झनै कठिन मोडमा कांग्रेस

Leaderboard Banner

काठमाडौं । चुनावी पराजयको जिम्मेवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भएको ठहर गर्दै कांग्रेस केन्द्रीय समितिको लामो बैठक आइतबार सम्पन्न भयो ।

बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा चुनावी पराजयको जिम्मेवारी औपचारिक रूपमै प्रतिस्पर्धी पार्टीको टाउकामा थोपरिएको सायद यो पहिलो नजिर हुनुपर्छ । यो समाचार आजको सौर्य दैनिकमा विन्दुकान्त घिमिरेले लेखेका छन् ।

पराजित खेलाडीले आफ्नो पराजयको जिम्मेवार खेल मैदान तथा प्रतिस्पर्धी खेलाडीलाई ठहर गरेजस्तै वा कुनै सवारी चालकले दुर्घटनाको जिम्मेवार खलाँसी, सडक तथा यात्रुलाई ठह¥याएकै शैलीमा नेपाली कांग्रेसले गरेको यो निर्णयलाई ज्यादै अनौठो मानिएको छ ।

लोकतन्त्रमा यस्तो निर्णय पनि हँुदो रहेछ भन्ने अनुभूति पनि आम नेपालीले गर्न पाएका छन् ।

यो अनौठो निर्णय सर्वसम्मत हो, या बहुमतका आधारमा गरिएको हो भन्ने विषयमा नेपाली कांग्रेसभित्र अन्योल छ । निर्णयमा कसैले पनि फरक मत दर्ज गराएका छैनन् ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने मुद्दालाई जिल्ला सभापतिहरूको राष्ट्रिय भेला तथा महासमितिको बैठकमा लैजाने बताएर असहमति बाहिर ल्याएका छन् ।

बैठकपछि पत्रकार सम्मेलन नै गरेर पौडेलले यो कुरा बताइरहँदा अग्रिम महाधिवेशनको माग गर्दै आएको युवा समूहको मौनता निकै रहस्यमय मानिएको छ ।

बैठकमा गगन थापालगायत ६ युवानेताले अग्रिम महाधिवेशनको माग गर्दै ६० पेज लामो दस्ताबेज दर्ज गराएका थिए । उनीहरूको माग पनि बैठकले सम्बोधन गरेन ।

आफ्नो माग सम्बोधन नभएको अवस्थामा फरक मत दर्ज गर्ने प्रचलन छ । तर, पार्टी पराजयको जिम्मेवार प्रतिस्पर्धी पार्टीलाई ठहर गर्ने निर्णयमा युवा नेताहरूले समेत लाज नमानी हस्ताक्षर धस्काए ।

प्रदेशसभा र प्रतिनिधिसभामा भएको करारी हारको समीक्षा गर्दै पार्टीको भावी मार्गचित्र तयार गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा पराजयको जिम्मेवारी कसले लिने भन्ने विवादबाहेक अरू कुरामा छलफल हुनै सकेन ।

पार्टीको भावी मार्गचित्रसमेत तयार नगरी बैठक समापन गरियो । पार्टी पराजयको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने पौडेल पक्षको अडान र प्रतिस्पर्धी दलका नेता तथा आफ्नो पार्टीको केन्द्रीय समितिदेखि क्रियाशील सदस्यसम्मले पराजयको जिम्मेवारी लिनुपर्ने देउवा पक्षको अडानका कारण माइन्युट लेख्नसमेत समस्या परेको देखियो बैठकमा ।

शुक्रबार छलफल सकिए पनि ‘माइन्युटमा के कुरा लेख्ने ?’ भन्ने विवादले थप तीन दिनको समय लियो । अन्ततोगत्वा सभापति देउवाले जे अडान राखेका थिए, त्यसलाई चुपचाप स्वीकार गर्न पौडेल पक्ष तथा युवा नेताहरूको समूह बाध्य भएको देखियो ।

प्रकाशित : बुधबार, बैशाख १९, २०७५०९:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यस्तो रहनेछ यस वर्षको मनसुन