रहस्यमय दरबार हत्याकाण्डकाे दाेषी काे हाे ?

Leaderboard Banner

काठमाण्डाै, २०५८ साल जेठ १९ गते शुक्रबार साँझ राजदरबारमा भएको वीभत्स हत्याको वर्षौ बितेको छ । तर हत्याकाण्ड अझै रहस्य नै बनाइएको छ । राजा वीरेन्द्र र उनका परिवारको त्यो कहालिलाग्दो घटनामा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौँ ।
तर दिवंगत राजा वीरेन्द्र र उनका परिवारको वीभत्स हत्यामा श्रद्धाञ्जलि अर्पण गरेर पनि अहिलेसम्म हामी अत्यन्त चिन्तित छौँ । कसरी भयो त त्यो ह्रदयविदारक हत्या ? समयको अन्तरालमा दरबार हत्याकाण्डलाई लिएर अनेकौँ कोणबाट चर्चा–परिचर्चा एवम् मिथ्या आरोप थुपार्ने अनावश्यक विवाद उब्जाउँदै राजदरबार हत्याकाण्डलाई आआफ्नै ढंगले व्याख्या गर्ने गरिएको पनि छ ।
हत्याको घटनालाई दलका तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा एमाले नेता माधव नेपालहरूले देशलाई संक्रमणकाल र अस्थिरताबाट जोगाउन राजा ज्ञानेन्द्रलाई २०४७ सालको संविधानअनुसार राजाको रूपमा स्थापित गरी राजसंस्थालाई निरन्तरता दिए । राजदरबार हत्याकाण्ड भएको सात दिन नपुग्दै माओवादी नेता बाबुराम भट्टराईले जेठ २४ गते कान्तिपुरमा एक लेख छपाएर दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको हात छ भनेर प्रकाशित गराए ।
त्यो लेखले नेपाली समाजमा ठूलो भ्रम खडा गर्‌यो । वास्तवमा भारतीय दूतावासस्थित भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख र बाबुराम भट्टराईको सुमधुर सम्बन्ध कायम रहेकाले यिनै ‘रअ’ प्रमुखको सल्लाहमा बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई आरोप गरेर उक्त लेख लेखेका थिए । किनकि ‘रअ’ प्रमुख हर्मिज र बाबुराम भट्टराई दुवै क्याथोलिक भएकाले यी दुईबीचमा राम्रो सम्बन्ध थियो ।
त्यसपछि कस्तो हंगामा मच्चियो भने दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्र र पारसलाई दोष थोपरेर अरूले पनि आफूखुसी लेख्न थाले । यसरी राजा ज्ञानेन्द्रप्रति आरोप लगाएर भारतीय सञ्चारमाध्यमले पनि लेख्न थाले । यसले व्यापकता पाएपछि नेपाल हेर्ने ‘रअ’ प्रमुख बढुवा भएर भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखमा नियुक्त भए भने आलोक जोशी ‘रअ’ को नेपाल हेर्ने गुप्तचर प्रमुख बने ।
त्यसपछि योजनाबद्ध रूपले माओवादीलगायत कांग्रेस, एमालेका नेताहरू ‘रअ’ को माध्यमबाट दिल्ली दरबार धाएर बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेर प्रायोजित जनआन्दोलनमा सहभागी बने । जनआन्दोलनले रक्तपातपूर्ण स्थिति खडा गर्न थालेकाले राजा ज्ञानेन्द्रसँग सम्झौता गरेर जनआन्दोलन विसर्जन भएको थियो । तर जनआन्दोलनपछि राजासँगको सम्झौतालाई धोका दिएर मुलुकलाई धर्म निरपेक्ष, गणतन्त्र बनाउने रणनीतिमा दलहरू लाग्न थाले । नेपालमा अहिलेको संकटको कारक नै यही हो ।
राजा वीरेन्द्र देशप्रेमी र प्रजातन्त्रवादी थिए । उनलाई पाँचै विकास क्षेत्रका १४ अञ्चल ७५ जिल्लाको बारेमा गहिरो ज्ञान थियो । नेपालको आर्थिक विकासका निमित्त शान्ति क्षेत्रको माध्यमबाट मुलुकलाई समुन्नत बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए । नेपालको भौगौलिक बनावट र सामरिक दृष्टिकोणले दुवै छिमेकी राष्ट्रसँग सुमधुर सम्बन्ध राख्नमै उनी अघि बढिरहेका थिए । उनले नेपाली सेनालाई तालिमका निमित्त आवश्यक पर्ने केही हातहतियार चीनसँग खरिद गरेपछि भारत सशंकित भयो । राजीव गान्धीसँग राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्बन्ध चिसिन गएको थियो ।
त्यही मौकाको फाइदा उठाएर नेपालमाथि भारतले आर्थिक नाकाबन्दी नै गर्‌यो । नाकाबन्दीबाट नेपालीलाई झुकाउन नसकेपछि नेपालमा २०४६ सालमा आन्दोलन उचाले । आन्दोलनकारीको सहयोगको लागि भारतबाट चन्द्रशेखर नेपाल आए । पञ्चायती व्यवस्था फाल्ने मात्र भारतको चाहना थिएन, राजतन्त्रप्रति असहमति जनाउने कांग्रेस (आई) को नीतिसँग राजा वीरेन्द्र नझुकेपछि भारत नेपालसँग चिढिएको थियोे ।
नेपालको शान्ति क्षेत्र प्रस्तावलाई भारतले अस्वीकार गरिरहेको थियो भने सार्क राष्ट्रको संगठनमा राजा वीरेन्द्रको भूमिकाप्रति भारत खुसी थिएन । कलकत्ताका कम्युनिस्ट् नेता ज्योति वसुका घरमा गरिएको बैठकबाट नेपालका राजारानीविरुद्ध जथाभावी नारा सुरु भएको थियो । नेपालका केही राजनीतिक दलका नेताहरू भारतमै बसेर राजतन्त्र कसरी हटाउन सकिन्छ भन्ने षड्यन्त्रमा लागिरहेका बेला राजदरबार हत्याकाण्ड भएपछि सो घटना भारतले गराएको आशंका गरियो । वास्तवमा यस घटनामा ‘रअ’ को गहिरो सम्बन्ध थियो भन्ने हर्मिज र बाबुराम भट्टराईको उठबसबाट स्पष्ट हुन्छ ।
दीपेन्द्रसँग दिव्यानी राणाको विवाह गर्न रानी ऐश्वर्यको असहमति भएपछि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख पी हर्मिजले अनेकौँ षड्यन्त्रमा संलग्न भएको आधारमा भारत यसमा संलग्न थियो भन्ने पुस्ट्याउँछ । शाही पारिवारिक भेटघाटको क्रममा भएको यो घटनामा युवराज दीपेन्द्रको उन्माद नै यस हत्याकाण्डसँग जोडिएको छ । प्रेममा पागल भएका दीपेन्द्रलाई त्यो घटनाले अझ उत्तेजित बनाएपछि आफ्ना बाबु र आमालाई हत्या गरे भनिएको छ । तर हत्याकाण्डलाई ज्ञानेन्द्रले गराएको भन्ने अतिरञ्जित ढंगबाट प्रचार गरी राजसंस्थाको संवेदनशीलतामाथि प्रश्न उठाइयो ।
२०४६ सालको परिवर्तनपछि फाल्न नसकेको राजसंस्थालाई दरबार हत्याकाण्डपछि देश–विदेशी शक्तिले २०६३ मा राजसंस्था अन्त्य गर्न सफल भए । दरबार हत्याकाण्डको दोष ज्ञानेन्द्रमाथि लगाउन संसद्वादी दलहरूसमेत माओवादीहरूको जालमा भुले । नेपालीहरूले आफ्नो अभिभावकको रूपमा मानेका वीरेन्द्रको हत्या हुँदा देश शोकाकूल भयो । चारैतिर रोदन र क्रन्दनको चीत्कार मात्र सुनिन्थ्यो । रहस्यमय ढंगबाट हत्या भएको त्यो कहालीलाग्दो क्षण सम्झदा अहिले पनि मन खिन्न हुन्छ । सारा अनुसन्धान तथा प्रधानन्यायधीशको समितिको प्रतिवेदनअनुसार दुःखान्त घटनाको खलनायक दीपेन्द्र नै थिए ।
राजा वीरेन्द्रको वंश विनाश भएपछि राजसंस्थाका विरोधीहरूलाई थप हौसला मिल्न पुग्यो । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा अक्षुण्ण राख्न राजसंस्थाको महत्त्वपूर्ण योगदान रहिआएको थियो । राजा वीरेन्द्र लोकप्रिय र राष्ट्रवादी भएकोमा केही देशी–विदेशी शक्तिहरू सहनै सक्दैनथे । वीरेन्द्रको हत्यापछि संसदीय प्रजातन्त्र नै धरापमा पर्न गयो । राजा वीरेन्द्रले माओवादीमाथि सैनिक बल प्रयोग गर्न नदिएकोमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रुष्ट भएका थिए । राजा वीरेन्द्र चाहन्थे, नेपाली नागरिकको हत्या सेना लगाएर गराउनु हुन्न ।
माओवादी विद्रोहको कारण खोजेर समाधानको बाटो लिनुपर्छ भन्ने राजा वीरेन्द्रको भनाइ थियो अनि नेपालमा कसैको पनि रगत बग्नु हुँदैन भन्ने वीरेन्द्र चाहन्थे । यस घटनाक्रममा जेजस्ता विचार प्रस्तुत गरे पनि राजा वीरेन्द्र अब यो संसारमा छैनन् । उनको आत्माको चिर शान्तिको निम्ति पशुपतिनाथसँग प्रार्थना गरौँ । राष्ट्रिय राजनीतिमा राजा वीरेन्द्रको सोच थियो कि नेपालको राष्ट्रियता, प्रजातन्त्र र राजसंस्थाबीचमा सधैँ समन्वय र सन्तुलन रहिरहनुपर्छ ।
अतः प्रजातान्त्रिक मूल्य र मान्यतालाई सबैले आत्मसात गर्ने हो भने अब नेपालको राष्ट्रियता, प्रजातन्त्रको सदृढीकरणको लागि हामी विभिन्न विचारधारामा विभाजिन राजनीतिक तथा गैरराजनीतिक क्षेत्रबाट सोचौँ र संकटग्रस्त देशलाई संकटबाट मुक्त गराउन सक्नुपर्छ । यसो भएपछि देशभक्त राजा वीरेन्द्रको दिवंगत आत्मालाई शान्ति मिल्नेछ ।
-अन्नपूर्ण पाेस्टबाट

प्रकाशित : शनिबार, बैशाख १५, २०७५०९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

४६ सालमै राजतन्त्र सक्न भारतले सेना पठाउँछु भन्दा माधव नेपालले हुन्छ भने, मदन भण्डारी मानेनन्