एमाले-माओबादी केन्द्रबीच पार्टी एकता भए लगत्तै डा. बाबुराम भट्टराईले लेखे यस्तो बोल्ड स्टाटस

Leaderboard Banner

काठमाडौँ । बिहिबार दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकापा माओबादीबीच पार्टी एकता भई नयाँ एकीकृत पार्टी नेपाल कमयुनिष्ट पार्टीको घोषणा भएको छ।

पार्टी एकताको घोषणा भएको घोषणा भएसंगै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई प्रमुख ‘कम्युनिष्ट’ घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिएका छन्।  उनले   सामजिक संजाल फेसबुकमार्फत एउटा लामो स्टाटस नै लेखेर यसबारे आफ्नो धारणा सार्वजनिक गरेका  हुन्।

भट्टराईको उक्त स्टाटस यसप्रकार छ:

नेपालका दुइ प्रमुख ‘कम्युनिष्ट’ घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय हो।यसलाई कसैले पनि केही हैन भनेर नकार्न मिल्दैन। यो विषयमा आगामी केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा हुने नै छ।मार्क्सीय दर्शनमा आधारित वैकल्पिक राजनीतिक आन्दोलनको एक अभियन्ताको नाताले यसबारे केही प्रारम्भिक टीप्पणी प्रस्तुत गर्न चाहन्छु:-
० एउटै विचार, नीति , कार्यक्रम, संगठनात्मक प्रणाली, कार्यशैली अंगिकार गर्ने पार्टीहरू वीच एकता हुनु राम्रो कुरा हो।त्यस अर्थमा ‘कम्युनिष्ट’ शब्दप्रति ऐतिहासिक कारणले नेपाली जनता र कार्यकर्ताको ठुलो हिस्सामा आकर्षण बाँकी रहेकाले आफुलाई कम्युनिष्ट पार्टी भने पनि ब्यबहारमा राज्य पुँजीवाद/ क्रोनी क्यापिटालीज्मलाई अपनाइसकेका ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी राजनीतिक वर्चस्वकालागि आपसमा विलय हुनु स्वाभाविक हो!

॰ २०५२ साल अघिदेखि नै राजतन्त्र अन्तर्गत जबजको नाउँमा त्यो बाटो समातीसकेको एमाले र त्यसका विरूद्ध दशवर्षे जनयुद्ध संचालन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेल्ने माओवादी वीच अहिले मूलत: एमालेकै राजनीतिक कार्यदिशा र वर्चस्व अन्तर्गत एकीकरण हुनु चाहिं विडम्वनापूर्ण कुरा हो।यसले मुख्यत: जनयुद्ध, मधेस/थारू आन्दोलन र जनजाति आन्दोलनको बलमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी/समानुपातिक लोकतन्त्रको रक्षा मर्जर पश्चात बनेको पार्टीले कसरी गर्ला भन्ने गम्भीर प्रश्न उठ्नेछ! ऐतिहासिक जनयुद्धको दशबर्षसम्म विपरित ध्रुवमा उभिएका र एकअर्कालाई सिध्याउने मनोविज्ञान बोकेका दुइ पक्षका नेताकार्यकर्ताको मिलन कसरी होला अर्को व्यवहारिक समस्या हुनेछ। कि त एमालेजनले जनयुद्धमा नलाग्नु र विरोध गर्नु गलत थियो भन्ने भित्री मनले स्वीकार्नु पर्यो कि प्रचण्ड माओवादीले जनयुद्ध गलत र अपराध थियो भनेर पश्चाताप गर्नुपर्यो! दुवै एकैसाथ सही कसरी हुनसक्छन्?

० वैचारिक रूपले सबभन्दा गम्भीर समस्या शास्त्रीय मार्क्सवाद-लेनिनवाद-माओवादले परिभाषित गरेको दार्शनिक , राजनीतिक अर्थशास्त्रीय र वैज्ञानिक समाजवादका सिद्धान्त र मूल्यमान्यता परित्याग गर्ने तर ‘कम्युनिष्ट पार्टी’ को ब्यानर/ ब्राण्ड चाहिं समातिराख्ने कुराले ल्याउने असाध्य अन्तर्विरोध कसरी हल होला?

० यो स्थितिमा इमान्दारीपूर्वक विगतका उपलब्धीको रक्षा गर्दै आगामी दिनमा देशमा राष्ट्रिय औद्यौगिक पुँजीवादको विकास गर्दै समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादी विचार र पार्टीको निर्माणमा लाग्नु र त्यसनिम्ति वृहद राजनीतिक ध्रुवीकरण गर्नु उपयोगी र वस्तुवादी होला कि!

सबैले गम्भीरतापूर्वक सोचौं!!

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले-माओवादीबीचको पार्टी एकताबारे के भने उपेन्द्र यादवले ?