सांसदले भने, ‘बजेट फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ’

Leaderboard Banner

काठमाडौँ — आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरूले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् ।

सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध उभिएपछि संसद् सचिवालयले शुक्रबारका लागि निर्धारित बैठक आइतबारलाई सारेको छ । शुक्रबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो । यो खबर आजको कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बजेटमाथि छलफलक्रममा सत्तापक्षका सांसदहरूले मन्त्रीको चर्को विरोध गरे ।

सांसदहरूले अर्थमन्त्री युवराज खतिवडाको भन्दा पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारी र खेलकुदमन्त्री जगतबहादुर सुनारको बढी आलोचना गरे ।

दाङ १ बाट निर्वाचित मेटमणि चौधरी र कैलाली २ बाट निर्वाचित झपट रावल अन्य सांसदभन्दा बढी आक्रोशित भए ।

सांसद चौधरीले आफ्नो क्षेत्रमा बजेट नपार्ने मन्त्रीलाई जेल हाल्नुपर्ने बताए । मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट छुट्याएर म्याच फिक्सिङ गरेको आरोप उनले लगाए ।

‘म्याच फिक्सिङ गर्ने खेलाडीको हातमा हतकडी लाग्छ । जेल जानुपर्छ । आज मन्त्रीहरूले बजेट र कार्यक्रम फिक्सिङ गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् । म्याच फिक्सिङ गर्ने खेलाडीले जेल जानुपर्छ भने बजेट र कार्यक्रम फिक्सिङ गर्ने मन्त्री जेल जानुपर्छ कि पर्दैन ? जेल जानैपर्छ,’ पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाम लिँदै चौधरीले भने, ‘यस्ता मन्त्रीबाट देश न उँभो लाग्न सक्छ, न सम्पन्न हुन सक्छ न त जनता खुसी हुन सक्छन् । जसरी फिक्सिङ गर्ने खेलाडीलाई देशद्रोहको आरोपमा जेल पठाइन्छ, त्यस्तै आफ्नो निर्वाचन क्षेत्रमा मात्रै कार्यक्रम पार्ने मन्त्रीलाई जेल पठाउनुको विकल्प छैन, जेल पठाउनैपर्छ ।’

चौधरीले बोलिरहँदा सभामुखको जिम्मेवारी राधा ज्ञवालीले सम्हालेकी थिइन् । रोस्ट्रममा सांसद बोलिरहँदा सत्तापक्षका सांसदहरूले थप आक्रोशित हुँदै एकआपसमा चर्को स्वरमा मन्त्रीको विरोध गर्न थालेपछि ज्ञवालीले भनिन्, ‘शान्त रहिदिन आग्रह गर्दछु ।’

सांसद रावलले पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नछुट्याएको भन्दै तीनवटै मन्त्रालयको विनियोजित बजेटको पुस्तक मन्त्रीलाई फिर्ता गरेका छन् । ‘नांगो आँखाले आफ्नो क्षेत्रमा बजेट परेको नदेखेपछि चस्मा किनेर पनि हेरें, केही देखिनँ,’ रावलले भने, ‘मन्त्रीजीलाई हार्दिक धन्यवाद दिन्छु । उहाँहरूको सद्बुद्धि आओस् । मैले हस्ताक्षर गरेर मन्त्रालयगत बजेटको पुस्तक लिएको थिएँ । मेरो क्षेत्रमा बजेट नभएपछि सभामुखमार्फत यो पुस्तक फिर्ता गर्न चाहन्छु ।’ उनले उक्त पुस्तक मन्त्रीहरूलाई नै फिर्ता गरे ।

बिहीबारको छलफलमा पर्यटनमन्त्री अधिकारी भने थिएनन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढा संसद्मा थिए । कर्णाली प्रदेशमा पर्यटनसम्बन्धी ५७ वटा कार्यक्रम परेकामा ४४ वटा डोल्पामा मात्रै रहेको भन्दै सांसदहरूले विरोध गरे । कास्कीका सांसद खगराज अधिकारीले पर्यटनको बजेटमा आफ्नो क्षेत्रमा कार्यक्रम नपारेको भन्दै पर्यटनमन्त्रीको विरोध गरे । कास्की क्षेत्र २ र ३ मा पर्याप्त बजेट छुट्याए पनि आफ्नो क्षेत्रमा नछुट्याएको रिस उनले रोस्ट्रमबाटै पोखे ।

सांसदहरूले मन्त्रीको विरोध गर्दा असभ्य तरिकाले गालीगलौजमा उत्रिएपछि शुक्रबारका लागि निर्धारित बैठक आइतबारलाई सारिएको संसद् सचिवालयले जनाएको छ । ‘सांसदले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिन थालेपछि बैठक सारिएको हो,’ संसद् सचिवालय उच्च स्रोतले भन्यो । नेकपाले संसदीय दलको बैठक डाकेर सांसद र मन्त्रीबीच छलफल गराएपछि बैठक राखिने स्रोतले जनाएको छ । सांसदहरूले असन्तुष्टि जनाउँदै मन्त्रालयको विनियोजित बजेटको पुस्तक च्यात्नेसम्मका योजना बनाएकाले बैठक सार्न नेकपाकै सांसदले सभामुखलाई प्रस्ताव गरेका थिए ।

प्रकाशित : शुक्रबार, असार ०१, २०७५०६:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतमा सम्पादकको गोली हानी हत्या