डा. देवकोटाले बिस्तारै ओठ खोले र भने, ‘आई फिल अमेजिङ, वन्डरफुल !’

Leaderboard Banner

काठमाडौं – वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको शरीर रोगले गाल्दै लगेको छ।

बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ।

असाध्ये रोगले ग्रसित उनको मुहारमा केही दिनयता अनौठो आत्मसन्तुष्टि झल्किएको आफन्त र चिकित्सकले सहजै अनुमान लगाउन सक्छन्।

एनेस्थेसियोलोजिस्ट डा. मयुस मुनाकर्मीले शनिबार प्रश्न सोधिहाले, ‘डाक्टरसाप् कस्तो लाग्यो त?’

डा. देवकोटाले बिस्तारै ओठ खोले र भने, ‘आई फिल अमेजिङ, वन्डरफुल !’ नजिकै बसिरहेका आफन्तको अनुहारमा पनि चमक देखियो डा. देवकोटाको प्रतिक्रिया सुनेर। ‘घरको पिँढीमा बसेर सिस्नेपानीको पानी कलकल खाने इच्छा थियो,’ देवकोटाका भतिजा वसन्तले भने, ‘गाउँ पुगेर त्यो धाराको पानी खाएर आएपछिस उहाँको अनुहारमा अनौठो सन्तुष्टि देखियो।’ यो खबर आजको नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

बिहानदेखिकै निरन्तर प्रयासपछि परिवारले उनलाई जन्मगाउँ पु(याउने इच्छा शनिबार पूरा भएको थियो। ‘बेलायतमा छँदैदेखि उहाँले मेडम (श्रीमती डा. मधु) लाई एकपटक गाउँ पु(याउन वचनबद्ध गराउनुभएको रहेछ,’ वसन्तले भने, ‘थप सुधार होला र सकेसम्म बासै बस्ने गरी लान सकिन्छ कि भन्ने लागेको थियो। तर शनिबारै लैजाने निर्णय भयो र पु-याइयो पनि।’

बेलायतमा किङ्स कलेज हस्पिटलमा उपचार भइरहँदा डा. देवकोटाले श्रीमती मधुसँग ‘एकपटक मलाई गाउँ पु-याइदिनुपर्छ’ भनेका थिए। ‘घरमा जाने, लमजुङ साइँलीटारस्थित मामाघर जाने र सबैलाई भेटेर आउने भन्नुभएको थियो,’ देवकोटासँग गोरखा पुगेर फर्किएका उनका मामाका छोरा काशीराज घिमिरेले भने, ‘लमजुङचाहिँ पु-याउन सकिएन।’

डा. देवकोटाको स्वास्थ्यमा केही सुधार आएपछि गाउँ लैजाने योजना परिवारको थियो। १८ गते शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखियो, चिकित्सकले तत्काल भेन्टिलेटरमा राख्ने निर्णय गरे।

उनको स्वास्थ्यमा बिहीबार केही सुधारको संकेत देखिएपछि चिकत्सकले शुक्रबार भेन्टिलेटर हटाएका थिए।

एकातिर बिग्रँदो स्वास्थ्य अवस्था अर्कोतिर उनको स्वास्थ्यलाई लिएर अफवाहसमेत फैलिएपछि परिवारले जन्मथलो गोरखा आँपपीपलस्थित पण्डितगाउँ लैजाने निर्णय गरेको थियो।

बिहानै अस्पतालका तर्फबाट विज्ञप्ति जारी गरेर डा. देवकोटाको स्वास्थ्य गम्भीर भए पनि हल्ला चलेजस्तो अप्रिय अवस्था नआएको स्पष्ट पारिएको थियो।

अस्पताल परिसरमा शुभेच्छुक र आफन्तको भीड लागेपछि उनलाई ह्विल चियरमा राखेर अस्पताल कम्पाउन्डसम्म ल्याइएको थियो।

अपराह्न अस्पताल परिसरमा हेलिकप्टर अवतरण गराएर उनलाई राखियो।

हेलिकप्टर उड्नासाथ अचानक बादल मडारिएर वर्षा सुरु भयो। उडिसकेको हेलिकप्टर फेरि अवतरण भएर केही समय रोकियो।

मौसम सहज भएपछि हेलिकप्टर उडाइएको थियो।

डा. देवकोटा चढेको हेलिकप्टर पण्डितगाउँदेखि आधा घन्टा पर बोहोरागाउँमा अवतरण भएको थियो।

त्यहाँबाट स्ट्रेचरमा बोकेर उनलाई जन्मघर पु-याइएको थियो। ‘भेट्न आएका गाउँभरका आफन्तलाई इसारा फर्काउनुभयो,’ घिमिरेले भने, ‘सिस्नेपानीको पानी खानुभयो।’ उनलाई पण्डितगाउँमै रहेको जयन्ती मन्दिरको दर्शन पनि गराइएको थियो।

डा. देवकोटा सात महिनाअघि बेलायतका एक चिकित्सक साथीसँग पण्डितगाउँ गएका थिए। उनको घरमा परिवारका कोही पनि सदस्य नबसे पनि उनले घरको परम्परागत शैली बचाउँदै पुनर्निर्माण गरेका छन्। ‘भूकम्पमा केही क्षति भयो, पछि उहाँले नै पुनर्निर्माण गराउनुभयो,’ घिमिरेले भने।

सात महिनाअघि बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र बायस्पी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्तनली) मा क्यान्सर पुष्टि भएको थियो। लामो समयसम्म बेलायतमा उपचार गरी डा. देवकोटा ६ हप्ताअघि नेपाल फर्किएका थिए।

३७ वर्ष लामो चिकित्सासेवामा आबद्ध डा. देवकोटाले करिब ३४ हजार व्यक्तिको शल्यक्रिया र सात लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेका छन्।

प्रकाशित : आइतबार, जेठ २७, २०७५०७:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ठूला मुुद्दा जो अझै टुंगो लागेका छैनन्, यी हुन् ती हाइप्रोफाइल मुद्धा