इन्काउन्टर हुने डरले गोरेद्वारा आत्मसमर्पण

Leaderboard Banner

काठमाडौं । साढे ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले छानबिन समितिसमक्ष आत्मसमर्पण गरेका छन् ।

समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रक्राउ गरेको बताए पनि उनले जीवनको रक्षाका लागि भन्दै आत्मसमर्पण गरेका हुन् ।

घटनामा आफूलाई मात्र मुख्य दोषी देखाउन थालेको भन्दै उनले केही समयदेखि आत्मसमर्पणको लागि पहल गर्दै आइरहेका थिए ।

गोरेको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार केही मानवअधिकार संगठन र छानबिन समितिकै केही सदस्यको सक्रियतामा उनले आत्मसमर्पण गरेका हुन् ।

भारतमा रहेका उनले आत्मसमर्पण गर्नुअघि भिडियो बनाएर आफू घटनामा संलग्न नभएको सन्देश पठाएका छन् । यो समाचार आजको सौर्य राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

त्यसमा उनले पटक–पटक आफू निर्दोष रहेको र फसाउन खोजिएको भन्दै आत्मसमर्पण गर्न खोजेको बताएका छन् ।

सो भिडियो उनकै परिवारको सहयोगमा छानबिन समितिलाई पठाइएको थियो ।

त्यसपछि छानबिन समिति र परिवारकै संलग्नतामा गोरेसँग पटक–पटक वार्ता भएपछि उनी केही दिनअघि राजधानी आएका हुन् ।

गोरेले आफूलाई सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको समूह र सुनकाण्डमै संलग्न रहेका उच्चतहका व्यक्तिबाट मारिने डर रहेको बताएका थिए ।

आफू निर्दोष रहेको बताउँदै उनले यदि आफूबाट गल्ती भएको भए झुन्डाएर मार्नसमेत भिडियोमा भनेका छन् ।

प्रक्राउ परेको दाबी गर्दै छानबिन समितिले गृहमन्त्रालयमा छोटो एकतर्फी पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो ।

सार्वजनिक कार्यक्रममा गोरे आफँैले प्रहरीले लगाएको कालो मास्क खोलेर फोटो खिच्न भनेका थिए ।

रातो टोपी र कालो मास्क लगाएर आएका उनको टोपी मात्र खोलिदिन पत्रकारहरूले प्रहरीलाई आग्रह गरे पनि हत्कडी लगाएका गोरे आफँैले नै ‘लौ खिच’ भन्दै पूरै मास्क खोलिदिएका थिए ।

त्यसपछि त्यहाँ उनले केही बोल्न सक्ने भन्दै प्रहरीले हतार–हतार पत्रकार सम्मेलनस्थलबाट लगेका थिए ।

समितिका संयोजक एवं मन्त्रालयका सहसचिव ईश्वरी पौडेलले मात्र बोलेको पत्रकार सम्मेलनमा भने, ‘मंगलबार बिहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौं–८ गौरीधारा क्षेत्रबाट पक्राउ गरिएको हो ।

विशेष संयन्त्र परिचालन गरी भारत तथा नेपालका विभिन्न क्षेत्रमा उनको खोजी भइरहेको थियो ।

त्यसैक्रममा उनी काठमाडौं आएको विशेष सूचनाको आधारमा मंगलबार बिहानै पक्राउ गरिएको हो ।’ पत्रकारलाई कुनै पनि प्रश्न नसोध्न भन्दै पौडेलले गोरेबाट घटनामा संलग्न भएको आरोपमा मुद्दा दर्ता भएका सबै ६५ जनाबारे थप जानकारी र प्रमाण प्राप्त भएको बताए ।

आफूहरू गएको तीन दिनदेखि कार्यालयभन्दा बाहिर गोप्य स्थानमा रहेर गोरेको खोजी गरिरहेको र मंगलबार बिहान पक्रन सफल भएको पौडेलको भनाइ छ ।
प्रक्राउ परेको केही समयपछि नै गोरेले आत्मसमर्पण गर्न चाहेको पत्र नेपाल मानवअधिकार संगठन नामक संस्थालाई लेखेको सार्वजनिक भएको छ ।

त्यसका महासचिव केपी सुवेदीलाई ३ जेठमा पत्र लेख्दै उनले आत्मसमर्पणको वातावरण बनाइदिन आग्रह गरेका छन् ।

प्रकाशित : बुधबार, जेठ ०९, २०७५०९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

म त कमिसन लिने मात्र हुँ ! ठूला खेलाडी अरू नै छन् : गोरे