फिरंगीहरुले पृथ्वीनारायणलाई किन दानवीकरण गरे ?

Leaderboard Banner

सुजित मैनाली 
सन् १८७७ मा प्रकाशित ‘हिस्ट्री अफ नेपाल’मा डेनियल राइटले लेखे– ‘अन्ततः किर्तिपुरमा कपट र असभ्य विजेता(पृथ्वीनारायण शाह/गोरखा)को प्रवेश भयो (पृ १८) ।’ त्यसको तीन वर्षपछि प्रकाशित ‘स्केचेस फ्रम नेपाल–भाग १’मा हेनरी एम्बोर्स ओल्डफिल्डले लेखे– ‘डरछेरुवा, चतुर र अमानवीय राजा थिए, पृथ्वीनारायण । नेपाल(काठमाडौं)को राजगद्दी जितेपछि उनले बर्बरताको हद प्रस्तुत गरे (पृ २७५) ।’

काठमाडौंस्थित बेलायती कुटनीतिक नियोग(रेसिडेन्सी)का यी दुई कर्मचारीले पृथ्वीनारायण शाहबारे यस्तो टिप्पणी गरेयता बाग्मतिमा थुप्रै पानी बगिसकेको छ । तर पृथ्वीनारायणप्रतिको पश्चिमको मुल्यांकन ज्यूँ का त्यूँ छ । रिचार्ड बर्घर्टदेखि जोन ह्वेल्पटनसम्मका पश्चिमीले आफ्ना पुर्खाकै शैलीमा पृथ्वीनारायणमाथि अन्धाधुन्ध हमला गर्ने क्रम अझै जारी छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाका राज्यहरूमाथि विजय हासिल गर्नुअघि उपत्यकाका मल्ल राजाहरू पश्चिमप्रति उदार थिए । राजा लक्ष्मीनरसिंह मल्लले पादरी जुवान क्याब्राललाई ‘दर्शनभेट’ र ताम्रपत्र ‘बक्सेर’ आफ्नो राज्यभित्र क्रिश्चयन मतको प्रचारप्रसार गर्ने छुट दिएका थिए । काठमाडौंका अर्का राजा प्रताप मल्लले सन् १७६६ मा तिब्बत हुँदै नेपाल आएका बेल्जियन र अष्ट्रियाका दुई इशाइ मिसनरी एल्बर्ट डि अर्भिल र जोहन ग्रुबरलाई काठमाडौंमा स्वागत गरेर आफ्नो राज्यमा स्थायी बसोबास गरी इशाइ मतको प्रचारप्रसार गर्ने अनुमति दिएका थिए । इशाइ धर्मप्रति मल्ला राजाहरूको यस्तो उदारताकै कारण पादरी ट्र्यंक्युलियसले सन् १९६० मा काठमाडौंको वोटु टोलमा चर्च स्थापना गरेरै मिसनरी गतिबिधि सञ्चालन गरेका थिए (इभान साडा, हिस्ट्री अफ द चर्च इन नेपाल, अगष्ट २७, २०१०, इसिएस नेपाल) ।
राजा जयप्रकाश मल्लाको पालामा कामठाडौंमा दुईजना इशाइ पादरी थिए– पादरी जिसेप्पी र पादरी माइकल एन्जेलो । त्यतिबेलासम्म उपत्यकाका सबै मल्ल राज्यले भारतमा आधिपत्य जमाउँदै गएको बेलायती उपनिवेशको आर्थिक तथा संस्कृतिक आकांक्षालाई आ–आफ्ना सरहदभित्रबाट टेवा पु¥याउने नीति लिएका थिए । फलतः इशाइ पादरीहरूले निर्बिघ्न रुपमा काठमाडौंमै धर्मान्तरण गराउने छुट पाएका थिए । उनीहरूले नेवार समुदायमा इशाइ मतावलम्बिको एउटा सानो समूह नै तयार पारिसकेका थिए ।
त्यतिकैमा गोरखाले काठमाडौंमा हमला ग¥यो । काठमाडौंको सेना गोरखाविरुद्ध टिक्न नसक्ने अवस्था आयो । त्यही बेला इस्ट इन्डिया कम्पनीले कलकत्ताबाट बेलायतको ‘कोर्ट अफ डाइरेक्टर’लाई एउटा चिठी लेख्यो, जसको आशय यस्तो थियो– ‘धेरै वर्षदेखि बिहार राज्य र नेपालबीच नाफाको व्यापार चलिआएको थियो । नेपालबाट हामीले ठूलो मात्रामा सुन र अन्य बहुमुल्य समाग्री आयात गरिरहेका थियौं । अहिले काठमाडौंका नेवार राजा गद्दिच्युत छन् र काठमाडौंभित्रै बन्दिजस्तै बनाइएका छन् । व्यापार निरन्तर ओरालो लागिरहेको बेला गोरखा काठमाडौंसम्म आइपुगेपछि हाम्रो व्यापार अवरुद्ध हुन पुगेको छ ।’ (नगेन्द्र कु. सिंह, नेपाल एन्ड द ब्रिटिश इन्डिया, पृ ८९)
पृथ्वीनारायणले स्थायी रुपमै काठमाडौं उपत्यकामा शासन सञ्चालन गरे नेपालमार्फत बेलायतले गर्ने अन्तरहिमाल व्यापारमा धक्का लाग्ने निश्कर्ष निकाल्दै यस्तो अवस्था आउन नदिन बेलायतले दुईटा योजना बुनेको थियो ।
पहिलो, गोरखा र काठमाडौंबीच युद्ध चलिरहेका बेला जयप्रकाश मल्लको पक्षमा लड्न बेलायती फौज पठाएर गोरखालाई काठमाडौंबाट धपाउने । बेलायती फौजलाई यस मिसनमा सघाउन नेपालमा रहेका पादरीहरूलाई प्रयोग गर्ने ।
अन्ततः पादरीद्वय जिसेप्पी र माइकल एन्जेलोको गुप्त सहयोगमा जयप्रकाश मल्लको सहयोगार्थ इस्ट इन्डिया कम्पनीले क्याप्टेन किनलकको नेतृत्वमा एउटा सैन्य टोली नेपाल पठायो । यसको भेउ पाएपछि पृथ्वीनारायणले काठमाडौंमा केन्द्रीत आफ्ना फौजलाई बेलायती फौजविरुद्ध लड्न सीमाक्षेत्रमा खटाए । सिन्धुलीगढीमा दुई फौजविरुद्ध भीषण लडाइ भयो । युद्धमा किनलक पराजित भएपछि कम्पनी सरकारको पहिलो योजना तुहिन पुग्यो ।
अन्ततः पृथ्वीनारायणले काठमाडौं उपत्यकामाथि विजय हासिल गरे । यसबाट तिलमिलाएको कम्पनी सरकार पृथ्वीनारायणलाई काठमाडौंबाट धपाउने दोस्रो योजनामा अग्रसर भयो ।
दोस्रो योजना थियो– काठमाडौंका नेवार समुदालाई गोरखाली शासकविरुद्ध विद्रोह गराउने । र, विद्रोहको आधार तयार गर्न पादरीद्वय र क्रिश्चियन धर्म अँगालेका नेवारलाई प्रयोग गर्ने (सिंह, ८९) । यसको भेउ पाएपछि पृथ्वीनारायणले काठमाडौंमा रहेका इशाइ पादरी र उनीहरूका चेलाचपेटाबाट आफ्नो राजनीतिक आकांक्षामा ठेस लाग्नसक्ने देखे । फलतः दुई पादरीसहित ६२ क्रिश्चियन नेवार(५७ लेख्ने पनि छन्)लाई उनले देशबाट निकालिदिए ।

देशनिकालामा पर्नेमध्येका पादरी जिसेप्पीले पृथ्वीनारायणविरुद्ध विषवमन गर्दै बेलायतबाट प्रकाशत हुने ‘एसियाटिक जर्नल’मा ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ शीर्षकको लामो लेख लेखे । पृथ्वीनारायणलाई खुनीको रुपमा चित्रण गर्दै कुनै पश्चिमीले लेखेको त्यो पहिलो आलेख थियो । नेपालभित्र धर्मप्रचार गर्न नदिई आफूहरूलाई देशनिकाला गरेको रोशमा उनले पृथ्वीनारायणविरुद्ध वमन गरेको विषलाई पछि नेपालमा बेलायतको सैन्य प्रभुत्व सुनिश्चित गर्न नसकेको पिडाले छटपटाएका बेलायती सैनिक तथा प्रशासकहरूले उद्धृत गर्दै थप किताब लेखे ।

त्यस्ता कुण्ठाग्रस्त लेखकमध्ये एक थिए, कर्णेल कर्कपेट्रिक । बहादुर शाहको पालामा नेपाल र चीनबीच युद्ध हुँदा बहादुर शाहले कम्पनी सरकारसँग सैन्य सहयोग मागे पनि सहयोग गर्न कम्पनी सरकारले अस्विकार ग¥यो । तर, चीन र नेपालबीच शान्ति स्थापनाका लागि मध्यस्तता गरिदिन भन्दै उसले कर्णेल कर्कपेट्रिकलाई काठमाडौं पठायो । कर्कपेट्रिकलाई काठमाडौं पठाउनुको वास्तविक ध्येय भने अर्कै थियो– काठमाडौंमा कम्पनी सरकारको रेसिडेन्सी स्थापना गर्ने, दरबारभित्रको अन्तरविरोध बुझेर कम्पनी सरकारलाई षडयन्त बुन्न सहयोग गर्ने, नेपालको भौगोलिक तथा फौजी सामथ्र्य बुझ्ने, नेपालमा रहेका बहुमुल्य प्राकृतिक संसाधनको उपलब्धताबारे जानकारी हासिल गर्नेआदी ।
कर्कपेट्रिक काठमाडौं आइनपुग्दै नेपाल र चीनबीच युद्ध समाप्त भयो । काठमाडौं बसाईलाई लम्ब्याउन चाहेका कर्कपेट्रिकलाई काठमाडौं दरबारले प्रोत्साहन नगरेपछि उनले कलकत्तास्थित कम्पनी सरकारलाई पत्रचार गरे, ‘काठमाडौं दरबारमा मेरो रेसिडेन्सी रहन नसक्ने निश्चित छ । अब कुन अवस्थामा मैले मेरो मिसन समाप्त गरुँ, कृपया सुझाव पाउँ ।’
काठमाडौंबाट खालिहात फर्किन बाध्य बनाइएका कर्कपेट्रिकले पछि गएर ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ शीर्षकको किताब लेखे, जसमा उनले काठमाडौंका शासक र उनीहरूका पूर्खा पृथ्वीनारायणविरुद्ध विषमन गरे । यसका लागि उनले पादरी जिसेप्पीको नेपालसम्बन्धी आलेखबाट पनि सहयोग लिए ।
कर्कपेट्रिकको शैलीलाई पछ्याउँदै नेपालको संस्थापन र पृथ्वीनारायणविरुद्ध विषवमन गर्ने अर्का पात्र हुन्, काठमाडौंस्थित बेलायती रेसिडेन्ट ब्रायन हड्सन । सन् १८८३ ताका अफ्गान युद्धमा बेलायत नराम्रोसँग फँसेको मौका छोपी पाँडे खलकको प्रोत्साहनमा काठमाडौं दरबारले तेहरान, लाहोरलगायत बेलायतका शत्रुराष्ट्रमा बेलायतविरुद्ध संयुक्त सैन्य मोर्चा गठनको प्रस्ताव राख्दै पठाएको मिसनप्रति रुष्ठ भएर हड्सनले लेखेका किताब, पत्राचारआदीमा पनि पृथ्वीनारायण र गोरखालीलाई तथानाम भनिएको छ । पृथ्वीनारायण र उनका सन्ततीका कारण बेलायतको उपनिवेशवादी ध्येयमा धक्का लागेपछि क्रुद्ध भएका बेलायती सैनिक र प्रशासकले आफ्ना किताब र पत्राचारमार्फत पृथ्वीनारायण र उनले निर्माण गरेको राष्ट्र नेपालविरुद्ध चरम रोष व्यक्त गरेका छन् । अफसोच, नेपालप्रति दुर्नियत राख्ने ती फिरंगीका लेखाइहरू त्यसबखतको नेपाली इतिहासका मुल दस्ताबेज बन्न पुगेका छन् ।

नेपालीलाई धर्मनिरपेक्षता सिकाउने पश्चिमीहरू लेख्दैछन्– नेवार इशाइहरूलाई देश निकाला गर्ने पृथ्वीनारायण हिन्दुइतरका धर्मावलम्बिप्रति हदैसम्म असहिष्णु हिन्दु धर्मान्ध थिए । तर, उनीहरू लेख्दैनन्– धार्मिक ध्येयबाट प्रेरित भएर पृथ्वीनारायणले नेवार इशाइहरूलाई देश निकाला गरेका थिएनन् ।
गोरखाली सत्तालाई काठमाडौं उपत्यकाबाट मिल्काउने बेलायती योजना कार्यान्वयन गराउन इशाइ पादरी र उनीहरूका नेवार चेलाचपेटा अग्रसर भएको बुझेपछि मात्रै पृथ्वीनारायणले सबैलाई देशनिकाला गरेका थिए । नत्र त्यसअघि पृथ्वीनारायण काठमाडौंको राजा भइसकेपछि पनि उनीहरूले काठमाडौंमा रहेर इशाइ धर्म पालन गरिरहेका थिए । पृथ्वीनारायणका कान्छा भाइ सुरप्रतापले किर्तिपुर युद्धका क्रममा फुटेको आफ्नो आँखाको उपचार चिकित्सकसमेत रहेका पादरी माइकल एन्जेलोबाट गराएका थिए ।
काठमाडौंका इशाइहरूले धार्मिक सीमा नाघेर गोरखाको शत्रुपक्षसँग गठजोड गरेपछि मात्रै नेपालमा रहने उनीहरूको दिन समाप्त हुन पुगेको थियो । तर अहिलेका पश्चिमी क्रिश्चियनहरूको कुरै छोडौं, भारतका नेपाली भक्तहरू पनि ‘पृथ्वीनारायणले नेवारहरूलाई देशनिकाला गरे’ भन्दै रुवावासी गर्छन् । तर उनीहरूका आरध्यादेव नेहरूले शबाब उद्दिनदेखि गज्नीका महमुदसम्मले भारतका मठमन्दिर, बौद्धगुम्बा भत्काएको र इतर धर्मका मानिस मारेको एतिहासिक तथ्यलाई पनि ‘यो मुस्लिमले हिन्दु मारेको होइन, बाहिरको एउटा विजेताले विजित क्षेत्रका मानिसको आत्मविश्वासलाई धरासारी पारेको हो’ भनेको कुरालाई नेपाली सन्दर्भमा वास्तै गर्दैनन् (ग्लिम्सेज अफ वल्र्ड हिस्ट्री, पृ १८० र २४२) ।
जबकी पृथ्वीनारायणले नेपालबाट निकालेको समुदाय इशाइ मात्र थिएन । मल्लकालमा भारत र तिब्बतबीचको व्यापारमा कश्मिरी मुस्लिम र गोसाइँ (पशुपतिनाथको यात्रा, सिद्राको व्यापार गर्ने हिन्दु व्यापारी) पनि संलग्न हुने गर्थे । काठमाडौंमा पृथ्वीनारायणको नियन्त्रणपछि भारत–तिब्बत व्यापारमा विह्राम लाग्ने देखेपछि उनीहरूले किनलक नेतृत्वको फौजलाई सघाएको आशंकामा पृथ्वीनारायणले उनीहरूलाई पनि कारवाही गरेका थिए । इशाइसँगै गोसाइँहरूलाई पनि देश निकाला गरिएको थियो । कश्मिरी मुस्लिमहरूलाई चाहिँ देश निकाला नगरी उनीहरूका व्यापारिक केन्द्रहरूमाथि अनेकखालको प्रतिबन्ध लगाइएको थियो (लियो इ रोज, नेपालः स्ट्राटेजी फर सर्भाइभल, पृ २५) ।

पृथ्वीनारायणविरुद्ध त्यतिबेलाका बेलायतीहरू क्रुध हुनुका अन्य कारण पनि थिए । भारत र तिब्बतबीचको व्यापारमा भारतस्थित कम्पनी सरकारको मुख्य आकर्षण थियो । काठमाडौं हुँदै तिब्बत जाने नाका सहज भएकाले र काठमाडौंमा आफूअनुकुलका मल्ल राजाहरू भएकाले कम्पनी सरकारलाई हाइसञ्चो थियो ।
पुरै उपत्यका विजय गर्नेगरी पृथ्वीनारायणको विजययात्रा अघि बढेपछि र गोरखाली सत्तालाई काठमाठौंबाट च्युत गर्ने सबै प्रयत्न असफल भएपछि कलकत्तास्थित गभर्नरले आफ्ना प्रतिनिधि जेम्स लोगानलाई १७६९–७० तिर दुईटा चिठी थमााएर नेपाल पठाए । त्यतिबेलासम्म काठमाडौंमा युद्ध पूर्ण रुपमा अन्त्य भइ नसकेकाले उनले एउटा चिठी पृथ्वीनारायण र अर्को चिठी जयप्रकाश मल्लको नाममा लेखेका थिए । युद्धमा विजयी हुने पक्षलाई उसको नामको चिठी दिनु भन्ने उर्दी लोगानलाई दिइएको थियो ।
लोगान काठमाडौं पुग्दा गोरखा विजयी भइसकेको थियो । लोगानले पृथ्वीनारायणलाई गर्भनरको चिठी दिए । चिठीमा उल्लेख गरिएको नेपालमार्फत कम्पनी सरकारले तिब्बतसँग व्यापार गर्नेसम्बन्धी प्रस्तावलाई पृथ्वीनारायणले अस्विकार गरिदिए (रोज, २९) ।
पृथ्वीनारायणलाई गर्भनरले दोस्रो चिठी लेखे । चिठीमा ‘हजुरको शौर्यसम्बन्धी किर्ति सबैतिरबाट सुन्नमा आएको छ, त्यही भएर हजुरसँग मित्रता गर्न बेलायत आतुर छ’ भन्दै पृथ्वीनारायणलाई फुक्र्याउन खोजिएको थियो । साथै ‘जयप्रकाशलाई सहयोग गरेर विगतमा हामीले गल्ती गरेछौं, गल्ती महसुस हुनेबित्तिकै हामीले आफूलाई सुधारिहाल्यौं’ भनेर माफी पनि मागिएको थियो (सिंह, ८१) । तर विनय र अनुग्रहका यस्ता चिल्ला शब्दले पृथ्वीनारायणलाई पगाल्न सकेन । कम्पनी सरकरको प्रस्तावलाई उनले फेरि पनि अस्विकार गरे ।
पृथ्वीनारायणलाई सहमत गराउन नसकेपछि बेलायतलाई अबउप्रान्त काठमाडौंइतरका वैकल्पिक मार्गबाट मात्रै तिब्बतसँग व्यापार गर्न सम्भव छ भन्ने महसुस भयो । त्यसपछि उसले मोरङमाथिको पहाडी क्षेत्र र टिष्टा नदिबीचको नाकामार्फत तिब्बतसँग व्यापार गर्ने सोच बनायो । नाका पर्ने राज्यमा आफूअनुकुलको सरकार गठन गर्न देशनिकालामा परेका मोरङ क्षेत्रका राजासँग बेलायतले सम्पर्क बढायो । त्यतिकैमा पृथ्वीनारायणले मोरङ र दार्जिलिङलाई नेपालअन्तर्गत ल्याएपछि बेलायतको यो योजना पनि तुहिन पुग्यो ।
त्यसपछि बेलायतले भूटानमार्फत तिब्बतसँग व्यापार गर्ने अर्को योजना बनायो । त्यतिबेला भुटानले कुच बिहारसँग युद्ध गर्ने बहाना खोजिरहेको थियो । कुच बिहारका राजालाई भुटानविरुद्ध गरिने सैन्य कारवाहीमा सहयोग गर्ने आश्वासन बेलायतले दियो । भुटानले कुच बिहारमाथि गर्ने दखलको परिणामबारे जानकार पृथ्वीनारायणले भूटानी राजालाई चिठी लेखेर बेलायतसँग आमनेसामने हुनेगरी कुच बिहारमा दखल नगर्न सुझाव दिए । तर युद्धमा भुटान पराजित भइसकेपछि मात्रै पृथ्वीनारायणको सन्देश भुटान पुग्यो (रोज, ३०) । यदी पृथ्वीनारायणको सन्देश सुरुमै पुगेको भए र भुटानी राजाले यसलाई शिरोपर गरेको भए हिमाली क्षेत्रमा दह्रो पाइला राख्ने बेलायती ध्येयमा विह्राम लाग्ने थियो । दक्षिण एसियाको हिमाली क्षेत्रमा पकड जमाउने बेलायती आकांक्षामा यसरी एकपछि अर्को झड्का दिने पृथ्वीनारायणबारे त्यसताका र त्यसपछिका बेलायती प्रशासक तथा सैन्य अधिकारीले विषवमन गर्नु स्वभाविक पनि थियो ।
त्यतिबेला गरेको विषवमनलाई पश्चिमले अझै निरन्तर्ता दिँदैछ । झट्ट हेर्दा यो अस्वभाविक देखिन्छ । तर अन्तर्य खोतल्दा पृथ्वीनारायणमाथि पश्चिमको प्रहारमा ध्वंशात्मक उद्देश्यमुखी संगती भेटिन्छ ।
सन् १४९२ मा अमेरिका पत्ता लगाउन हिँड्नुअघि क्रिस्टोफर कोलम्बसले भनेका थिए, ‘इस्लाम र सबैखाले मुर्तिपुजक तथा शाष्त्रविरोधीहरूका शत्रु युरोपका क्याथोलिक राजाहरूले मलाई नयाँ ठाउँका राजा, त्यहाँका जनता, त्यहाँको भूमी र तिनीहरूको मनस्थिती बुझेर तिनीहरूलाई हाम्रो पवित्र आस्था ग्रहण गर्नेगरी धर्मपरिवर्तन गराउन पठाइबक्सनुभएको छ (द वल्र्ड इज फ्ल्याट, थोमस एल फ्रायडम्यान, पृ ३) ।’ अर्थात, पश्चिमको आरम्भका ट्रान्सओसिएनिक अग्रसरतापछाडि धार्मिक अभिष्ट निहित थियो । यसलाई संयोग मान्नु हुँदैन– नेपाल छिर्ने पहिला पश्चिमी पनि क्रिश्चिय मिसनरी थिए र ती तिब्बततिरबाट छिरेका थिए ।
हिमाली क्षेत्रमा पकड जमाउन प्रयत्नरत बेलायतले तिब्बतसँग सम्बन्ध बढाउन खोजेपछि पृथ्वीनारायणले दलाई लामाका रिजेन्टलाई एउटा आदेशान्मक चिठी लेखेका थिए, जसको एउटा अंश यस्तो थियो– ‘म तिब्बतसँग लडाइ गर्न चाहदिनँ, तर तिब्बत चाहन्छ भने यसका लागि म तत्पर छु भन्ने चाहिँ प्रष्ट पार्न चाहन्छु । तिब्बतले फिरंगी (बेलायती) र मुगलसँग सम्बन्ध नराखोस्, उनीहरूलाई तिब्बतभित्र छिर्न नदेओस् र आफ्नै परम्परागत कुलधर्म अनुशरण गरोस् (सीके मार्खाम, न्यारेटिभ्स अफ द मिसन अफ जर्ज बोगल टु टिबेट एन्ड द जर्नी अफ थोमस म्याजिङ टु ह्लासा, १५८) ।’
तिब्बतलाई पृथ्वीनारायणको यस्तो सन्देश ‘आफ्नो कुलाधर्म नछोड्नु’ भन्ने उनको ‘दिव्यउपदेश’कै विस्तारित रुप थियो । अर्थात् उनी नेपालमात्र नभएर एसियाको यो भूखण्डभरी स्थानिय धर्मसंस्कृति प्रवर्धन गर्ने पक्षमा थिए । र, यसरी उनी यस भेगको इशाइकरणविरुद्ध बलियो अवरोधक बन्न पुगेका थिए ।
पृथ्वीनारायणले भारतबाट तीनजना मुसलमान कालिगढलाई नेपाल ल्याए । किनलकको हमलालाई सहयोग गरेको भन्दै इशाइ र भारतीय हिन्दुलाई सीमा कटाए । यस्तै अभियोग लागेका मुसलमानलाई चाहिँ यतै रहन दिए । भारतीय एरएसएसको असन्तुष्टि पनि यही छ– पृथ्वीनारायणले मुुलमानलाई जानाजान नेपालमा फैलिन दिए ।
पृथ्वीनारायणको स्थानिय धर्मसंस्कृतिप्रतिको अनुराग र क्रिश्चियनप्रतिको कडा रवैयाका कारण रिसाएका पादरी जिसेप्पीले पृथ्वीनारायणलाई इतिहासमा बदनाम गराउने उद्देश्यले लेखे, ‘नुवाकोटबाट पृथ्वीनारायणले आमाको काखमा नरहेका बालबालिकालगायत सबै किर्तिपुरेलाई मार्न र उनीहरूको नाक तथा जिब्रो काटेर एकैठाउँ जम्मा गर्न आदेश दिए । र बर्बरतापूर्वक उनको आदेश कार्यान्वयन गरियो ।’ जबकी जिब्रो काट्ने आदेश दिइएको थिएन । र, किर्तिपुरका सबैको नाक पनि काटिएको थिएन । किर्तिपुर जितेपछि सुतिरहेका गोरखाली सैनिकहरूको हत्या गर्ने कर्तिपुरका केही युवाको नाक मात्र कोटिएको थियो (डा. जगमान गुरुङ, नेपालको एकीकरण र राष्ट्रिय एकता, अन्नपूर्ण पोस्ट, २०७२ चैत्र ६) ।

अहिले जारी पृथ्वीनारायणमाथिको प्रहार सफल भए यसबाट पश्चिमको दुईटा उद्देश्यलाई एकसाथ पुरा हुन्छ । पहिलो, नेपाल बनाउने पात्रप्रति घृणा फैलाउन सके भौगोलिक अखण्डताप्रति नेपालीको मोह भंग हुन्छ । दोस्रो, यस भेगमा प्रचलित स्थानिय धर्मसंस्कृति पक्षधरका विराट बिम्बलाई ढाल्न सके इशाइ धर्मविस्तारका निम्ती उर्वर भुमि निर्माण हुन्छ ।
नेपालको पुरानो मुल धर्म बोन हो । यो धर्म मासिएमा योसँगै गाँसिएर आउने शैव, बौद्ध धर्मको वज्रयान र किरात धर्म पनि नष्ट भएर जान्छन् । त्यही बोन धर्मलाई धर्म परिवर्तनद्वारा योजनाबद्ध रुपमा नेपालमा विनाश गरिँदै (सौरभ, गेरुको गन्तव्य, अन्नपूर्ण पोस्ट, मंसिर २५, २०६३) । पश्चिमले पृथ्वीका अन्य क्षेत्रको स्थानियपनलाई शत्रु देख्छ नै । अमेरिकी नीतिका परामर्शदाताहरू खुलेआम भनिरहेका छन्– ‘जापानको एसियाकरण, नेहरू मतको अन्त्यपछि भारतको हिन्दुकरण र बोरिस येत्सिनको देशको रुसीकरणले पश्चिममाथि चुनौती सिर्जना गरेको छ (स्याम्युअल पि. हन्टिङटन, क्ल्यास अफ सिभिलाइजेसन, फोन अफेयर्स, १९९३ समर अंक)  ।’ यसैकारण एसियाको यो भुखण्डमा बाहिरी धर्मसंस्कृतिको प्रवेशलाई वर्जित गरी स्थानियपन प्रवर्धन गर्ने एतिहासिक पात्रमाथि सुनियोजित रुपमा प्रहार केन्द्रीत गरिँदैछ ।

उपनिवेशकालमा डच, बेलायत र फ्रान्सले उपनिवेश विस्तार गर्न र टिकाउन खटाएका विद्वानलाई अमेरिकाले उपनिवेशकालको अन्त्यपछि आफ्ना सल्लाहकार बनायो । उपनिवेशवादी मानसिकता बोकेका त्यस्ता सल्लाहकारले पन्टागन र ह्वाइट हाउस छिरेर ‘ओरियन्ट’प्रतिको अमेरिकी नीतिलाई निर्देश गरे (एडवर्ड सइद, ओरियन्टालिजम, पृ १६) । र यसरी पृथ्वीनारायणप्रतिको उपनिवेशवादी पश्चिमी दृष्टिकोणले अहिलेको नवउपनिवेशवादी समयमा पनि निरन्तर्ता पाइरहेको छ । साथै जिसेप्पीका उत्तरआधुनिक मानसपुत्रहरूबाट पृथ्वीनारायणमाथि निरन्तर हमला पनि भइरहेको छ ।

 अन्नपूर्ण पोष्टमा प्रकाशित मैनालीको विचार साभार 

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५०९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“मानसिक स्थिति ठीक थिएन रे ?” पीडितलाई प्रयोग गरिने सजिलो र सर्बमान्य अस्त्र