निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

Leaderboard Banner

काठमाडौँ, १९ वैशाख, राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गर्नुभयो ।

तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन कसरी वृद्धि गरी गरिबी निवारणमा योगदान पुर्याउने भन्ने रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालय र सिंँचाइ तथा जल विकास नियोगद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको नारा ‘हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने रहेको छ । जलस्रोतका क्षेत्रका काम गर्ने सो नियोग विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । नेपालले सो संस्थाको सदस्यता सन् १९७३ मा लिएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाहमुखी नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण गर्नुपर्ने खाँचो आँैल्याउनुभयो । उहाँले भन्नुभयो, “कृषि उत्पादन बढाउन दिगो सिँंचाइ प्रणाली आवश्यक पर्छ, अबको योजना कृषि र सिँचाइलाई अलगअलग रुपमा नभई समन्वयात्मक रुपमा अगाडि बढाउनुपर्छ ।”

जथाभावी रुपमा जमिन खण्डीकरण गर्ने प्रवृत्तिलाई रोक्न, चुरे क्षेत्रलाई थप संरक्षण गर्न राष्ट्रपति भण्डारीले आग्रह गर्दै कृषि, वन, वागवानी र सिँचाइ नै नेपालका विकास र समृद्धिका आधार हुन् भन्नुभयो । उहाँले व्यवस्थित सिँचाइ बिना दिगो विकास सम्भव नहुने चर्चा गर्दै जलवायु परिवर्तनका असर जलस्रोत र कृषिका क्षेत्रमा कसरी कम पर्न दिन सकिन्छ भनेर थप अध्ययन अनुसन्धानमा ध्यान दिन आग्रहसमेत गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्री वर्षमान पुनले आर्थिक समृद्धिका लागि नेपाल सरकारले ऊर्जा, जलस्रोत र सिँचाइ तीन क्षेत्रमा विशेष ध्यान दिएको बताउनुभयो । उहाँले तीनै तहको राजनीतिक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थायित्वका साथ अगाढि बढिरहेको चर्चा गर्दै वर्षभरि सिँचाइ हुने नयाँ प्रविधि, ऊर्जामा नयाँ नयाँ लगानीमा सरकारले जोड दिइराखेको छ भन्नुभयो ।

नियोगका अध्यक्ष फेलिक्स राइन्डर्सले नेपालको जलस्रोत नै आर्थिक विकासको आधार हुने हुँदा पानीको अधिकतम सदुपयोगका ध्यान दिन सुझाव दिनुभयो ।ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले सिँचाइ तथा जल व्यवस्थापनमा थप विकास गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रकाशित : बुधबार, बैशाख १९, २०७५१५:१६
अर्को समाचार:

माओवादी बैठकमा प्रचण्डकाे ब्रिफिङः जनयुद्द् र जबजकाे कुरा मिल्याे