इँटा उद्योगका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

Leaderboard Banner

ललितपुर, वैशाख २५ –शहरी वातावरण व्यवस्थापन समाज (युम्स्)ले ललितपुरको गोदावरी स्थित सन्तानेश्वर इँटा उद्योगमा गरेको बेटर व्रिक–नेपाल परियोजना अन्तर्गत व्रिज स्कुल कार्यक्रम मार्फत इँटा उद्योगमा कार्यरत कामदारका विद्यालय जाने ३२ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नवज्योती माध्यमिक विद्यालय, गोदावरीका प्रधानाध्यापक श्री हरिहर लामिछाने र इँटा उद्योगी श्री रामकृष्ण कोजुद्वारा संयुक्त रूपमा सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

इँटा उद्योग नजिकै रहेको विद्यालयहरूले इँटा उद्योगबाट विद्यालय आउने बालबालिकाहरुलाई विशेष ध्यान दिने र भेदभाव नहोस् भन्ने कुरामा एकदमै सचेत रहेको कुरा प्रअ लामिछानेले बताउनुभयो ।

साथै, बेटर व्रिक परियोजनाले विद्यालय र इँटा उद्योगका कामदार बीच सहजकर्ताको भूमिका खेलेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

अभिभावक लालमाया आलेले शैक्षिक सामाग्रीका कारणले आफ्ना बालबालिकालाई पठनपाठन गर्न सहज भएको तथा आफ्ना बालबालिकाहरू विद्यालय जानका लागि हौसिएको र उत्साहित भएको पनि बताउनुभयो ।

उनले आफ्ना १२ बर्षिय छोरा वीरबहादुर आलेलाई काम गर्नका लागि अन्त पठाएको तर शैक्षिक सामाग्री पाउने भए पछि छोरालाई फिर्ता बोलाएर नियमित स्कुल पठाउने गरेको कुरा पनि बताउनुभयो ।

आफ्ना हातमा कापी, कलम, सिसाकलम, क्याल्कुलेटर, मसी, चित्रकलाका लागि आवश्यक रङ, जुत्ता आदिका साथै किताब राख्ने झोला सहितका शैक्षिक सामाग्री हुँदा बालबालिकाहरु निकै रमाएका थिए । “मलाई स्कुल जान निकै रमाइलो लाग्छ । झोला र जुत्ता नहुँदा त धेरै नै समस्या भएको थियो ।

स्कुल जानका लागि चाहिने अतिआवश्यक कुराहरु पाउँदा धेरै नै खुसी लागेको छ । स्कुल जानका लागि मलाई धेरै नै सहयोग भयो ।” दङ्ग पर्दै बालक राम तामाङले सुनाउनुभयो ।

बेटर व्रिक–नेपाल परियोजनाका कार्यक्रम संयोजक निर्मला के.सी.ले इँटा उद्योगलाई विद्यमान कानुनको पालना गराउन पहल गरी “कामदार मैत्री उद्योग, उद्योग÷व्यवसाय मैत्री नीति र स्थानीय शासन” बनाउन परियोजना लागिपरेको बताउनुभयो ।

करोडौँ लगानी गरेर लाखौँ कामदारलाई स्वदेशमै रोजगारी प्रदान गरिरहेका उद्योग भए पनि यसलाई भट्टाको नामले मात्र चिनिने गरेकाले आइएलओको महासन्धि अनुरूप कामदारको अधिकारलाई सुनिश्चित गर्दै उद्योगलाई व्यवस्थित र सम्मानित तथा बालमैत्री उद्योगको रूपमा स्थापित गर्नु परियोजनाको उद्धेश्य रहेको कुरामा जोड दिनुभयो ।

प्रकाशित : मङ्गलबार, बैशाख २५, २०७५१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाल बैंकको प्रबन्धक र उप–प्रबन्धक पदको लिखित परिक्षाको नतिजा सार्वजनिक (सूचनासहित)