक्तिबाट इन्डियन प्रिमियर लिगको सट्टेबाजीमा रकम राख्दा रकम तेब्बर नाफा हुने प्रलोभन देखाई २ करोड ४० लाख ठगी गरेको आरोपमा नागराजलाई पक्राउ गरेको हो ।
नागराजले कमलपोखरीस्थित सिटी सेन्टरलाई अखडा बनाएर लामो समयदेखि सट्टेबाजीको अवैध धन्दा चलाइरहेका थिए ।
जेठ १५ मा पक्राउ गरेका ६ जना सट्टेबाजले यिनै नागराज नै सट्टेबाजी खेलका नाइके भएको बयान दिएका थिए ।
त्यही आधारमा प्रहरीले नागराजका बारेमा विस्तृत अनुसन्धान गरी पक्राउ गरिएको जनाएको छ ।