पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मका विशिष्ट पूर्वपदाधिकारीलाई विलासी सुविधा दिन फेरि विधेयक मस्यौदा

Leaderboard Banner

काठमाडौँ । सरकारले पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मका विशिष्ट पूर्वपदाधिकारीलाई विलासी सुविधा दिन फेरि विधेयक मस्यौदा गरेको छ ।

विलासी सुविधा दिने व्यवस्थाको तीव्र विरोध भएपछि यसअघि संसद्बाट दुई पटक फिर्ता भएको र पछिल्लो संसद्बाट निष्क्रिय पारिएको विधेयक सरकारले फेरि ल्याउन लागेको हो ।

स्रोतका अनुुसार गृह मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदा कानुन र अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइसकिएको छ ।

दुवै मन्त्रालय विधेयकमा लिखित सहमति दिनेक्रममा छन् । ‘अब चाँडै संसद्मा दर्ता गर्ने प्रक्रियामा छ,’ गृहस्रोतले भन्यो । यो खबर आजको कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

पूर्वविशिष्ट पदाधिकारीहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषद्का अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विशिष्ट पदाधिकारीको परिभाषामा राखेर विलासी सुविधा दिन लागिएको हो ।

विधेयक मस्यौदाअनुसार भाडाको घरमा बसे पूर्वराष्ट्रपतिलाई घरभाडाबापत मासिक २ लाख रुपैयाँ र आफ्नै घरमा बसे मर्मत खर्चबापत मासिक एक लाख रुपैयाँ दिने प्रस्ताव छ ।

काठमाडौं उपत्यका र प्रदेश राजधानीमा एकाघर परिवारको घर नभएको अवस्थामा मासिक भाडा उपलब्ध गराउन लागिएको हो ।

यसबाहेक राष्ट्रपतिलाई ५० हजार र उपराष्ट्रपतिलाई ४० हजार मासिक वृत्ति प्रस्ताव गरिएको छ ।

काठमाडौं उपत्यका र प्रदेश राजधानीमा घर नहुने अन्य पदाधिकारीलाई पनि मासिक ७४ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउन लागिएको छ ।

घर हुने पदाधिकारीलाई पनि मर्मत खर्च भन्दै मासिक ३७ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने मस्यौदामा छ ।

राष्ट्रपतिलाई
-मासिक २ लाख घरभाडा, आफ्नै घरमा बसे एक लाख मर्मत खर्च
-५० हजार मासिक वृत्ति
-एउटा गाडी, २५ हजार मर्मत खर्च, २ सय लिटर पेट्रोल वा डिजेल
-उपसचिव, चालक र सहयोगी ३ जनाको तलब भत्ता

अन्य पूर्वउच्च पदाधिकारीलाई
-आफ्नै घरमा बसे मासिक ३७ हजार ५ सय, भाडामा बसे ७५ हजार
-एउटा गाडी, मर्मत खर्च २५ हजार, पेट्रोल/डिजेल २ सय लिटर, शाखा अधिकृत १ जना र चालक १ जनाको तलब भत्ता
-उपराष्ट्रपतिलाई मासिक ४० हजार मासिक वृत्तिसमेत

प्रकाशित : बुधबार, जेठ ३०, २०७५०८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आजदेखि विश्व फुटबलको महाकुम्भ: यसरी शुरु हुँदैछ