प्रचण्डले माओबादी केन्द्र परित्याग गरे: अध्यक्ष किराँतीद्वारा जारी विज्ञप्ति सहित

Leaderboard Banner

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्प कमल दाहाल ‘प्रचण्ड’ माओबादी केन्द्र परित्याग गरेको बताएका छन्। बुधबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले अब आफुहरु नयाँ ढंगले माओबादी केन्द्रको निर्माण गर्नको लागि लागि पर्ने पनि बताए।  किराँतीले प्रचण्डले जनयुद्धको मुद्धा तथा कार्यदिशा त्यतिकै छोडेर एमाले प्रदेश गरेको आरोप समेत लगाएका छन्।

अध्यक्ष किराँतीली सर्वहारा बर्गको उत्थानको लागि भनेर १० वर्ष जनयुद्ध लडेका प्रचण्ड यतिबेला संभ्रान्त वर्गमा परिणत भएको पनि आरोप लगाए। ‘प्रचण्ड र बाबुराम अन्तिममा आएर पुँजीवादी गणतन्त्रतिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षममै छौं, उनले भने।’

फरक प्रसँगमा उनले नेपाल भारत सिमानामा भारतीयको  ज्यादती बढेको भन्दै सिमानामा पर्खाल लगाउनु पर्ने पनि बताएका छन् ।

यस्तो छ, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जारी गरेको प्रेस विज्ञप्तीको पूर्णपाठ:

प्रेस विज्ञप्ति

महान जनयुद्धद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा माओवादी केन्द्र, महाधिवेशन आयोजक समितिका उपलब्ध सदस्यहरुको बैठक बसी निम्न निर्णय गरियो । खासगरी श्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले पार्टी परित्याग गरी गएको स्थितिले रुपान्तरण सहितको नेकपा माओवादी केन्द्रको निरन्तरता ऐतहासिक एवं वस्तसगत आवश्यकताको आधारमा बैठक बस्नु परेको स्पष्ट गर्दछौं ।

राष्ट्रियता, जनवाद र जनजिविकाबारे:

१. भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवाद र भारतीय विस्तारवाद विरुद्ध राष्ट्रिय प्रतिरोध क्रान्तिको तयारी गर्न आम जनसमुदायमा अभियान सञ्चालन गर्ने ।

२. भारतीय प्रधानमन्त्रीको भ्रमणको बहानामा नेपाली सुरक्षाकर्मीको अपमान गर्दै नेपाललाई भारतीय फौजको खेल मैदान बनाउने राष्ट्रिय अपराध गरेकोमा संसदवादी नेकपाको सरकारले सार्वजनिक माफी माग्नु पर्छ ।

३. प्रवेशाज्ञाको व्यवस्था अघि एक स्थानीय तहमा एक भन्सार नाका खुला गरी नेपाल–भारत सीमानामा अग्लो पर्खाल वा काँडेतारको व्यवस्था गर्नुपर्छ ।

४. विप्लव नेकपा विरुद्धका मुद्दाहरु सरकारले खारेज गर्नुपर्छ र विप्लल नेकपा वार्तामा आउनु पर्छ । विप्लव नेकपा नेताहरुलाई अनावश्यक धरपकड बन्द गर्नुपर्छ ।

५. प्रदेशहरुको नामाकरण गर्दा ऐतिहासक एवं सामुदायिक पहिचानको आधारमा गर्नुपर्छ ।

६. विनाशकारी भूकम्प गएको चौथो वर्ष लाग्दा समेत पीडितहरुले राहत पाएका छैनन् । समृद्धिको नारा दिने सरकारले प्रत्येक भूकम्प पीडीत परिवारलाई ५ लाख रुपैया राहत दिनु पर्छ ।

७. चरम महंगी विरुद्ध राष्ट्रिय संकटकाल घोषणा गरी श्रमिक तथा गरिब जनतालाई विशेष राहत उपलब्ध गराइयोस् ।

८. किसानलाई विना भन्सार कृषि औजार खरिदको व्यवस्था गरियोस् । मल विउ, औषधी सहुलियत दरमा उपलब्ध गराइयोस् । ६० वर्ष पुगेका किसान र लगातार २० वर्ष व्यवासयिक खेती गर्ने किसानलाई मासिक ५ हजार पेन्सन व्यवस्था गरियोस् ।

९. सीमाना रक्षा तथा भ्रष्ट्राचार र महंगी विरुद्ध अभियान सञ्चालन गर्ने ।

१०. तुरुन्त कानून बनाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास तथा खाद्य सम्प्रभुताको संवैधानिक मौलिक अधिकार लागू गर्न संसद एवं सरकारलाई दवाव दिने ।

११. गणतन्त्र स्थापनामा ऐतिहासिक योगदान गर्ने शहिद परिवार तथा पूर्व जनसेनाका कमरेडहरु प्रत्येकलाई १० हजार गणतन्त्र भत्ता उपलब्ध गराइयोस् ।

राजनीतिक तथा संगठनबारे:

१) बैठकका अध्यक्ष क. गोपाल किरातीद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम शीर्षक प्रतिवेदन छदलफल र थपघट सहित पारित गरियो ।

प्रतिवेदनको सारांशः

क) माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिने ।

ख) पार्टी एकताको १३ बुँदे पत्रका आधारमा खोज अनुसन्धानद्वारा आगामी महाधिवेशनबाट समाजवादी क्रान्तिको राजनीतिक कार्यनीति संश्लेषण गर्ने ।

ग) वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपभोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने ।

घ) सर्वहारा वर्गको अग्रदस्ता सुढुदीकरणको लागि पार्टी प्रमुख सहितको एक टोली सत्ता÷सरकारमा जानु हुँदैन । जानु पर्ने स्थिति उत्पन्न भएमा पार्टी प्रमुखबाट राजिनामा दिएर जानु पर्दछ ।

ङ) क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको बृहत अभियान संचालन गर्ने ।

च) पूँजीवादी गणतन्त्र स्थापनासम्म क्रान्तिकारी भूमिका खेलेका श्री प्रचण्डहरु त्यसपछि भने प्रतिक्रान्तिकारी कित्तामा पलायन भएको ठहर गरियो ।

२) विचार, भावना र इतिहासको निरन्तरताका लागि संसदवादी नेकपाबाट विद्रोह गरी नेकपा माअ‍ोवादी केन्द्रमा जुट्ने क्रम उत्साहजनक छ । यसलाई अझ ब्यापक र सशसक्त तुल्याउँदै रुपान्तरण सहितको सगठन विस्तार र सुदृढीकरणमा डट्ने तीन अभियानको कार्ययोजना निर्माण गरियो ।

३) महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई नै निरन्तरता दिइएको छ । जस अनुसार निम्न पदाधिकारी रहेको कार्यालय गठन गरियो ।

क) अध्यक्ष क. गोपाल किराती ‘साइला’
ख) उपाध्यक्ष क. भविश्वर पराजुली
ग) उपाध्यक्ष क तीलक थापा मगर
घ) महासचिव क. कर्णजीत बुढाथोकी ‘सुशील’
ङ) सचिव क. राजन तिम्सिना
४) प्रेश ३ केन्द्रीय कार्यालय हेर्नेछ भने प्रदेश १ क. तिलक थापा, प्रदेश २ क. राजन तिम्सिना प्रदेश ४ र ५ को भविष्श्वर पराजुली तथा प्रदेश ६ ७ क. कर्णजीत बुढाथोकीले इन्चार्जसीप गर्ने ।

५) अरु कार्य विभाजन विभिन्न समूहबाट धु्रवीकरणमा आउने कमरेडहरुको सन्तुलन हुने गरी ब्यापक गृहकार्यद्वारा कार्यालयले निर्णय र परिपत्र गर्नेछ ।

अन्त्यमा पत्रकार साथीहरु मार्फत आम जनसमुदायलाई आह्वान गर्दछौं कि नेकपा माअ‍ोवादी केन्द्रलाई सहयोग गर्नुहोस्, माओको निधनपछिको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र प्रचण्डहरुको पलायनपछि नेपाली कम्युनिष्ट आन्दोलनले उठाएका अहम प्रश्नहरुको जवाफ हामी खोजि निकाल्ने प्रतिज्ञा गर्दछौं ।

गोपाल किराती
अध्यक्ष
नेकपा माओवादी केन्द्र

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मन्त्री बास्कोटाको कदमप्रति नेपाल पत्रकार महसंघ र प्रेस युनियनको विरोध (विज्ञप्तिसहित )