आज मातातीर्थ औँसी: यस्ता छन् आमाप्रति अझ बढी श्रद्धाभाव प्रकट गराउने उखान टुक्काहरु

Leaderboard Banner

काठमाडौँ, ३ वैशाख : वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

यसैगरी, आमाको सम्झनामा उखानटुक्का पनि धेरै प्रचलित छन् । आमालाई सम्झाउने केही उखान केही उखान हेरौं :

»आमा सित मामाको बखान ।
»आमा छउञ्जेल माइति ।
»आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो ।
»आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन ।
»आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे ।
»आमाजस्ती सासू भए किन आउँथे आँसु ।
»आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी ।
»आमा तिरको मामा न बाबु तिरको काका ।
»आमा तिरको साइनु न बाबु तिरको साइनु ।
»आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ ।
»आमा दिन्छे, छोरी खान्छे ।
»आमा देखे भोक हराउँछ ।
»आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ ।
»आमा पछिको मामा, दाजु पछिकी भाउजु ।
»आमा पट्टकिो न बाबु पट्टकिो ।
»आमा बाबु उठेका, छोराछोरी सुतेका ।
»आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने ।
»आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ ।
»आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुंगामुढा माथि ।
»आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने ।
»आमा बाबुको माया छाती भित्र, तरुनीको माया अँगालोभित्र ।
»आमाबाबु थिएनन्, बिहे गरिदिएनन् ।
»आमा बाबुले भनेको मानिन, आफुले जानिन, बेला पनि बित्यो, बुद्धि पनि पलायो ।
»आमा बिनाको के घर, बाबु बिनाको के थर ।
»आमा बिनाको घर के काम ।
»आमा बिनाको संसार सधैं अँध्यारो ।
»आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो रु ।
»आमा भन्दा छोरी चर्की ।
»आमा भन्दा छोरी जान्ने ।
»आमा भन्दा छोरी बाठी ।
»आमा भीख माग्न दिन्नन्, बाबु खान दिंदैनन् ।
»आमा मरेको छोरो बिग्रिदैन, बाबु मरेको छोरो सप्रँदैन ।
»आमा र भाउजु एउटै हो ।
»आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले ।
»आमालाई छोराका बिहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ ।
»आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन् ।
»आमाले काटेको र बाबुले चाटेको ।
»आमाले कुट्दा दुख्दैनन् ।
»आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ ।
»आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू ।
»आमाको दूधको भारा कति गरे पनि तिरिंदैन ।
»आमा चाहिं बेस्करी कुट्ने, छोरो चाहिं ए आमा ए आमा भन्दै उठ्ने ।
»आमैका अगाडि बाबैका दुहाई ।
»आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन् ।
»आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन ।
»आमा हुन साह्रो, बाउ हुन सजिलो ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१८:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री