भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा (फोटोफिचर)

Leaderboard Banner

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र गई हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरेका छन् ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुगेका थिए । पशुपतिनाथ मन्दिर परिसरमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गरेका थिए । उनको स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थियो ।

भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका थिए । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे । मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए ।

पूजापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गरेकोजानकारी दिए।  मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । त्यसबेला पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ रु २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेका थिए । जुन रकम विभिन्न कारणले अहिले सम्म पशुपति विकास कोषले प्राप्त गरेको छैन।

पुजाआजापछी प्रधानमन्त्री मोदीले आगन्तुक पुस्तिकामा आफ्ना केहि अनुभव लेखेका छन्।
जुन यसप्रकार छ:

‘म प्रसन्न भएको छु किनकी फेरी एक पटक भगवान पशिपतिनाथ मन्दिरमा प्रार्थना गर्ने सुअवसर मिलेको छ। यो मन्दिर भारत र नेपालका मानिसहरुको साझा धार्मिक विरासतको प्रतिक हो।

म नेपाल र भारतका मानिसहरुको जीवनमा शान्ति, प्रगति, र सम्वृद्धिको कामना गर्दछु।मेरो यात्राको लागि गरिएको व्यवस्थाहरुको लागि म पशुपति विकास क्षेत्र विकास कोष र नेपाल सरकारप्रति आभारी छु। मैले आशा गरेको छु की यस मन्दिर परिसरमा भारत नेपाल सहयोगमा बनिरहेको धर्मशालाबाट शिघ्र श्रद्धालुहरुले नयाँ सुविधा मिल्नेछ।’

नरेन्द्र मोदी
प्रधानमन्त्री, भारत

आगन्तुक पुस्तिकामा मोदीले लेखेको आफ्नो अनुभव:

प्रकाशित : शनिबार, बैशाख २९, २०७५१३:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ग्रेटर नेपालका राष्ट्रबादी नेता फणिन्द्र नेपाल विमानस्थलबाटै पक्राउ !