एमाले – माओवादी एकता: निर्णायक वार्ता आज

Leaderboard Banner

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिन गरी छलफल अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बैठकमा एकताका विषयमा टुंगो लगाउने गरी मंगलबार छलफल हुने जानकारी गराएका छन्।

‘अध्यक्षले माओवादी अध्यक्ष दाहालसँग भएको छलफलबारे ब्रिफिङ गर्नुभयो,’ स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले भने, ‘उहाँले कार्यदलले बुझाएको मस्यौदामाथि मंगलबारदेखि छलफल गरेर अन्तिम रुप दिइने जानकारी गराउनुभयो । वैशाख ९ गते नै एकता हुने गरी पहल गर्ने निर्णय भएको छ।’

बैठकमा अध्यक्ष ओलीले वैशाख ९ गते नै पार्टी एकता हुने गरी छलफल अघि बढ्ने बताएका थिए । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पारेर एकता गर्नुपर्ने कार्यदलको सुझाव थियो ।नेम्वाङका अनुसार एकता संयोजन समिति बैठकले पारित गरेका विषयलाई एमाले पोलिटब्युरो तथा केन्द्रीय कमिटीबाट पारित गरिनेछ।

एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। माओवादी केन्द्रले पनि मंगलबार बिहान शीर्ष नेताहरुबीच छलफल गर्ने तयारी गरेको छ।सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टासम्म एक्लाएक्लै छलफल भएको थियो ।

एकता प्रक्रिया निर्णायक चरणमा : दाहाल
एमाले अध्यक्ष ओलीसँग भेटपछि राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले मंगलबार एकता संयोजन समितिमा गम्भीर छलफल हुने बताएका छन् ।

शिक्षक संगठनको कार्यक्रममा सम्बोधन गर्दै दाहालले पार्टी एकताको विषय निर्णायक र महत्वपूर्ण चरणमा रहेको बताए । ‘मंगलबार नै यो विषयलाई सक्नुपर्ने आवश्यकता छ,’ दाहालले भने।

(यो खबर आजको नागरिक दैनिक पत्रिकामा प्रकाशित छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५०६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक