प्रहरीलाई नोकर बनाउने यी हुन प्रहरीकै हाकिमहरु, उतारियो विवरण, ‘स्वीप’ गर्ने तयारीमा सर्वेन्द्र

Leaderboard Banner
तस्बिर श्रोत : नेपाल प्रहरीको फेसबुक पेज

काठमाडौं । सुरक्षा निकायका कर्मचारीलाई सुरक्षासम्बन्धी काममा खटाउन राज्यले प्रतिव्यक्ति आठदेखि १० लाखसम्म अतिरिक्त लगानी गरी तालिम दिन्छ, दक्ष बनाउँछ ।

तर, तीमध्ये सानो दर्जाका अधिकांश सुरक्षाकर्मी खटिन्छन् कहाँ रु हाकिमकहाँ– घरायसी काम । यो खबर जन आस्था साप्ताहिकमा प्रकाशित छ।

बाँचेका हाकिमले त लिए–लिए, मरेका हाकिमकहाँ पनि बाँकी राखिएको छैन, सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा प्रयोग गर्न ।

०५९ माघ १२ गते बिहान ललितपुरको बागडोलमा माओवादीद्वारा मारिएका सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक कृष्णमोहन श्रेष्ठ कहाँ अहिले पनि ६ जना कर्मचारी सुरक्षाको नाममा खटाइएका छन् ।

यही वैशाख १९ गते गृहलाई सशस्त्र मुख्यालयले नै दिएको विवणमा लेखिएको छ संख्या ।

०६३ वैशाख २९ गते अवकास पाएका महानिरीक्षक सहवीर थापाको ०६७ जेठ ४ गते क्यान्सर रोगका कारण ५९ वर्षको उमेरमा निधन भयो ।

तर, अहिलेसम्म पनि उनको कुलेश्वरस्थित घरमा तीनजना सशस्त्र प्रहरी खटाइएका छन् ।

यीबाहेक बासुदेव वलीकहाँ तीन, सनत बस्नेतकहाँ पाँच, किशोर लामाकहाँ ६, शैलेन्द्र श्रेष्ठकहाँ ६, कोषराज वन्तकहाँ पाँच, दुर्जकुमार राईकहाँ पाँच र भर्खरै रिटायर्ड भएका सिंहबहादुर श्रेष्ठकहाँ चार सशस्त्र प्रहरी सुरक्षाको नाममा खटाइएका छन् ।

यी त महानिरीक्षक, अर्थात् संगठन प्रमुख भएर रिटायर्ड भएका कारण मानका खातिर सुरक्षा दिइयो भनेर चित्त बुझाउन सकिएला ।

तर, नेपाल प्रहरीको बिजोग अर्कै छ ।

अहिले पनि गृहसचिवबाट रिटायर्ड भएका सबैजसो हाकिमकहाँ नेपाल प्रहरीका कामदार राखिएका छन् ।

गृहमा पचास जना सवारी चालक छन्, तर हाकिमलाई ती चालकले हुँदैन, प्रहरी नै चाहिन्छ ।

कारण हो, प्रहरी भए सलाम ठोक्छ ।

घरमा पुछपाछदेखि सरसफाईसम्ममा सघाउँछ ।

प्रहरीको लोभ हो, गृहका हाकिमले भनेपछि सानो मिसन पक्का १ फलतः त्यहाँका केही ड्राइभर मन्त्रालयपछाडिको ग्यारेजमा दिनभर तास खेलेर जागिर पकाउँछन् ।

लोकमानको रजगज चल्दा अख्तियारबाटै रिटायर्ड भएका र त्यहीँ विज्ञको नियुक्ति पनि पाएका एसपी भरत शर्मासँग अहिले पनि दुई जना प्रहरी आफूसँग र छोरी–ज्वाइँको स्याहारका लागि अर्का दुई जना प्रहरी छन् ।

अरुले छोरीलाई दाइजोमा अर्थोकै दिन्छन्, यिनले चाहिँ ‘आपका जाएगा, न बापका जाएगा’ भन्दै दुई सिपाही पठाइदिए ।

उनकी साली छिन्, सई अञ्जना । बस्ने उनको घरमा, हाजिर गर्ने अख्तियारमा ।

अख्तियारमा हाजिर गरेबापत ९९ प्रतिशत अतिरिक्त भत्ता पाइन्छ ।

अहिले अख्तियार दरबन्दी भएर हाकिमकहाँ कामदार राखिएका झण्डै ३० जना प्रहरीको रेकर्ड हेडक्वार्टरले उतारेको छ ।

रिटायर्ड आइजीजति सबैकहाँ तीनदेखि १० जनासम्म प्रहरी छन् ।

त्यसमध्ये ओमविक्रम राणा सदरखोर डिल्लीबजारमा सुशीला कार्कीको प्रतापले कैद सजायँ भुक्तान गरिरहेका छन् ।

तर, उनको घरमा सात जना प्रहरी कामदारको रूपमा राखिएका छन् ।

नेपाल प्रहरीका त भूपूडिएसपीसम्मले कामदार राख्न भ्याएका छन् ।

एआइजीबाट रिटायर्ड भएका पशुपति उपाध्यायसँग एकजना ड्राइभर, एक जवान र एक परिचर छन् ।

एसएसपीबाट रिटायर्ड भएका लव बिष्ट, कृष्ण गौतमहरुले पनि घरायसी काममा प्रहरी कर्मचारीलाई लगाएका छन् ।

राजेन्द्रसिंह भण्डारी, कल्याण तिम्सिना, नवराज ढकाल, नरेश गुरुङ, मदन खड्काहरुले पनि एकजना ड्राइभर र परिचर राखेका छन् ।

आइजीबाट रिटायर्ड भएका रमेश चन्द ठकुरी फरार सूचीमा छन् ।

तर, उनको घरमा पनि तीन जना प्रहरी खटिएको अभिलेख हेडक्वार्टरको एमटी र सुरक्षा सेवा निर्देशनालयमा छ ।

सुडान घोटाला प्रकरणमा उनीभन्दा अघिका महानिरीक्षकमध्ये हेमबहादुर गुरुङले कैद सजायँ भुक्तान गरिसके ।

उनी कैद सजायँमा छँदा पनि घरमा सुरक्षाकर्मी थिए ।

खाउञ्जेल जागिरबापत तलब खाने, सकिएपछि पेन्सन खानेसम्म त स्वाभाविक हो ।

तर, बहालमा रहेकैजस्तो सुविधा पनि लिने चलनले सबभन्दा बढी विकृति नेपाल प्रहरीमै मौलाएको छ ।

जागिर सकिएपछि अधिकांश हाकिम व्यापार व्यवसायमा लाग्छन् ।

तिनले त्यत्तिका पैसा कहाँबाट कमाएर लगानी गरेका हुन् रु राज्यले यो खोज्दैन ।

जस्तो कि, रमेश चन्द ०७२ को भूकम्पले क्षतिग्रस्त धापासीस्थित हिमालयन होराइजन अपार्टमेन्टका सिइओ थिए ।

तर, ‘फरार हुनुपर्ने’ भएपछि अहिले सार्वजनिक जीवनमा देखिएका छैनन् ।

पोहोर रिटायर्ड भएका एआइजी वीरेन्द्रबाबु श्रेष्ठ मारवाडी अशोक अग्रवालहरुका पार्टनर छन् ।

त्यही समूहको व्यापारिक फर्म सूर्य लाइफ इन्स्योरेन्समा पनि आबद्ध छन् ।

उनीसँग पनि तीनजना घरेलु कामदार छन्, प्रहरीका । उनकै व्याची रमेशशेखर बज्राचार्य विनोद चौधरीकोमा उपाध्यक्ष बनाइएका छन् ।

न्यायाधीश र कर मामिला मिलाएर बसेका छन् । एउटा व्यापारिक फर्मले बिना लगानी कसैलाई पनि उपाध्यक्षजस्तो पद दिँदैन, त्यो पनि चौधरीजस्ता चुइँयाले । उनीसँग तीनजना प्रहरी साथमा छन् ।

भूपू एआइजी राजेन्द्रबहादुर सिंह नर्भिक अस्पतालमा मिहिनेतको काम गर्द छन्, सिइओका रुपमा ।

तर, जागिरभर टन्न पैसा कमाएका अधिकांश प्रहरी व्यापारिक फर्मको साझेदार नै भएका छन् ।

पेन्सन खाने, सुविधा लिने र व्यक्तिगत व्यापार, व्यवसाय पनि चलाउने । यस्तो स्वर्ग अन्त मिलोस् कसरी ?

एआइजीबाटै रिटायर्ड भएका किरण गौतम मोरङ अटो वक्र्सले बजार प्रबद्र्धन गर्ने यामाहा ब्राण्डका गाडीको व्यापारमा छन् ।

बरु, केशव अधिकारीले अवकाशपछि केही काम नपाएर दाजुभाइले सम्हालेको पुख्र्यौली चिया उत्पादनको काम जिम्मा लिएका छन् ।

डिआइजीबाट रिटायर्ड हेमन्त मल्लले हेडक्वार्टरले पठाएका परिचर फिर्ता गरेका छन् ।

१५ हजार पेन्सनले खान पुग्छ उनलाई । एआइजीबाट रिटायर्ड भएका गंगा पाण्डे ल फर्म खोलेर कानुनी अभ्यासमा छन् ।

घरमा सहयोगीका रुपमा सिपाही राखेका छन्, गाडी पनि उनैले चलाउँछन् ।

एआइजीबाट रिटायर्ड प्रताप थापासँग पनि तीनजना कामदार प्रहरी छन् ।

राज्यको तलब खाने कर्मचारीलाई जुन प्रयोजनका लागि भर्ना गरिएको हो, त्यसबाहेकको ड्युटी लगाउन पाइँदैन ।

पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसम्मलाई निश्चित सेवा सुविधा दिने गरी मस्यौदा गरेको छ ।

तर, प्रहरीमै जागिर खाएर रिटायर्ड भएका हाकिमलाई घरेलु कामदारका रुपमा सिपाही खटाउने व्यवस्था कुनै पनि ऐन, कानुनले गरेको छैन ।

अझ विधेयकको आठौँ दफामा त स्पष्ट उल्लेख छ कि, सरकारी कोषबाट पारिश्रमिक पाउने गरी निर्वाचित, मनोनीत वा नियुक्त भई सार्वजनिक पदमा बहाल रहेसम्म सुविधा पाइँदैन ।

त्यस्तै, महाभियोगको प्रस्ताव पारित भई पदबाट मुक्त भएमा, नैतिक पतन, फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा सुविधा नपाउने उल्लेख छ ।

छाँट्ने छनक
‘पहिला जे भयो, भयो, अब त्यस्तो चल्दैन’, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहाली भएयता पटक–पटक पिसिसी बैठकमा दोहोर्याउने गरेको शब्द हो यो ।

अर्थात्, भूपू र सिभिलियनकहाँ घरेलु कामदारका रुपमा खटाइएका प्रहरी कर्मचारीलाई एक महिनाभित्र फिर्ता ल्याउन सुरक्षा सेवा निर्देशनालयलाई निर्देशन दिइसकेका छन् ।

सँगै, वर्षौंदेखि हेडक्वार्टरमा रजगज चलाउँदै आएका तल्लो दर्जाका प्रहरीलाई लखेट्ने काम पनि शुरु गरेका छन् ।

अहिले पनि हेडक्वार्टरका संवेदनशील निकायमा अच्युतकृष्ण खरेलको पालादेखिका मानिसहरु बसिरहेका छन् ।

जस्तो कि, सिपाहीमा जागिर खाँदा कप्रमा काम बसेका धिताल सई भइसके, त्यहीँ छन् ।

प्रबन्ध शाखामा चौलागाइँ थरका असई छन्, सिपाहीदेखि नै त्यहाँ बसेका ।

कुनै दिन तपाईंले एक नम्बर गण अगाडिको रेस्टुरेण्टमा केही ठेकेदार भेट्नुभयो भने पक्का मान्नुस् कि, चौलागाईंलाई पैसा बुझाएर उनीहरु कुनै काम लिन खोज्दैछन् ।

कानुनमा इन्स्पेक्टर छन्, राई थरका । यिनी पनि जागिर खाएदेखि अन्त गएका छैनन् ।

कार्यविभागमा सई खड्का छन्, हवल्दारदेखि बसेका ।

बजेट शाखामा वर्षौंदेखि बसेका एक एसपी र एक डिएसपी छन्, हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्दै सभ्य भाषामा धम्क्याउने, कहाँबाट के चुहाउँदा आइजीको चुकुल फुस्किन्छ भन्ने कुराका यी दुई भाइ विज्ञ मानिन्छन् ।

प्रहरीको पेट्रोल पम्पमा खुलेदेखि अहिलेसम्म एउटै अनुहारका मान्छे बस्छन् ।

त्यहाँ अरु जान सक्दैनन्, गइहालेछन् भने ६ देखि ७ महिनाभन्दा टिक्न दिँदैनन् ।

आइजी सर्वेन्द्रले यी सबै विवरण उतारेर ‘स्वीप’ गर्ने तयारी थालेको बताइन्छ ।

प्रकाशित : बिहिबार, बैशाख २७, २०७५१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोदीले नेपाली सुरक्षा निकायप्रति किन यतिधेरै अविश्वास गरे ? ओली निरिह जस्तै देखिए