ट्राफिक जाम आखिर कहिलेसम्म ?

Leaderboard Banner

काठमाडौँ – ‘काठमाडौंको कुनचाहिं सडक जाममुक्त होला ?’ यो प्रश्नको उत्तर खोजिरहनै पर्दैन । यसको सिधा जवाफ छ– ‘त्यस्तो कुनै सडकै छैन ।’हुन पनि हो ।

काठमाडौंका हरेक साना–ठूला सडकमा दिनको कुनै न कुनै समय जाम हुन्छ नै । ठूला फराकिला भनिएका सडकमा सार्वजनिक बस, माइक्रो, ट्याम्पु र ट्याक्सीले जाम हुन्छ भने साना सडक भने बाटै ढाकिने गरी लाज पचाएरै पार्किङ गरिएका निजी सवारीसाधन वा मोटरसाइकलले गर्दा ।

काठमाडौंको सबैभन्दा धेरै लामो जाममा परिने क्षेत्र भनेको कलंकी आसपास, नारायणगोपाल चोक र कोटेश्वर नै हो । यी क्षेत्रमा जामको मुख्य कारक सार्वजनिक यातायात नै हुन् ।

जाम हुने क्षेत्रको सडकलाई नियाले त्यहाँ केही समानता पाइन्छ । सबैभन्दा पहिला त जाम हुने क्षेत्रमा ट्राफिक लाइट नै छैनन् । स्वरूप आचार्यद्वारा लिखित यो समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

त्यसपछि अर्को मुख्य समानता भनेको ती चौबाटोहरूको चारैतर्फको चोकमै सार्वजनिक बसका यात्रु चढाउने र ओराल्न बनाइएका बस बिसौनी छन् ।

त्यसमा अविवेकी चालक र अबुझ पैदलयात्रुले उक्त सामान्य जामलाई कठिन बनाइदिन्छन् । त्यसमा सधैं हतारमा हुने नेपाली ‘भ्यालेन्टिना रस्सी’हरूले थप प्रेसर थपिदिन्छन् ।

ट्राफिक प्रहरी, चालक र यात्रुहरू सबैले विवेक नपुर्‍याउने हो भने काठमाडौंका सडक जति नै फराकिला बनाइए पनि जामको समस्या हट्नेवाला छैन ।

सबैको संयुक्त प्रयास भएमा काठमाडौंमा हुने घन्टौं लामो जामको समस्या पूर्ण रूपमा त हट्ला न हट्ला, तर कम भने अवश्य नै हुन्छ ।

ट्राफिक लाइटको अभाव
काठमाडौंको बानेश्वर र नारायणगोपाल चोकबाहेक अन्य कुनै पनि चोकका ट्राफिक लाइटले काम गर्दैनन् । जामको मुख्य समस्या सडक यात्रालाई सुरक्षित र सजिलो बनाउन अत्यावश्यक मानिएको ट्राफिक लाइट नहुनु हो । ट्राफिक लाइट अभावमा अहिले ‘धुलाम्मे’ ट्राफिकहरू हातमा दिनको समयमा ‘स्टप/गो’ लेखिएको प्लेकार्ड र साँझ ट्राफिक ब्यटन (बत्ती बल्ने रड) बोकेर सवारी आवागमन चुस्त राख्न प्रयत्नरत हुन्छन् । तर, यही प्रयत्न कतिपय समय उनीहरूले पनि पत्तो नै नपाई जामको कारक बनिदिन्छ ।

चोकको मुखमै बस बिसौनी
हरेक नयाँ, पुराना चोकको मुखमै बस बिसौनी किन छ ? ट्राफिकले व्यस्त चोकको मुखमै यात्रु चढाउन र ओराल्न किन दिन्छ ? चोकको मुखैमा रहेका यस्ता बिसौनीले त्यहाँको सडकलाई अस्तव्यस्त नै बनाइरहेका छन् ।चोकको जाम खुल्नेबित्तैकै पारि गएर यात्रु चढाउने र ओराल्ने सार्वजनिक यातायातको प्रतिस्पर्धाले अन्य सवारीलाई मार पर्छ ।

विशेष गरेर माइक्रो र बसले दायाँ कुनाबाट बायाँ कुनामा रहेको बिसौनीमा गाडी पुर्‍याउन गर्ने होडबाजीले अन्य गाडीलाई छास्स–छुस्स छुनु त सामान्य नै भयो, कहिलेकाहीं भने गम्भीर दुर्घटना पनि हुन्छ । त्यसपछि अगाडि रहेको गाडीले यात्रु कुरेर बसेपछि त्यसको पछाडि रहेका गाडीको लाइनले सडक जाम गरिदिन्छ । त्यहाँ खटिएका ट्राफिक प्रहरीले गाडीलाई त अगाडि बढ भन्दैनन् । तर गाडीले सडक छेकेर रोकेको झोंकमा कसैले हर्न बजाए भने कारबाही हुन्छ ।

‘मूर्ख’ पैदल यात्री
सडकमा पैदलै हिँड्नेले गाडीहरूका कारण जाम भएको गनगन गरे पनि त्यो जामको एक कारक उनीहरू आफैं पनि हुन् । जेब्राक्रसमा खुट्टा परेपछि गाडी रोकिनुपर्छ भन्ने मात्रै उनीहरूलाई थाहा छ । तर ढल्की–ढल्की गफिँदै सडक काट्दा हजारौं यात्रुलाई असर पर्छ भन्नेमा उनीहरूलाई मतलबै हुँदैन । एकैछिन कुरेर केही मान्छे जम्मा भएपछि समूहमा सडक काटे सवारी आवागमनको गतिमा धेरै बाधा पर्दैन । एक–एकजना गरी सडक काट्ने हो भने त सडकमा गाडी हैन मान्छे हिँडे हुन्छ ।

सधैं हतारमा हुने मोटरसाइकल
राजधानीमा मोटरसाइकल चलाउने जति सबैले आफूलाई कुनै न कुनै रूपको ‘रेसर’ र ‘स्टन्टम्यान’ सम्झिन्छन् । यसरी सडकमा ‘रेसर’ वा ‘स्टन्टम्यान’ भएर बत्तिनेहरूले आफ्नो बाइक हुँक्याउने क्षमता कहीँकतै साबित गर्ने मौका पाउँछन् कि पाउँदैनन् त्यो त थाहा भएन तर आफूलाई विवेकहीन भने हरपल साबित गरिरहेका हुन्छन् ।

प्रकाशित : आइतबार, असार १०, २०७५०८:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डा. देवकोटाको आत्माले नेताहरुलाई के भन्यो होला ?